पारस खड्का बने महिन्द्राको ब्रान्ड एम्बेस्डर

क्रिकेटर पारस खड्कालाई महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका खड्कालाई बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच एम्बेसडरमा नियुक्त गरिएको हो । खड्का दुई बर्षका लागि ब्रान्ड एम्बेसडर बनेका हुन् ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएपछि उनले ५० लाख ७५ हजार मूल्य पर्ने महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट पनि पाएका छन् । अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खड्कालाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको थियो । कार्यक्रममा अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उप निर्देशक बरदान बस्नेत साथै पूर्व मिस नेपाल शृङ्खला खतिवडा उपस्थित थिए ।

खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले महिन्द्रा आफ्नो रोजाइमा परेको बताए । उनले थपे – ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवर्द्धक रहिसकेको छु, हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हषिर्त छु ।’ उनले पेशागत कारणले एसयूभी गाडी सदैव आफ्नो प्राथमिकताको सूचीमा पर्दै आएको र सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको गाडी आफूले प्राप्त गर्दा अत्यन्तै प्रफुल्लित भएको बताए ।