सिनेमा अनि ब्रेसों बा

हप्ता दिन अघि सम्पन्न भएको ९२ औँ संस्करणको एकेडेमी अवार्डमा पहिलो पटक विदेशी भाषाको फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्म विधामा अस्कर हात पार्यो । आफ्नो कथा र विषयवस्तुलाई निर्देशक बोन जुन होले निकै नै कुशलता पूर्वक, दर्शकलाई म्यानुपुलेट  गर्न सफल भए । यस्तै नै अरु विधामा अवार्ड जित्ने कलाकार तथा फिल्म मेकरहरुले पनि निकै नै मिहिनेत गरेर दर्शकलाई म्यानुपुलेट  गर्न सफल भए ।

सामान्यतया हामी फिल्म भन्ना साथ कथा तथा विषयबस्तुलाई जिवन्त रुपमा अभिनय गरेर पर्दामा उतारिने चलायमान चित्रलाई बुझ्दछौँ । फिल्मको उत्कृष्टता पनि विषयवस्तु, कथा, संवाद, छायाँ, अभिनय आदि हेरेर मापन गर्दछौँ । अझ उत्कृष्ट कहलिएका फिल्मकर्मीहरुको फिल्ममा रंगकर्मबाट सापटी लिइएको अभिनय, साहित्यबाट सापटी लिएको लेखन शैली, चित्रकलाबाट सापटी लिइएको छायाँशैली भरपुर प्रयोग गरेर खाँदिलो रुपमा प्रस्तुत गरिएका हुन्छन् । तर फिल्म निर्माणको यो शैलीलाई फ्रान्सेली फिल्म निर्देशक रोबर्ट ब्रेसोंले दृढतापूर्वक अस्विकार गरिदिएका थिए । उनले फिल्मको ब्याख्यालाई ठाडै रुपमा चुनौँती दिएका थिए । अरु कला भन्दा फिल्म छुट्टै कला हो र एक दिन फिल्म कुनै पनि अरु कलाका चिजहरुबाट सापटी नलिकन छुट्टै नै कलाको माध्यम हुन्छ भन्ने मान्यता राखेर आफ्नो पचास बर्षेको करियरमा तेह्रवटा फिल्म बनाए । आफ्नो फिल्मको लागि आफ्नै भाषा सिर्जना गरे ।

फ्रान्सेली फिल्म निर्देशक जँ लुक गोडार्डले एकपटक भनेका थिए “जसरी रुसी आख्यान भनेर दोस्तोएभ्स्कीलाई भन्न मिल्छ, जर्मन संगित भनेर मोजार्टलाई भन्न सकिन्छ, त्यसरी नै फ्रान्सेली फिल्म भनेको ब्रेसों हुन्” । ब्रेसोंको पहिलो कलात्मक ध्यान भनेको फिल्मको भाषालाई रंगमञ्चको भाषाबाट छुट्याउनु थियो । रंगमञ्चमा प्रदर्शन हुने नाटकहरु कलाकारको अभिनयमा निकै नै भर पर्दछन् । तर रोबर्ट ब्रेसोंले फिल्ममा ब्यवसायीक अभिनयको अस्वीकार मात्र गरेका थिएनन्, उनी त स्वयं अभिनयकै विरोधी थिए । हामी अभिनय हेर्दा न्याचुरल  अभिनय हुनु पर्दछ भन्ने मान्यता राख्दछौँ । तर ब्रेसोंले उन्नाइसौँ शताब्दीका फ्रेन्च लेखक साटोब्रियनले कविहरु प्रती गरेको टिप्पणी सापटी लिएर सिनेमाको अभिनय र अभिनेताको बारेमा भनेका थिए “वाट दे ल्याक इज नट न्याचुरलनेस बट नेचर इटसेल्फ” अथार्त ब्यबसायीक कलाकारहरुमा जिवन्त अभिनयको कमी हैन, उनीहरुमा जिवनको कमी हुन्छ । ब्रेसोंले प्रकाशन गरेको किताब ‘नोट् अन सिनेम्याटोग्राफी’ मा भनेका छन् कि, (यहाँ सिनेम्याटोग्राफी भनेको छाँयाकारको शिल्प मात्र नभई पूरै फिल्मलाई भनिएको छ) “सिनेमाको सत्य भनेको रंगकर्मको सत्य हैन, न कुनै आख्यान, न त कुनै चित्रकलाको सत्य हो । सिनेमाले आफ्नो श्रोतबाट जे हाँसील गर्छ, न त्यो कुनै नाटकले गर्न सक्छ, न कुनै आख्यानले, न कुनै पेन्टिङ्गले । सिनेमामा रंगमञ्च हुनु हुदैँन, किनभने रंगमञ्चले मासु र रगतको माग गर्छ । अनि रंगमञ्चबाट अभिनय सापटी लिएर बनाएको फिल्म, चित्रबाट गरिएको रंगमञ्चको पुर्नरुत्पादन हो जुन कुनैपनि पेन्टिङ्गको पुर्नरुत्पादनसँग तुलना गर्न सकिन्छ, जसको कुनै मूल्य हुदैँन – जस्तै भिन्चीको मोनालिसा, मिकेल्यान्जेलोको डेबिड, भरमिरको यङ्ग वुमन विथ नेकलेस  को पुर्नरुत्पादनको कुनै मूल्य छैन” ।

सन् १९७५ मा पहिलो पटक प्रकाशनमा आएको किताब ‘नोट् अन सिनेम्याटोग्राफी’ मा ब्रेसोंले आफ्नो कार्यशैलीको प्रतिबिम्ब उतारेका छन् । उनी मान्यता राख्दथे कि निर्देशकको काम भनेको अरुलाई निर्देशन गर्ने भन्दा पनि धेरै आफूलाई निर्देशन गर्ने हो । अनि चलचित्र भनेको आफ्नो जिवनको अन्वेषण । उनले आफ्नो फिल्ममा खेल्ने मानिसलाई कलाकार नभनि नमूना (मोडल) भन्ने गर्दर्थे । उनले सो किताबको सुरु तिरको हरफमा एउटा पंक्तिमा लेखेका छन् – “कुनै अभिनेता हैन, त्यसैले अभिनेतालाई निर्देशन गर्नु परेन, कुनै चरित्र छैन, त्यसैले चरित्रको बारेमा अध्ययन गर्नु परेन, कुनै मञ्चन हैन, फिल्म हो त जिवनबाट झिकिएको नमुनाहरुसँग गरिने काम । ब्रेसों लगातार पारंपारिक फिल्मकर्मी तथा त्यसको बचाउ गर्ने मानिसहरुसँग विवादमा संलग्न भैराख्थे । उनको लागि फिल्म छुटै कला थियो अनि कथाको चित्रण पात्रहरुबाट नभई मोडलहरुबाट हुन्थे, जसको अभिनय बोल्दैनथ्यो, बोल्थ्यो त केवल क्यामेराको चालले ।

मानिसहरु फिल्म हेर्छन्, आनन्द लिन्छन् अनि सिनेमा घरबाट निस्किएपछि, सबै कुरा बिर्सन्छन् । ब्रेसोंलाई यो कुरा पाच्य थिएन । उनी ठान्दथे, कलाले मानिसलाई झक्झकाउनु पर्दछ, कुनै कलाको स्वरुप हेरेर मानिसले आफ्नो जिवनमा झाँक्नु पर्दछ । तर कलाले मानिसलाई यै नै सोच्ने हो भनेर म्यानुपुलेट  गर्नु भने हुदैँन । यहि मान्यतालाई सर्वोपर गरेर उनी फिल्म बनाउँदथे । उनको फिल्ममा कलाकारले कुनै पनि भावनाको अभिनय गर्दैन थिए । उनले दर्शकलाई नै उक्त दृश्यको अन्तरिकरण गर्न छाडिदिन्थे । कथामा खेलिरहेका मोडल, कुनै दृश्यमा रुने अवस्था आयो भने, उनी पहिला रुनुको कारण देखाइदिन्थे, अनि मोडलको आँखामा आँशु त दिन्थे तर मोडलको मुहार भावशून्य बनाइदिन्थे । मोडलको मुहारमा रुवाईको कुनै भाव हुन्न थियो । यति भएपछि, सो अवस्थामा रुने हो कि हैन भनेर दर्शक आफैँले निर्णय लिनु पर्दथ्यो । फिल्म खिचाइ भनेको कुनै पनि शोधको ब्याख्या गर्न हैन, न नै कुनै पुरुष र महिलाको सिमित रहेको बाह्य पक्ष प्रदर्शन गर्नु हो । यो हो त मानिस स्वयंमको, उत्पत्तिको खोज ।

प्राय फिल्मकर्मीहरु, कथा, अभिनयसँगसँगै खिचाईलाई पनि उत्तिकै जोड दिन्छन् । खिचिएको हरेक चित्र उत्कृष्ट र मनमोहक देखियोस भनेर । अझ संसारको फिल्मी जगतमा नाम कहलिएका धुरन्धर निर्देशकहरुको फिल्ममा खिचिने हरेक चित्रले अर्थ बोक्न खोज्छ ।  तर ब्रेसोंको लागि मनमोहक तथा अर्थ दिने चित्रका खासै मूल्य थिएन । जबसम्म चित्रले पालैपिलो राखिने चित्रहरुमा दर्शकलाई म्यानुपुलेट  नगरि कथा अगाडि बढाउँदैन तबसम्म सिनेमामा कुनै पनि चित्रको मूल्य रहँदैन, त्यो जति नै मनमोहक या अर्थपूर्ण किन नहोस् । उनका फिल्मका चित्रहरु निकै नै तटस्थ हुन्थे । चित्र र आवाजले घटनाहरु भन्थे, दर्शकको भावना म्यानुपुलेट  नगरिकन । नोट् अन सिनेम्याटोग्राफी  मा उनले लेखेका छन् “चित्रको यो भाषामा, हामीले चित्रको धारणालाई छोडिदिनुपर्छ । चित्रको ब्याख्यालाई बिर्सिनु पर्दछ । अर्थपूर्ण र मनमोहक चित्र कोर्ने काम चित्रकारको हो, सिनेमाको हैन । जसरी शब्दकोशमा भएका शब्दहरुको प्रसंग बिना कुनै अर्थ हुदैँन, त्यसरी नै सिनेमाका चित्रहरुले प्रसंग बिना कुनै अर्थ राख्नु हुदैँन । सिनेमाको चित्र सधैँ तटस्थ हुनु पर्दछ ।”

ब्रेसोंको लागि फिल्म – दुई मृत्यु र तिन जन्म थियो । उनले कतै भनेका थिए “सिनेमा पहिलो चोटि मेरो दिमागमा जन्मन्छ, कागजमा गएर मर्छ, मानिस र वस्तुहरुबाट पुर्नजन्म पाँउछ र सिनेमा रिलमा मर्दछ । तर केही निश्चित ब्यवस्था मिलाएर प्रोजेक्टरबाट पर्दामा छाँया फालेपछि यसले पूर्ण जिवन पाँउदछ, पानीमा फूल खेलेजसरी” । तर फिल्म जस्तै उनको जिवनको तिन जन्म भएन । लगभग सिंङ्गै एक शताब्दीको जिवनकालमा ब्रेसोंले फिल्मको नयाँ भाषा प्रतिपादन गरे । अनुहारको भावबाट भन्दा पनि हात र खुट्टाको चालबाट फिल्मको कथा भने । मानिसको भोगाईको कथा भन्दा पनि उनले, अन्तर्मनको कथा भने, अध्यात्मको यात्रा कोरे । तर ब्रेसोंले बनिरहेको फिल्मको मापदण्ड यसरी बहिष्कार गरे कि, उनलाई अहिलेसम्म पनि फिल्मको इतिहासको पन्नाबाट झण्डै बाहिर नै राख्ने प्रवृति छ । तर पनि संसारभरका थुप्रै फिल्मकर्मीले आजपनि उनलाई आदर्श मानेर फिल्म निर्माण गर्ने गर्छन् । उनले निर्माण सुरु गरेको पदमार्गको बाटो खन्नलाई केही गम्भिर स्वभावका फिल्मकर्मी दत्त चित्त भएर लागिरहेका छन् । ब्रेसोंको अन्तिम फिल्म ला’र्जँ    को प्रीमियरको क्रममा, कान्स फिल्म फेस्टीभलको पत्रकार सम्मेलनमा उनले आफ्नो एउटा सपना सुनाएका थिए “एक दिन सिनेमा आफूमा छुटै एउटा कलाको माध्यम हुने छ र यसले अरु कुनैपनि कलाको श्रोतबाट सापटी लिने छैन ।”