निफ को दोस्रो दिन: बहस तथा फिल्महरु प्रदर्शन

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन शुक्रबार लाजिम्पाटको होटल र्याडिसनमा विभिन्न तीन सेसनमा छलफल कार्यक्रमहरु सम्पन्न भयो ।

फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ

यस बहसमा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, नेटफ्लिक्स, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्क स्टुडियोमा काम गरेका डेमियन डि फ्रोबरभिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफ सहभागी थिए । कार्यक्रममा नेटफ्लेक्स, एमेजन, हुलु लगायतका डिजिटल स्ट्रीमिङ्ग प्लेटफर्ममा नेपाली फिल्महरुको सम्भावनाको बारेमा चर्चा गरिएको थियो । कार्यक्रमलाई इन्सेसेन्ट रेन स्टुडियोका किरण भक्त जोशीले सहजीकरण गरेका थिए । उनीहरुले नेपालले आफ्नो मौलिक कथाहरुलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गर्नु पर्ने बताए ।

ज्याक स्टेन्ज को मास्टरक्लास

हलिवुडका लेखक ज्याक स्टेन्जले पटकथा लेखन बारे दिएको मास्टरक्लासमा बिशेष गरि मार्भेलका सुपरहिरो फिल्मको स्क्रिप्ट बारे आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । साथै उनले पटकथा लेखकहरुको लागि उपयोगी हुने सुझाबहरु पनि दिए । उनि ‘थोर’, ‘एक्स मेन : फर्स्ट क्लास’ लगायतका फिल्महरुका पटकथा लेखक हुन् ।

टेलिंग ए लोकल स्टोरी टु ग्लोबल अडियन्स

यस छलफल कार्यक्रममा ल्यारी कासानोफ, डेमियन डि फ्रोबरभिलको साथमा नेपालबाट क्युएफएक्स का संचालक तथा फिल्म निर्माता नकिम उद्दिन, फिल्म निर्देशक निश्चल बस्नेत, अभिनेत्रीहरु नम्रता श्रेष्ठ र प्रियंका कार्की सहभागी थिए । कार्यक्रममा ल्यारी कासानोफ र डेमियन डि फ्रोबरभिलले बिषयमै केन्द्रित भएर आफ्ना भनाइहरु राखेका थिए भने निश्चल, प्रियंका र नम्रताले आ-आफ्नो अनुभवहरु र योजनाहरु बारे बोलेका थिए । यस कार्यक्रमलाई पनि किरण भक्त जोशीले सहजीकरण गरेका थिए ।

राष्ट्रिय सभा गृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा फिल्महरु

होटल र्याडिसनमा छलफल तथा बहस कार्यक्रम भैरहँदा राष्ट्रिय सभा गृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा भने देश विदेशका फिल्महरु प्रदर्शन भएका थिए । राष्ट्रिय सभा गृहमा नेपाली फिल्म ‘प्रसाद’ प्रदर्शन गरियो । राष्ट्रिय सभा गृहमा फिचर फिल्महरु प्रदर्शन गरिएको थियो भने पर्यटन बोर्डको हलमा सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो । त्यस्तै कालिकास्थान स्थित सर्वनाममा थिएटरमा फिल्महरु प्रदर्शन गरिनुका साथै श्रीलंकन फिल्मकर्मी अनोमा राजाकरुनाले डकुमेन्ट्री निर्माण सम्बन्धि सेसन पनि चलाईन् । जहाँ उनले डकुमेन्ट्री निर्माणको लागि आवश्यक पर्ने अनुसन्धान, समुदायमा दिनु पर्ने समय, अबलोकन लगायतका बिषयमा आफ्नो अनुभवहरु सुनाएकी थिइन् ।

फेस्टिभलको तेस्रो दिन शनिबार फिल्महरु प्रदर्शन गरिनुको साथै साढे तीन बजे चर्चित भारतीय निर्देशक प्रकाश झाको मास्टर क्लास पनि हुनेछ ।