‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’

फिल्म हलमा संकुचित फिल्मी बजार को क्षेत्र फराकिलो हुदै गएको छ । प्रविधीको विकाससँगै आज संसारमा फिल्म हलबाहेक थुप्रै प्लेटफर्म छन् जहाँ दर्शक र फिल्ममेकर दुवै फिल्मको माध्यमबाट अन्तक्र्रिया गर्छन् । नेटफ्लिक्स, अमेजन प्राइम नेपाली फिल्ममेकरबीच पनि परिचित यस्तै डिजिटल प्लेटफर्म हुन् । यि प्लेटफर्ममा फिल्म हलमा लागेका फिल्म त हेर्न पाइन्छ नै, नलागेका फिल्म पनि यहाँ हेर्न पाइन्छ । अझ पछिल्लो समयमा त फिल्ममेकर यही प्लेटफर्मका लागि मात्र भनेर पनि फिल्म बनाउने गरेका छन् । वैकल्पिक फिल्म बजारको खोजीमा रहेका नेपाली फिल्ममेकरका आँखा पनि नेटफ्लिक्स र अमेजन प्राइममा टिकेका छन् ।

तर, त्यहाँसम्म पुग्ने कसरी ? नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवसरमा  नेपाल आएका अन्तर्राष्ट्रिय फिल्ममेकरले नेपाली फिल्ममेकरले विश्वलाई रोचक लाग्ने कथा भन्न सके, नेपाली फिल्मले पनि ति प्लेटफर्ममा स्थान पाउन सक्ने बताएका छन् । शुक्रबार लाजिम्पाटको होटल ¥याडिसनमा विभिन्न तीन सेसनमा चलेको छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् । हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफले आआफ्नो धारणा राखेका थिए । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिल भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् ।

छलफलको सुरुवात ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकबाट गरिएको थियो ।  सो विषयमा धारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादाभन्दा ज्यादा फिल्मको आवश्यकता रहेको बताउँदै लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउने कथा बनाउन सके नेपालले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका थिए ।

‘बजारभन्दा विषय ठूलो हो,’ छलफलमा बोल्दै डेमियनले भने, ‘यदि तपाईंसँग विश्वले हेर्न चाहिररहेको विषय छ भने तपाईंहरुको फिल्ममा पनि नेटफ्लिक्स वा अमेजनले चासो लिन्छ । बस, उनीहरुले तोकेको क्वालिटी पुगेको हुनुपर्यो ।’ डेमियनको तर्कमा सही थाप्दै ज्याक स्टेन्जले नेपाल भौगोलिक रुपमा र साँस्कृतिक रुपमा सुन्दर रहेकाले नेपाली फिल्ममेकरले यिनै कथा भन्न बल गर्नु पर्ने बताएका थिए ।

‘विश्वमा नेपालीको पहिचान गोर्खालीको रुपमा छ । विश्व फिल्ममा नेपालीको यो कथामा धेरैलाई रुचि हुन सक्छ,’ ज्याकले भने, ‘वा नेपालको शेर्पाले अमेरिकाको हिमाल चढ्न गरेको संघर्ष पनि धेरैका लागि चखिलो हुनसक्छ । विश्व सिनेमालाई लोभ्याउन नेपालले यस्ता विषयमा पनि फिल्म बनाउन सक्छ ।

उनीहरूले अहिले सक्रिय रहेका स्ट्रिमिङ साइटको प्राथमिकता राम्रा फिल्म रहेकाले नेपालले पनि राम्रो फिल्म बनाएको छ भने त्यहाँ स्थान पाउने तर्क गरेका थिए । तर, उनीहरुको सुझाव थियो, ‘ तपाईंलाई आफ्नो कथामा विश्वास छ भने उनीहरु आउने बाटो नकुर्नुस । उनीहरुको ढोका ढकढक्याउन जानुस् ।’

यही छलफलको दोस्रो सेसनमा भने ज्याक स्टेन्जले अमेरिकामा  प्रचलचित एक्सन फिल्म लेख्ने शैलीका बारेमा दुई घन्टा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमा भने फेरि चारै जना सहभागीले स्थानीय कथा विश्वमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

बिहीबार सुरु भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभा गृहमा भने फिचर फिल्म प्रदर्शन गरिएको थियो । त्यसैगरि पर्यटन बोर्डको हलमा सर्ट फिल्म प्रदर्शन गरिएको थियो ।

शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लासको कार्यतालिका रहेको छ । शनिबार साढे तीन बजे निर्देशक झाले फिल्म निर्देशनसम्बन्धी दुई घन्टाको क्लास दिनेछन् ।