‘मिस ह्वील चियर नेपाल’ हुदै

नेपालमा पहिलो पटक ‘मिस ह्वील चियर नेपाल २०२०’ आयोजना हुने भएको छ । शारीरिक अपांगता भएका महिलाहरुको क्षमता विकासको लागि देशभरका अपांगता भएका महिलाहरुको क्षमता विकास एवं उनीहरुको सकारात्मक परिवर्तनको उद्देश्य सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपमा अपांगता भएका महिलाहरुको सिप, सुन्दरता र क्षमतालाई राष्ट्रिय मञ्चमा उभ्याउनको लागि वि नेपाल’ र लायन्स क्लव अफ काठमाडौं ककनीको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । देशभरबाट प्रतिस्पर्धाको लागि छानिनेमध्येका उत्कृष्ठ १५ जनालाई कार्यक्रम पछि विभिन्न तालिम एवं व्यक्तित्व विकासका कार्यक्रमहरुमा सहभागी गराउने तयारी आयोजक संस्थाको छ ।

आयोजक संस्था वि नेपालकी संस्थापक अध्यक्ष साबु पौडेल केसीले यो प्रतियोगिताले ह्वील चियर, बैशाखी, कृतिम खुट्टा, क्यालिपर जस्ता सहायक सामग्रीको प्रयोग गर्नुपर्ने अवस्थाका महिलाहरुलाई समाज सामु चिनाउने र त्यस्ता महिलाहरुलाई नयाँ प्लेटफार्म प्रदान गर्ने विश्वास व्यक्त गरे ।

‘यो उनीहरुको क्षमता अभिबृद्धि गर्ने एउटा माध्यम पनि हो ।’ उनले भने ‘शारीरिक रुपले अपांगता भएका उनीहरुलाई राष्ट्रिय समारोहमा सहभागी गराएर थप क्षमताको विकास गराउनुका साथै उनीहरुलाई विभिन्न तालिम मार्फत् क्षमतावान बनाउने उद्देश्य समेत हामीहरुको हो ।’ केसीले नेपालभरी छरिएर रहेका क्षमतावान एवं प्रतिभाशाली शारीरिक रुपमा अपांगता भएका महिलाहरुलाई यस कार्यक्रमले समाजमा सकारात्मक दृष्टिकोणको विकास गराउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् । यो कार्यक्रमले समाजमा ओझेलमा परेका महिलाहरुलाई अघि बढ्न समेत यो मञ्चले मद्दत गर्ने लायन्स क्लब अफ काठमाडौं ककनीका अध्यक्ष कैलाश श्रेष्ठको विश्वास छ ।

आयोजक संस्थाहरु मध्ये लायन्स क्लब अफ काठमाडौं ककनी विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आएको संस्था हो भने वि नेपाल २०७२ सालको विनाशकारी भूकम्पमा परी आफ्नो अंग गुमाउन पुगेका महिलाहरुको क्षमता विकास र आत्मविश्वास बढाउने सम्बन्धी विभिन्न कार्यमा संलग्न संस्था हो ।