सृजना सुत्रको नयाँ अभ्यास :सिर्जनात्मक क्षेत्रमा रोजगारको अवसर

क्षमतावान बेरोजगारहरूका लागि सृजना सूत्रले रचनात्मक क्षेत्रमा रोजगारी खोजिदिने भएको छ । स्क्रिप्ट लेखक सम्पदा मल्ल र म्युजिक भिडियो निर्देशक सुबास प्रधानले संयुक्त रूपमा यो कामको सुरुवात गरेका हुन् । मल्ल स्वयम्ले पनि मुम्बाईमा फिल्म पढेर कामका लागि आफैँ भौतारिनु परेको दिन सम्झिँदै नेपालका युवा र अरु यस क्षेत्रमा आउन चाहनेहरू अब त्यसरी भौंतारिनु नपरोस् भनेर यो कन्सेप्ट ल्याएको पनि बताइन् ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा फिल्म निर्देशक विनोद पौडेल, दीपाश्री निरौला, एनिमेटर किरण भक्त जोशी र पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत यी भिन्न–भिन्न तर सृनात्मक क्षेत्रका प्रतिनिधिहरू र आम दर्शकहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सृजना सूत्रले औपचारिक रुपमा आफ्नो संस्थाको सुरुवात गरेको हो ।

अन्तरक्रियामा उपस्थित निर्देशक विनोद पौडेलले  भारत लगायत विश्वका धेरै देशमा यस्ता खालका जब एजेन्सी रहेका भन्दै नेपालमा पनि यस्तो संस्था सञ्चालन हुनु राम्रो भएको बताए । क्षमता भएर पनि काम नपाइरहेका व्यक्ति र रोजगारदाताबीच सृजना सूत्रले पुलको काम गर्ने उनको भनाइ छ ।

त्यस्तै किरण भक्त जोशीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको अनुभव सुनाए । उनी अहिले नेपालमै बसेर हलिउडका प्रोजेकटहरूको एनिमेसन पाटो हेरिरहेका छन् । जसमा उनले नेपाली दक्ष जनशक्तिलाई रोजगारी पनि प्रदान गरिरहेका छन् । तर यतिले नपुग्ने गरेको उनले बताए ।  साथै उनले सृजना सूत्रको योजना असाध्यै राम्रो भएको पनि बताए ।

सृजना सूत्रले रोजगारी खोजिदिने काम मात्रै नभई प्रत्येक महिना यस्तै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई बोलाएर प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिरहने पनि जानकारी दिइयो ।