पहिलो चुम्बन (भाग – ६)

- मनिषा पौडेल

म हस्पिटलको बेडमा थिएँ, भाउजू हुनुहुन्थ्यो साथमा । खोजी र साथको खाँचो मात्र दारेको थियो । भाउजुले कत्ती फोन गर्नु भयो । फोन लागेन रे ! उसको साथी लाई’नि सोध्नु भएछ उसले नि थाहा छैन भने पछि मेरो पनि मन आत्तियो । घर त उ पक्कै गएको थिएन । तर कहाँ कुन हालमा थियो थाहा थिएन मलाई ।

मलाई हस्पिटलबाट डिस्चार्ज दिनको लागि अझै केही दिन लाग्छ भनेको थियो । एबोर्सनले गर्दा अलिकति हेलचेक्र्याई गरेछन् । मलाई पहिले नै भनेको थियो दारेले ‘एबोर्सनले गर्दा धेरै कुराको डर हुन्छ, तिमिलाई नै केही हुन पनि सक्छ, अनि तिमी बिना कसरी बाँच्नु म ?’ म उसको कुरालाई हावामा उडाउथें । भाउजुले’नि कता कताको कुरा सुनाउनु भो, यस्तो भाथ्यो, उस्तो भाथ्यो भनेर । एक त दारेको पिर अर्को अब आफ्नै पिर । मैले बच्चा राखेकी भए सबै कुरा ठिक हुन्थ्यो जस्तो लाग्यो । तर अब सोचेर वा पछुताएर केही काम थिएन । जे हुनु र गर्नु मैले गरिसकेकी थिएँ ।

साँझको बेला,  आफ्नै बेडमा घुस्रीरहेकी थिएँ म । कता कता भाउजूको आवाजमा अर्को आवाज मिसिएर आएको सुनें । कान टाठा बनाएर सुनें । आवाजको केहि अंशले मनमा प्रश्न उठायो … मेरो दारे ???? … छाती फुलेर आयो, बर्सातमा भरिएको कुवा जस्तो आँखाका डिल डिल सम्म पानी भरिए, परिक्षाको रिजल्ट आएर मन डराई डराई हेर्न आतुर भएझै भयो । मेरो ठम्याई, मेरो कल्पना र प्रतीक्षालाई छिचोल्दै मेरा आँखा अगाडी एउटा आकृति देखा पर्यो । ‘हो त ! तिमी मेरै दारे हौ !’ मनले मनलाई उत्तर दियो । गाग्रीमा नअटाएर पोखिएका पानीझै आँशुले आँखाका डिललाई छोडेर गालाको बाटो हुँदै बग्न थाले । कति मज्जाले समाहित हुन्छन यी आँसुहरु गालाको बाटो भएर ओठ र घाँटी सम्म, बस आज म उ सँग त्यसरी नै समाहित हुन चाहन्थें । ‘किन टाढा उभिएको उ ?? किन मेरो नजिक आएर मलाई सुमसुम्याउने गर्दैन ? किन चुम्दैन आज भिजेर निथ्रुक्कै भएका मेरा अधरहरु ? किन टाँस्दैन आज उ मलाई आफ्नो चौडा छातिमा ? आफै संग प्रश्न गरें ।‘ मन भित्र त उ नै थियो तर किन बोलेन मन भित्र बाट उ ? भाउजू आउनु भो मेरो नजीक । भाउजूको पछि उ पनि आयो । उसका आँखामा हेर्ने आट आएन मलाई । त्यहि आँखा थिए उसका जसमा म कहिले काहीँ आफ्नो मुहार हेरेर गाजल मिलाए झै गर्थे । अलि परको कुर्ची तानेर उ बस्यो । बस्ने ठाउँ त मेरै बेडमा पनि थियो नि किन पर बस्यो उ ?? अर्को प्रश्न आफैलाई गयो फेरि ।

‘कस्तो छौ ?’ उसको पहिलो प्रश्न ।

‘ठिक छु !’

‘आफै बुद्धिमानी छौ, सबै निर्णय आफै लिन सक्छौ, पक्कै पनि ठिकै होउलिउ !’ उसले भन्यो ।

बच्चाहरुले बल खेल्दा हुईकिएर गएर सिसामा बजारिएर झरम्म सिसा चर्केझै गरि उसका ती वचनले मनमा लाग्यो । फेरि आफैलाई सोधें मनमा त तिमी छौ नि, कतै तिमिलाई नै पो दुख्यो कि ? निशब्द रहे म एक छिन । भाउजू संग सबै कुरा गरिसकेको थियो उसले । आज डिस्चार्ज दिन्छ होला म बुझेर आउछु भन्दै भाउजू जानू भो । सायद मलाई र दारेलाई एक्लै पार्न त्यो कहानीले जन्म लियो भाउजुको दिमागमा । अलिकति नजर उठाएर उसलाई हेरें, आँखा मैतिर थिए उसका ।

‘कहाँ गएको तिमी यतिका दिन ? मेरो माया लाएन ? याद आएन ?’  बगिरहेका आँशुलाई रोक्ने प्रयत्न नगरी भनें । ‘अब कसैलाई कसैको मतलब हुन जरुरी देख्दिन म । तिमिलाई मनला’को तिमिले गर्यौ, मलाई मनला’को मैले गर्छु । र माया अनि यादको कुरा तिम्रो मुखबाट राम्रो सुनिन्न’ । उसले यसरी जवाफ दियो । त्यहि रुन्छे बेगमा आँशुका धारा बगाउदै बोल्न खोजें म ‘… यसरी नभन मन दुख्छ मेरो । जे गरे त्यसको लागि सरि, अब तिम्ले जे भन्छौ त्यहि गर्छु त्यहि मात्र हुन्छ’ ।

‘मैले भनेको मान्नी रहर भए, अब भुलिदेउ अतीतलाई, मैले गर्दा तिमी आज यो हालमा छौ । तिमी निको नहुँदा सम्म म तिम्रो ख्याल राखुम्ला । तिमी निको भएपछि आफ्नो खुसी गर…’ यति भनेर उ उठेर गयो । म त्यहिं घोप्टिएर रोएँ । खै उसले के सोच्यो, के बुझ्यो, अनि कसरी भन्यो यो सब । के उ सक्छ म बिना हाँसी खुशी रहन ? के उसलाई दु:ख लाग्दैन म नबोल्दा ? के माया छैन अब उसलाई मेरो ? आफै संग आफैले प्रश्नको बाहार छुटायो मनले । तर उ मौन छ, अझै यहि मुटुमा । अनि अब के मैले उसलाई यो मुटुबाट निकाल्नु ? अह !! सक्दिनँ । मुटुमा उ यसरी बसिसक्यो, जसरी शरीरमा खोपिएका ट्याटु, सकिन्न मेट्न । काँचो फलले पाके पछि फेरेको रंग जस्तो । सिधै भन्नू पर्दा अब उसलाई निकाल्न सक्दिन थिएँ म । अनि उसले ? के गर्यो उसले ? अब उसको मनमा साँच्चै छैन र म ? प्रश्नको बर्षात रोकिने छाँट्काँट थिएन । नानी उठ्नु अब जाने, आज डिस्चार्ज दियो, भाउजुको आवाजले झस्किएँ म । आँशुले लतपतिएको मुहार केही सम्हाल्न खोज्ने फुस्रो प्रयास गर्दै उठे म । ‘अनिस खै भाउजू ?’ मैले सोधें । ‘बाहिर ट्याक्सी रोक्दै हुनुहुन्छ बाबू’ । भाउजूबाट यति सुनें । रुम पुग्यौ हामी । म कमजोर भएकी थिएँ । भर्खर दशै सकिएको । चहल पहल बढ्दै थियो बजारमा । भाउजू मलाई कोठामा राखेर जानू भो । दारे त भित्र सम्म नि आएन । मैले सोचें मलाई आफ्नो रिस देखाउदै छ उ, म देखि टाढा जान सक्दैन उ । तर त्यस्तो भएन ।

साच्चै उ फेरिएछ । एउटा काम गर्ने मान्छेले झै उ मेरो काम गर्दिन्थ्यो । एउटा नर्सले झै मेरो ख्याल राख्थ्यो । म उठ्दा मेरो अगाडि खाने कुरा रेडि हुन्थ्यो । थाहा छैन कति बेला उसले ल्याएर राखेर जान्थ्यो । औसधि खाने बेला कहिले उ आउथ्यो कहिले म्यासेज गर्थ्यो । उ आउँदा कत्ति बोलाउन खोजें, कत्ति रोएँ, कत्ती एक्लै बरबराएँ, उसले केही वास्ता गरेन । उ निस्किने बित्तिकै भाउजू आउनु हुन्थ्यो । अचम्म लाग्थ्यो भाउजू आउने टाईम देखेर । मेरो एक थोपा आँशुले जल्ने उसको मन अहिले आँशुको कयौ भेलले पनि भिजाउन सकेन । बिस्तारै बिस्तारै म निको हुन थालें अनि टाढीदै गयो मेरो अनिस, मेरो दारे, अनि एक्लिदै गएँ म …

बाँकी अर्को भागमा …

२०७६ फागुन १७ गते ९:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *