निफ मा ‘बुलबुल’ र ‘गोपी’ उत्कृष्ट

‘बुलबुल’ ले तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (पुरुष) र उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (महिला) गरी ६ वटा अवार्ड जितेको छ । बिनोद पौडेलको निर्देशन रहेको फिल्ममा निर्देशक पौडेलकै पटकथा रहेको छ । उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (पुरुष) मुकुन भुषाल र उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (महिला) लक्ष्मी बर्देवाले पाएका हुन् । त्यस्तै स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् ।

दिपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट फिल्मको जुरी अवार्ड पायो भने यहि फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेता र शैलेन्द्र डि कार्कीले उत्कृष्ट छायाँकारको अवार्ड पाए ।

नेपाली शर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पाएको थियो भने अन्तर्राष्ट्रिय शर्ट फिल्म तर्फको जुरी अवार्ड युक्रेनको ‘आना’ ले पाएको थियो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ ले जितेको थियो । प्रविनले शर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड पनि पाए । शर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ ले पाएको थियो ।

बहुपति प्रथाको बारे बनाइएको गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘को-हस्बेन्ड’ ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो । यही वर्षबाट थपिएको उत्कृष्ट एनिमेटेड शर्ट विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय शर्ट फिल्म विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट भएको थियो । बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ । महोत्सवको सबैभन्दा ठूलो पुरस्कार उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर (गौतम बुद्ध अवार्ड) टर्कीको ‘ट्रयाप’ ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो ।

महोत्सवमा फिचर फिल्म तर्फको जुरीमा नेतृत्व प्रकाश झा, मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राक थिए भने डकुमेन्ट्री विधातर्फको जुरीमा श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा, करुण थापा, युनी हाडी थिए । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको थियो ।

(तस्विरहरु : आर्यन बिमली)