यसरी तयार गरिएको थियो ‘राजनीति’ मा हजारौको क्राउड

नेपाल अन्तरराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत शनिबार राष्ट्रिय सभा गृहमा भारतीय फिल्म निर्देशक प्रकाश झा सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा शेखर खरेलले झा सँग उनको फिल्मी यात्रा बारे कुराकानी गरेका थिए भने कार्यक्रमको दोस्रो चरणमा उपस्थित दर्शकहरुले आफ्ना जिज्ञासाहरु झा समक्ष राखेका थिए ।

झाले आफुले थुप्रै डकुमेन्ट्री फिल्महरुमा काम गरेपछि फिचर फिल्ममा डेब्यु गरेको प्रसङ्ग निकालेका थिए । उनको फिल्म ‘दामुल’ ले राष्ट्रिय अवार्ड सहित राम्रो प्रतिक्रियाहरु समेत पाए पनि १५ लाखमा बनेको फिल्म आर्थिक रुपले असफल भएको र पछि दुरदर्शनले प्रदर्शन अधिकार किने पछि मात्र आफ्नो लगानी सुरक्षित भएको उनले बताए ।

झाले हाम्रो समाज र दैनिक जीवनका कुनै पनि कुराहरु लाई राजनीतिबाट अलग राखेर हेर्न नसकिने भएकोले आफ्ना फिल्महरुमा पनि त्यहि सामाजिक-राजनीतिक प्रभाव रहेको बताए । साथै उनले प्रत्येक फिल्म निर्माणको क्रममा आफुले नयाँ नयाँ कुराहरु सिकेको बताए ।

कार्यक्रमको दोस्रो चरणमा उपस्थित दर्शकहरुको जिज्ञासाहरुको उत्तर दिने क्रममा उनले ‘राजनीति’ मा क्राउड  जम्मा गरेको प्रक्रिया, फिल्म र राजनीतिको सम्बन्धबारे बोलेका थिए । झाले आफु सधै सत्ताको विपक्षमा रहेकोले राष्ट्रले दिने सम्मान पुरस्कारहरु पनि नपाएको बताए ।

झाले आफ्नो आगामी फिल्मको नाम ‘जनादेश’ राखिएको कुरा पनि खुलाएका थिए ।

यसरी तयार गरिएको थियो ‘राजनीति’ मा हजारौको क्राउड

अन्तरक्रिया कार्यक्रममा नेपाली फिल्म निर्माता माधब वाग्लेको प्रश्नको उत्तर दिने क्रममा झाले आफ्नो फिल्म ‘राजनीति’ मा क्राउड  ब्यबस्थापनको प्रक्रिया बारे बोलेका थिए ।

निर्देशक झाका अनुसार फिल्मको लागि लगभग ७ हजार क्राउडको आवस्यकता थियो । त्यसको लागि छायांकन शुरु हुनु भन्दा एक बर्ष अगाडीनै मध्ये प्रदेशको विभिन्न सहरबाट अभिनय सिकाउने ठाउँहरु बाट ५० जना जम्मा गरियो । उनीहरु लाई झाले वर्कशप  दिए र सबैलाई ५-५ जना जम्मा गर्ने जिम्मा दिइयो । ५० जना बाट २५० जना जम्मा भयो । २५० जना लाई फेरी वर्कशप  दिइयो र सबै लाइ १०-१० जना जम्मा गर्न भनियो । यसरि २५०० मानिस जम्मा भए । ति २५ सय जना लाई भनेर अन्य मानिसहरु थपियो र यसरी हजारौको क्राउड तयार पारियो । यसरी क्राउड  तयार गर्नको लागि पुरा एक बर्षको समय लगाइएको थियो । त्यस्तै  छायांकन स्थलमा क्राउडको व्यवस्थापनको लागि छुट्टै तनाब थियो । हजारौ मान्छेहरुलाई बस्ने व्यवस्था गर्नको लागि धर्मशाला लगायतका ठाउँहरुलाई पुनर्निमाण तथा थप शौचालयहरु निर्माण गरिएको थियो ।

सामाजिक तथा राजनीतिक बिषयहरु माथि फिल्म बनाउने झाले ‘हिप हिप हुर्रे’, ‘मृत्युदण्ड’, ‘राहुल’, ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्यूह’ जस्ता फिल्महरु निर्देशन गरेका छन् । त्यस्तै उनले उनले ‘फेसेज आफ्टर दि स्टोर्म’ र ‘सोनल’ जस्ता चर्चित डकुमेन्ट्रीहरु पनि बनाएका छन् । झाले ८ वटा राष्ट्रिय अवार्ड जितेका छन् ।

(तस्विरहरु : आर्यन बिमली)