अनि, रातो वानपिस तन्किएर ‘म्याक्सी’ बनेछ !

- दिक्षा कट्टेल


‘ओए, त त्यहीँ काम गर्ने होस् र ?’

‘अँ, अहिले सम्म यहि राम्रो छ ।’

‘हेर, म त कारको सोरुममा काम गर्ने भएँ नी । तलब पनि ४०हजार रे ।’ (अनुहारमा खुसीको सिमा थिएन)

(आफ्नो यहा ४ हजारले जिन्दगी चलाउनु परेको छ, के बोल्नु ! )

‘ ए हो र ? राम्रो हुन्छ भने गर न त ।’

‘स्कुटर पनि दिन्छन् रे । म त अब त्यहि गर्ने हो काम ।  पढेर के हुन्छ र !’

‘तलाई जे ठिक लाग्छ गर न ।  तर मिल्छ भने पढाइ नछोड ।’

‘ह्या यार के गर्नु पढेर…’

(यो घटना थियो हामीले काठमाण्डौलाई कार्यथलो बनाएको केहि समय पछीको)

म अब्बल नै थिए, पढाईमा । तर कक्षा बढ्दै जादा अन्य विद्यालयबाट आएकाहरुको अगाडी मेरो स्तर तल्लो देखाइन थालियो ।  एउटा साथ भने थियो, आमाको । मेरी आमाले कहिले पनि पहिलो दोश्रोमा विश्वास गर्नु भएन । वहाको एउटा कुरा हुन्थ्यो, आफ्नो क्षमता खस्किन नदे, तेरो प्रतिसत खस्केन भने त अन्तिम नै भए पनि फरक पर्दैन ।  तँ काबिल हुने हो ।  प्रतिष्पर्धा गर्ने होइन ।

अहिले पनि सम्झिन्छु जिन्दगी आफ्नो हो । उसको बढी हुदा मेरो मन किन दुख्ने र ? मेरो भाग मैले भोग्ने हो ।  अनी उसको उसले ।

तर त्यो समयमा कहिले कही हिनताबोध भने हुन्थ्यो । किसोरावास्थाको आवेग पनि निस्किन्थ्यो कता कता ।

करिव एक बर्ष पछि पुन उ सम्पर्कमा आई । अगिल्लो बर्षको रातो गाला, रातो स्कुटर अनि रातो वानपिस केहि पनि थिएन ।  अनुहारमा चाउरी पोतिएको, लुगा उस्तै, अनि हाड र छाला मात्रै बाकी भएको शरीर ।

‘के भयो ?’ सोधिन मैले ।

उ आफै बोल्न थाली, ‘म बिहे गर्दै छु ।  हाम्रै उमेरको २१बर्षको केटा हो । तर राम्रो कमाउछ धनि परिवार छ । माया पनि गर्छ ।  अब छिटै बिहे गर्छु ।

मेरो पुरानो प्रश्न दोहोरियो, ‘अनि पढाइ ?’

पढाउने त भन्छन् । तर अहँ म नपढ्ने । पैसा भए हुन्छ पढेर के गर्नु ? कारखाना छ रे उसको बाबाको ।

(उ त्यहि केटिहो जसको कारण मेरो श्रेणी कक्षामा तल झरेको थियो) मैले केहि बोल्नु उचित ठानिन

आज करिव ५बर्ष पछि फेसबुकमा उसको प्रोफाइल देखे ।  खोलेर हेर्न मन लाग्यो ।

२६बर्षको उमेरमा उसलाई हेर्दा कसैले पनि ३५ भन्दा कम भन्दैन, पक्कै पनि । पढाइमा अब्बल, जिन्दगिमा केहि गर्छे भनेर सबैले अपेक्षा गरेको मान्छे, बच्चा हुर्काएर गृहिणी भएर बसेकी रहिछे । धन्न फेसबुक सम्म परिवारले चलाउन दिने रहेछन् । त्यो पनि माइतबाट भाउजुले पठाइदिएको फोनबाट । परिवार धनि छ रे तर नानीलाई लगाउने कपडा किन्न समेत श्रीमान, सासु हुदै ससुरा सम्म पुगेर हात फैलाउन पर्ने रे, कठै !

 

पहिले र अहिलेमा एउटा भने समानता देखियो ।  पहिले कपाल रातो थियो, आज कपालमा निरन्तर थपिएको दाग सहितको रातो सिन्दुर । त्यो गालाको रातो सरेर ओठमा पुगेछ, कलेटी परेको ओठमा पोतिएको लाली ।  अनि त्यो रातो वानपिस तन्किएर ‘म्याक्सी’ बनेछ । रातो भने छुट्न दिएकी रहिन छे, धन्न ।

सम्झीए , पैसाले सधै जिन्दगी सपार्छ भन्ने छैन ।

 

२०७६ फागुन १६ गते १६:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *