कता जादै छन्, सइलिनका डाइलगहरु !

तिमी बिना बाच्न सक्दिन भन्थ्यो, यसो छातबाट हेरेको जिउदै डुलिराको रैछ ।
सुरुसुरुमा खुब माया गर्थ्यो, बेबी बेबी, आइ लभ यु भन्थ्यो । अहिले त वास्तै गर्दैन । यो के तरिका हो ?
तिम्रो मायामा डुबीसके भन्नेहरुलाई स्विमिंग सिकाउनु पर्छ, स्विमिंग ।
मान्छे भने यत्रो फुच्चे छ, मायाको ठुलो ठुलो गफ दिन्छ ।
यी डाइलग भाइरल बालिका सइलिन श्रेष्ठको हो । सइलिनलाई नचिन्ने सामाजिक संजाल प्रयोगकर्ता सायदै होलान् । नेपालमा मात्रै नभएर नेपाली भाषी विभिन्न देशमा बस्नेहरुले समेत उनलाई पछ्याउने गरेका छन् ।  सामाजिक संजाल फेसबुक, टिकटक, युट्युव सबै तिर उनको लोभलाग्दो फ्यान फलोइंग रहेको छ । नेपालका टप सेलिब्रेटीकै स्तरमा उनलाई पछ्याउने सामाजिक संजाल प्रयोगकर्ता रहेका छन् । एक प्रकारले हेर्दा उनी रास्ट्रीय स्तरमै सेलिब्रेटी बनिसकेकी छन् ।

संजीत श्रेष्ठकी तीन वर्ष समेत नपुगेकी छोरीको यो चर्चा लोभलाग्दो छ । उनले सामाजिक संजालमा भिडियो राख्ने मात्रै हैन अहिले विभिन्न संस्थाका बिज्ञापनमा समेत देखिन थालेकी छन् । उनको एक सिन मात्रै हालेर भए पनि म्युजिक भिडियो चलाउनेको भिड पनि बढ्न थालेको छ । एक प्रकारले यो उनको चर्चा राम्रो पनि हो । यसले संजीतको परिवारको आयआर्जनमा समेत सकारात्मक योगदान दिएको छ ।

संजित श्रेष्ठ नेपाली गीत संगीतको क्षेत्रमा लामो समयबाट संगर्ष गर्दै थिए । तर उनले सोचेको सफलता प्राप्त गर्न सकेका थिएनन् । सिनेमेटोग्राफीको बृहद ज्ञानका बावजुद उनले पाउनु पर्ने चर्चा र सफलता पाएका थिएनन् । गीत गाउने साथै संगीत समेत गर्ने उनले लामै समय संघर्ष गरे । तर सफलता नमिले पछि उनी खाडी मुलुक भासिए ।
केहि समय उतै बसेर काम गरे पछि पुन नेपाल फर्किए ।

नेपाल फर्किएसंगै उनको जीवनमा परीवर्तन आयो । उनले लामो समयबाट पर्खिएको सफलतामा उनको छोरीको ठुलो हात छ । उनले रमाइलोको लागि राख्ने गरेको छोरीको भिडियोले उनलाई समेत एकाएक चर्चाको शिखरमा पुर्यायो । संजीत आफै एक कुसल निर्देशक र भिडियोग्राफर भएकोले उनीहरुको भिडियो आकर्षक हुन्छन् । पहिला पहिला पढाइको कुरामा धेरै फोकस गर्ने श्रेष्ठले अहिले भने छोरीलाई प्रेम तर्फ धकेलेको आभास हुन्छ।

अहिले उनको हातमा टप नेपाली संगीतकर्मीका गीतहरुको लामो लर्को नै छ । उनको निर्देशनमा बनेका गीतहरुमा क्वालिटी देख्न सकिन्छ । सइलिनको अभिनय समेत तारिफ योग्य छ । उनको फेसियल एक्सप्रेसन देखि डाइलग डेलिभरी पनि राम्रो छ । एक कुशल कलाकारमा आवश्यक धेरै गुण यति कलिलो उमेरमा नै उनले देखाईसकेकी छन् ।


तर माथी उल्लेखित डाइलग हेर्दा सुन्दा अलिक नपच्ने पो हो कि झैँ लाग्ने गर्छ । एउटा बच्चा जसले आफुले बोलेको कुराको कुनै अर्थ समेत बुझ्दैन लाई तयारी गरेर बोलाउनु कतिको जायज होला ? फेरी यसको असर उनको मानाशिकतामा पर्ला नपर्ला ? एक अभिवावक भएको हैसियतले समय मै श्रेष्ठ दम्पतिले यो बिषयमा सोच्न जरुरी छ ।
तस्विर: संजीत श्रेष्ठको फेसबुकबाट