अनमोल केसी बिरुद्ध ठगिको उजुरी

केहि समय अघि अभिनेता अनमोल केसीले फिल्म ‘धुपौरे’ गर्ने हल्ला चलिरहेको थियो, पछि ‘स्क्रिप्ट चित्त नबुझेको’ भन्दै उनि फिल्म संग अलग्गिए । अहिले फिल्मका निर्माताहरु जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले अनमोलले ५ लाख ठगि गरेको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिएका छन् । उनीहरुका अनुसार अनमोलले पहिले फिल्म खेल्छु भनेर असोज ३ गते ४० लाख पारिश्रमिक मा फिल्म साइन गर्दै ५ लाख अग्रिम भुक्तानी लिएको तर पछि फिल्म छोडेपछि पैसा फिर्ता नगरेको आरोप लगाएका छन् ।

निर्माताहरुका अनुसार अनमोलले फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुलाई समेत अग्रिम पैसा दिन लगाएका थिए जसले गर्दा ३० लाख भन्दा बढी खर्च भएको थियो । जिम तथा अभिनय क्लासको लागि भन्दै अनमोलले थप २ लाख ५० हजार पनि लागेको उनीहरुले बताएका छन् । प्रहरीमा गरिएको उजुरीमा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

अनमोललाई कार्यालयमा बोलाएर छलफल गराउने तर नआएको खण्डमा भने प्रक्रिया अनुसार कारवाही अगाडी बढाउने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बाेगटीले जानकारी दिएका छन् ।

फिल्मलाई साम्तेंन भुटियाले निर्देशन गर्ने कुरा थियो । अनमोल बाहिरिएपछि भने फिल्मको भबिष्य अनिश्चित बनेको थियो ।