पिजे क्लबको फोटो प्रदर्शनी शुरु

पिजे क्लब ले केहि समय अघि आयोजना गएको नेपाल फोटो प्रतियोगिताका बिजेता र शर्ट लिस्टेद फोटोहरुको प्रदर्शनी शुरु गरेको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा फागुन १५ बाट शुरु भएको प्रदर्शनी फागुन २० गते सम्म चल्नेछ ।प्रदर्शनीमा कुल १७५ फोटोहरु राखिएको छ । नेपाल पर्यटन बोर्ड र ग्लोबल आइएमई बैंक प्रदर्शनीका मुख्य प्रायोजन हुन् । प्रदर्शनीको उद्घाटन विहिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे ।

प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रदर्शनी उद्घाटन गर्दै यस्ता प्रतियोगिता र प्रदर्शनीले पुस्तौंसम्म इतिहासको अभिलेख सुरक्षित राख्ने बताए । अत्याधुनिक प्रविधिको विकासले यतिबेला मानिसको पढ्ने बानी घट्दै गएको समयमा घण्टौं लामो व्याख्या गर्नु वा लेख्नुको साटो त्यसभन्दा बढी नै बयान गर्ने सशक्त माध्यम फोटो भएको उनको भनाइ थियो । उनले फोटोलाई जीवन निर्वाह गर्नसक्ने माध्यमका रुपमा विकास गर्नेतर्फ प्रयास गर्न पिजे क्लबलाई सुझाव दिँदै त्यसका लागि आफूले सक्दो सघाउने वचनसमेत दिए । उनले प्रदर्शनीको सफलता र नेपाली फोटो पत्रकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन आग्रह गर्दै विदेशमा पनि यस्ता प्रतियोगिता जित्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दैनिक, सामाजिक जीवनमा फोटो अपरिहार्य बनेको उल्लेख गर्दै आइएमई ग्रुपले फोटो पत्रकारहरुलाई प्रोत्साहित गर्न पिजे क्लबसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य गरिरहने प्रतिबद्धता दोहोर्याए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक एलबी बानियाँले यस्ता प्रदर्शनीले नेपालका बारेमा बयान गर्ने भएकाले बोर्डले यस्ता किसिमका कार्यक्रममा हातेमालो गर्दै आएको बताए ।

पिजे क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता र प्रदर्शनीमा सहकार्य गर्ने सबै प्रायोजक सबै संघसंस्था र कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे । उनले नेपाली फोटो पत्रकारले अब आफूले खिचेका फोटो विक्रीका लागि दुई वटा प्लेटफर्म उपलब्ध रहेको जानकारी दिए । ती दुई प्लेटफर्ममध्ये एउटा नेपाल पर्यटन बोर्डको फोटोनेपाल डट ट्राभल र अर्को नेप्टोसको नेप्टोस डट आइओ भएको जानकारी दिए ।


उनले फोटो पत्रकारले सुखद मात्र नभएर दुर्घटना, मृत्युजस्ता दुःखद घटनालगायत सबैखाले गतिविधिको फोटो खिच्नुपर्ने भएकाले सर्सति हेर्दा फोटो पत्रकार मानवीय संवेदनारहीत र निर्दयी रहेको गलत बुझाइलाई फोटो अफ द इयर उपाधि जितेका नभेष चित्रकारले पुरस्कारको रकम हाइड्रोसेफालुसबाट निधन भएका बजरंगी मिश्रको परिवारलाई प्रदान गरेर चिरेको बताए । उनले यसका लागि नभेषलाई हार्दिक धन्यवादसमेत दिए ।

फोटो अफ दि इयर विजेता नभेष चित्रकारले पुरस्कारबापत पाएको १ लाख १० हजार ५ सय रुपैयाँ (फोटो अफ दि इयर र फोटो स्टोरी विधाको प्रथम पुरस्कार बापतको रकम) प्रमुख अतिथि राष्टियसभा अध्यक्ष तिमिल्सिना तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकाल र अन्य अतिथिको समुपस्थितिमा फूलकुमारी मिश्रलाइ हस्तान्तरण गरे । फूलकुमारी मिश्र नभेष चित्रकारले खिचेको तस्बिरमा देखिएका हाइड्रोसेफालुसबाट अकालमै मृत्युवरण गरेका रौतहट बरियारपुरका दुई वर्षिय बालक बजरंगी मिश्रकी आमा हुन् ।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो ।

काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी गरिएका फोटोहरुकोे प्रदर्शनी नेपाल फोटो यात्रा अन्तर्गत देशका ६ प्रमुख सहरमा समेत गरिनेछ ।