पहिलो चुम्बन (भाग – ५)

उसको अनुहारको भाव मैले सोचेको भन्दा बिल्कुलै फरक थियो । मेरो पेटमा उसको बच्चा छ भन्ने थाहा पाए पछि उ खुसिले रमायो । मलाई चुम्बन गर्न थाल्यो र अँगाल्यो । लाग्थ्यो बिबाहको धेरै बर्ष पछि मात्र म आमा बन्दै छु । उसको खुशी र मायाले आँखा भरिएर आयो । तर हामी त्यो बच्चाको लागि अहिले तयार थिएनौ ।

मैले ‘एबोर्सन गरुम’ भनें । उसले ‘नाई’ भन्यो । ‘म आज अहिले नै तिमी सँग बिबाह गर्छु तर यो बच्चा नफालौ’ उसले भन्यो । मलाई उसको कुरा मन परेन । केही कुराको टुंगो थिएन अहिले । कहाँ कामको टुंगो, कहाँ बासको टुंगो, न त उसको परिवारको नै । मैले मान्दै मानिन । उ मलाई फकाउदै थियो, त्यतिकैमा उसको आँखाबाट आज पहिलो पटक आशु खसेको देखें । उसलाई आँसु झारेको देख्दा मेरो मन खिन्न भयो । एक छिन ठुलै विवाद पर्यो । तर जे भएनी मलाई उसको मायाले पुगेको वा माया कम भएको भने पक्कै थिएन । माया लाग्थ्यो नलाग्ने होइन तर म भबिस्य सोच्दै थिएँ । बच्चा त फेरि नि भैहाल्छ नि । उसलाई कत्ती कोसिस गर्दा’नि फकाउन सकिन । दशैको माहोल छाउदै थियो । उसलाई मैले एबोर्सनको लागि मनाउन नसके पछि मैले आफू एक्लै गएर एबोर्सन गर्ने सोच बनाए ।

दारे एकदम खुशी थियो । यो दशैमा घर जादा कुरा गर्छु अनि यहि मंसिर मा बिहे गरौला भन्यो ।मै ले केही बोलिन । यो कुरा मलाई, दारेलाई र भाउजुलाई थाहा थियो । भाउजुले भन्थिन ‘उसले मानेको छैन भने बिहे गरिहाल अनि कसैले भन्नी बाटो पाउदैनन्, किन पिर मान्छौ ?’ भाउजू को कुराले नि मेरो मन फेरिएन । म आफैलाई महसुस हुन्थ्यो यो बच्चाको लागि अहिले म रेडि छैन । त्यसैले म बच्चा चाहन्न थिएँ । माया र केयर त उसले पैले नि सारै धेरै गर्थ्यो । अहिले झन म उसकी बच्चा कि आमा बन्दैछु भन्ने थाहा भएसी उ झन धेरै नजिक र मायालु बनेको थियो । भाग्यमानी जस्तो लाग्थ्यो म आफुलाई । कत्ती देखेको र सुनेको थिएँ, यसरी बिबाह पैले बच्चा बसेको थाहा पाए पछि केटाले छोडेर गएको । मेरो मन पनि यहि कुराले डराएको थियो । कतै उसले’नि यस्तै पो गर्ने होकि भनेर । तर मेरो काल्पनिक सोच भन्दा उसको यथार्थ कैयौ गुना राम्रो र सफा थियो ।

दशै सुरु भयो । उसको’नि बिदा भयो, मेरो पनि । ‘तिमी घर गएसी आफ्नो राम्रो ख्याल राख्नु तिमिलाई र हाम्रो बच्चालाई केही हुनु हुन्न ।‘ उसले धेरै जसो यस्तो भन्थ्यो आजकल । मेरो भने सोच अर्कै थियो । मैले उसलाई केही भनिन । दशै तिहारको बिदा एकै पटक थियो मेरो र त्यहि मौकामा आफू एक्लै गएर एबोर्सन गर्ने सोच बनाएकी थिए । उसले सम्झाउदै भनेको थियो ‘तिमी नि घर बस्दिनौ दुई दिन मै फर्किन्छौ म पनि पुर्णिमा कै भोलिपल्ट फर्किन्छु, धेरै चिन्ता नलिनु’ । मैले भने अर्कै सोच बनाईसकेकी थिएँ ।

म बुटवल मै एबोर्सन गर्ने सोचमा थिएँ । तर उसले थाहा पाए पछि के गर्ला भन्ने कुराले मन पिरोलेको थियो । उसलाई कति नराम्रो लाग्ला, कति मन दुख्ला भन्ने कुराले मन साँच्चै नै पिरोल्दै थियो । तर पनि मैले बच्चा नराख्ने निर्णय गरिसकेकि थिएँ । उ फुलपातीको दिन दशैलाई घर जाने भयो । ‘तिमी नि जाने होइन र ?’ उसले मलाई सोध्यो । अहिले जान्न नवमीको दिन जान्छु भनें । उसले धेरै सम्झाई बुझाई गरेर माया गरेर घर गयो । म उसको जाने प्रतीक्षामा नै थिएँ ।

उ गएकै दिन बुटवल हस्पिटल गएर सबै कुरा बुझें । तर मैले सोचेको जस्तो रैनछ । म १९  बर्षकी मात्र थिएँ । ‘यति सानै उमेरमा किन यस्तो ? बच्चा को बाउ को ?’ जस्ता धेरै प्रश्नहरु आउन थाले । त्यहाँ धेरै मुस्किलले कुरा मिलाएँ । अलिकति भनसुन भाउजुलाई नि गर्न लाएँ । भाउजूको भाउजू त्यहाँ नर्स थिइन, उनलाई भन्न लाएर काम होला जस्तो भयो । टीकाको पर्सि पल्टको लागि मैले आफ्नो नाम दर्ता गराएर आएँ । उता दारेलाई केही थाहा थिएन यो सबको बारेमा । उ त खुशी थियो । यता म उसको खुसीको हत्या गर्न पुरै तयार भैसकेको थिएँ ।

म नवमीको दिन घर गएँ । दारेलाई’नि भनें । बाउ पर्निको मुख हेर्न मन लाग्थेन । आमाको हातको टीका लाउन मात्र जान्थे म घर, बर्षमा एक पटक । भोलिपल्ट आमाको हातको टीका थापें । दारेले बिहानै आमालाई’नि फोन गरेको रै’छ । को को आफन्त आउथे तर मलाई आमा बाहेक अरुको मतलब हुन्थेन । म भित्र भित्रै जलिरहेको थिएँ । भोलि बेलुका बुटवल फर्किन्छु भनेर सोच’नि बनाएँ । आमालाई आफ्नो बारेमा भन्छु भनेर कोसिस गरें तर मान्छेको आउजाउले मौका पाएकी थिइन । रातिको भात खाए पछि आमा संग कुरा गरें । सबै भने आमालाई । आमाले ‘उसले बिहे गर्छ भनेको छ भने भो नगर भनिन’ । मैले मेरो मनको कुरा नि सुनाएँ । आमाले ‘तेरो खुशी गर’ भनिन । कता कता आमा’नि खुशी छैनन जस्तो लाग्यो ।

भोलिपल्ट दिउँसोको खाजा खएर म बुटवल हिडें । दारेलाई’नि आफू आएको कुरा भनें । ‘किन आजै हिडेको ?’ उसले सायद शंका मान्यो र सोध्यो । मैले ‘त्यसै’ भनें । बुटवल पुगेर भाउजुलाई कुरा गर्न लाएँ । ‘भोलि दिउँसो समय मै हस्पिटलमा आउनुहोला’ भनें । कोठामा आएर दारेको माया सम्झेर भक्कानिएर रोएँ । भोलिपल्ट म भाउजू संग बुटवल हस्पिटल हिडे ।

एकदम डर लागिरह्यो । के होला के होला भनेर मन आत्तिरह्यो । केहीबेर पछि मैले खबर पाएँ – मेरो त्यो पेटमा रहेको बच्चा अब यो दुनियामा कहिल्यै आउदैन भनेर । कता कता आफै माथी रिस उठ्यो । आखिर के गल्ती थियो त्यो बच्चाको । आँखाका डिल बाट आँसु रसाए । मलाई हिड्न’नि धेरै गाह्रो हुँदै थियो । र अब मलाई खाँचो थियो माया, केयर, आत्मीयताको वा भनौ मेरो दारेको । कोठामा गएँ, एकदम नरमाइलो लाग्यो । दारेलाई फोन गरें, एक्कासि रुन मन लाएर आयो र रोएँ । उसले ‘किन रोएको ?’ भनेर सोध्यो, मैले ‘तिम्रो यादले’ भनेर टारे । उसले खै के सोच्यो ।

त्यो रात भाउजुले खाना ल्याईदिनु भो । भोलिपल्ट दिउँसो मेरो रुमको ढोका आफै खुल्यो । सुतिरहेकी थिएँ । उठेर हेरें दारे रै’छ । उसले सबै कुरा आमाबाट थाहा पाएछ । धेरै नराम्ररी रोयो उ मेरो सामु । ‘तलाई मेरो मतलब रै’नछ, मेरो माया एकोहोरो रै’छ, अब मलाई’नि पुग्यो, आजबाट मलाई’नि तेरो केही मतलब छैन’ यति भनेर उ रिसमा निस्कियो । म झटपट उठेर उसको पछि जान’नि सकिन । उसको फोन लागेन । राती आफ्नो रुममा’नि आएन । झनझन चिन्ताले सतायो थाहा छैन उ कहाँ थियो । तीन दिन बितिसक्दा’नि उसको पत्तो पाइन मैले । अनि यता एक्कासि मेरो ब्लिडिंग सुरु भयो । म हस्पिटल भर्ना भएँ । तर दारेको केही पत्तो पाईन…

बाँकी अर्को भागमा …