फितलो ‘सेन्टी भाइरस’ (समिक्षा)

- मेराेफिल्म

नेपालमा बर्षेनी ९०-१०० को हाराहारीमा फिल्महरु हलमा चलिरहेका हुन्छन् । ति मध्ये सम्झिन लायक फिल्म औलामा गन्न सकिन्छ । धेरै फिल्महरु यस्ता बन्छन् जुन नबनेको भए पनि केहि फरक पर्थेन । त्यहि फिल्महरुको सुचीमा पर्छ रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ ।

चुनाबको समयमा दुई राजनीतिक पार्टी बीचको खिचातानी, राजनीतिक दाउपेच साथै पति पत्नी बीचको सम्बन्धमा त्यसको प्रभाब फिल्मको मुख्य कथाबस्तु हो । प्रतिनिधि सभाको चुनाब आएपछि ध्रुब्रराम (सिताराम कट्टेल) बर्षौ देखि आफुले सपोर्ट गरिरहेको पार्टीको उमेदवार (बसन्त भट्ट) को चुनावी अभियानमा लाग्छन भने उनकी पत्नी जुनेली (कुन्जना घिमिरे) अर्कै पार्टीबाट उठीरहेका आफ्नो बाबु (राजाराम पौडेल) को पक्षमा लाग्छिन् । त्यस पछी शुरु हुन्छ घरायसी झगडा र चुबानी दाउपेच ।

तर न त फिल्मले राजनीतिको गहिराई झाँक्ने प्रयास गरेको छ, न त पति पत्नी बीचको सम्बन्ध नै । राजनीतिको सतही चित्रण अझ त्यसमाथि कमेडी गर्नुपर्ने लोभ या बाध्यताले फिल्मको मुख्य कथानै धरमरमा परेको देखिन्छ ।

फिल्मको पटकथा पट्यारलाग्दो छ । सिरियल को शैलीमा एक पछी अर्को दृश्यहरु आउदै जाँदै गर्छन तर दर्शकहरु बिषय र पात्र सँग बाँधिन मुस्किल पर्छ । सायद सिरियलकै लेखक र कलाकारहरुको बाहुल्य रहेकोले पनि होला फिल्म पनि त्यो भन्दा माथि उठ्न सकेको छैन । फिल्म दर्शकको आँखा सम्म त पुग्छ तर मन देखि कोशौ टाढा छ ।

फिल्ममा एउटै मात्र नयाँ कुरा छ – सिताराम कट्टेल र कुन्जना घिमिरले धुर्मुस सुन्तलीको चरित्रबाट बाहिरिएर काम गरेका छन् । तर उनीहरुको अभिनय अपेक्षाकृत छैन । उनीहरु पुरानै बासि सम्बादहरुको भरमा छन् र दर्शकहरुलाई हाँस्ने कि नहाँस्ने दोधारमा पार्छन । दयाहांग राई र बुद्धि तामांगबाट त केहि नौलोपना आश गर्नुनै मुर्खता भैसकेको छ । उनीहरुलाई केवल ‘कोरम’ पुर्याउनको लागि मात्र फिल्ममा राखिएको छ ।

स्टेरियोटाइप भिलियन को भूमिकामा देखिएका सन्दिप क्षेत्रीको उपस्थिति झर्को लाग्दो लाग्छ । बसन्त भट्ट, राजाराम पौडेल, विल्सन बिक्रम राई र कमलमणि नेपालको काम ठिकठाक छ । युट्युबमा हिट एलिश राई र पवन खतिवडा फिल्ममा हुनु नहुनुको केहि अर्थ छैन ।

कलर ग्रेडिंगको कामलाई महत्व दिएर काम गरिएको नेपाली फिल्म भेट्न मुस्किलै छ । प्रायजसो सबै फिल्ममा गीत आउना साथ फिल्मको लुक नै परिवर्तन भैहाल्छ । ‘सेन्टी भाइरस’ पनि त्यसबाट अछुतो छैन ।  केहि ठाउँमा पात्रहरु मुख त चलाईरहेका छन् तर आवाज गायब छ । फिल्म भित्र प्रयोग गरिएका नेपाली टेक्स्ट मा ब्याकरणीय त्रुटी भेटिन्छ (महिना लाई महिाना लेखिएको) । फिल्म करोडौको लगानीमा बनाइन्छ तर पैसा लगानी बिनै अलिक समय हेरेको भरमा सुधार हुन सक्ने कुराहरुमा पनि ध्यान दिईदैन । यो अन्य फिल्महरुको पनि समस्या हो ।

‘ए नि लै’ फिल्मको सबैभन्दा राम्रो गीत हो तर फिल्ममा त्यसको प्रयोग यस्तो ठाउँमा गरिन्छ जहाँ दर्शकले पात्रमाथि सहानुभुति राख्ने कुनै आधारनै देखिदैन । दर्शक जुन पात्रले गलत गरिरहेको सोचिरहेका हुन्छन् त्यहि पात्रको तर्फ बाट पिडाको गीत आउँछ । सुशान्त गौतमको शब्द संगीत तथा स्वर र हर्क साउदको शब्द रचना रहेको यो गीत फिल्ममा अचानक आएको भान हुन्छ । फिल्मको छायांकन, पार्श्व संगीत र सम्पादन औषत छ ।

फिल्ममा सम्झिन योग्य केहि पनि छैन, खेर गएको टिकटको पैसा बाहेक । तैपनि फिल्मले धुर्मुस सुन्तलीका सिरियलका दर्शकहरुलाई त केहि खुशी दिन्छ तर रामबाबु गुरुङ लाई भने फिल्मबाट सिरियल तर्फ धकेलेको छ । ‘कबड्डी’ सिरिजबाट दर्शकहरुको मन जितेका रामबाबुको सबैभन्दा कमजोर फिल्म हो ‘सेन्टी भाइरस’ ।

फिल्म : ‘सेन्टी भाइरस
निर्देशक : रामबाबु गुरुङ
निर्माता : डिन्डु लामा ह्याल्मो
कलाकारहरु : सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहांग राई, विल्सन बिक्रम राई, बुद्धि तामांग, राजाराम पौडेल, बसन्त भट्ट, सन्दिप क्षेत्री आदि ।

अवधि : २ घण्टा
विधा : ड्रामा/कमेडी

२०७६ फागुन १३ गते १५:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *