कोरोनाबारे सेलेब्रेटिको धारणा, ७५% रक्षा पशुपतिनाथको हातमा

चिनको वुहान बाट फैलिएको कोरोना भाइरसले यतिबेला सम्पूर्ण विश्वमा नै त्रास फैलिएको छ । अहिले सम्म भाइरसको कारण ३००० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने हजारौ मानिस संक्रमित छन् । भाइरस अहिले चिन बाहेक विभिन्न देशहरुमा फैलिसकेको छ । नेपालमा केहि शंकास्पदहरुलाई संक्रमणको आशंकामा अस्पताल भर्ना गरिए पनि हाल सम्म संक्रमण भने फेला परेको छैन । यहि बीच नेपाल सरकारले समेत यस किसिमको त्रासपूर्ण स्थितिसंगै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । ‘भ्रमण बर्ष २०२०’ पनि स्थगित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप जनशक्ति र जाँच गर्ने मेसिनहरु राखेर विशेष सतर्कता अपनाउन थालिएको छ । सरकारले ठुला सभा, सम्मेलन र भोजभतेर समेत नगर्न आह्वान गरेको छ ।

मेरोफिल्म ले केहि फिल्मकर्मीहरुसँग कोरोनाको बिषयमा कुराकानी गरेको छ, हेरौं उनीहरुको बिचार :

आकाश अधिकारी
(निर्माता / निर्देशक / अभिनेता)
नाकामा कडाइ अपनाउनु पर्छ । त्यस्तै एयरपोर्ट र भिडभाड हुने क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्छ । अस्पतालमा लगेर उपचार गराउदा अझ धेरैलाई संक्रमण हुने खतरालाई ध्यानमा राख्दै घरमा नै उपचार गर्ने व्यवस्था मिलाउन जरुरि छ । यसो गर्न सकेमा परिवारका सदस्य स्वयम् ले सावधानी अपनाउछन् र संक्रमण फैलिन समेत कम हुन्छ ।

सुदर्शन थापा
(निर्माता / निर्देशक / अभिनेता)
नेपाल भीत्रीएको छैन कोरोना भाइरस, तसर्थ अफवाह फैलाउने भन्दा पनि धैर्यतापूर्वक सावधानी अपनाउन जरुरी छ । एयरपोर्ट, सिमा नाका तथा भिडभाड हुने क्षेत्रमा सावधानी अपनाउन पर्छ । देशमा संक्रमण हुनु अगावै सुरक्षाको उपाय अपनाउन सके ठुलो समस्या हुदैन ।

दीपाश्री निरौला
(निर्माता/निर्देशक/अभिनेत्री)
चिसोको कारण फैलिने भएको कारण आफुलाई न्यानो बनाएर राख्नु पर्छ । भिडभाड हुने स्थलमा नजाने, सुरक्षाको उपाय अपनाउनु पर्छ । ज्वरो आउना साथ अस्पताल गएर परामर्श लिने, नाकामा तथा भिडभाड हुने स्थानमा हेल्थ डेस्क राख्ने, ‘मलाई लाग्दैन’ भनेर बेवास्ता नगर्ने हो भने केहि हद सम्म सुरक्षित रहन सकिन्छ ।

जनक दिप पराजुली
(निर्देशक/ महासचिव, निर्देशक समाज)
सामाजिक संजालमा कोरोना नेपाल भित्रिए पनि वास्तवमा भित्रेको छैन । त्यसैले नेपाल भित्रिन नदिनु नै उत्तम उपाय हो । यसको लागि आवस्यक सावधानी सबैले आफ्नो क्षेत्रबाट गर्न जरुरी छ । ३ मिटरको दुरीमा बस्ने, धातुको सम्पर्कमा कम आउने, मास्क लगाउने लगायतका सावधानी अपनाउन जरुरी छ । हरेक परिवारमा प्रत्येक सदस्यले व्यक्तिगत प्रायोजनका सामाग्री आफ्नो आफ्नो प्रयोग गर्ने, पर्याप्त मात्रामा जानकारी उपलब्ध गराउने गर्नु पर्छ । सम्पूर्ण विश्व नै त्रसित रहेको अवस्थामा यो रोग नेपाल भित्रिने उच्च सम्भावना रहेको कारण सुरुमै सावधानी अपनाउन जरुरी छ ।

मीना महत
(निर्देशक, केटिएम मेकअप स्टुडियो)
सफा रहन र नियमित हात धुन जरुरि छ । मास्कको प्रयोग गर्नु पर्छ । मल र भिडभाडमा नजाने, सकेसम्म धातुको सम्पर्कमा नरहने, झोलिलो तातो पदार्थ खाने गर्नुपर्छ । सरकार तथा सम्बन्धित निकायले जानकारीको सहज पहुचको व्यवस्थामा ध्यान दिनुपर्छ ।

दिपक राज गिरी
(निर्माता/लेखक/अभिनेता)
सबैले गर्नुपर्ने एउटा काम हो – धेरै जना संग डेटिङ जान भएन । भिडभाडमा जान भएन । हामी नेपालीले २५ प्रतिशत सतर्कता अपनाउने हो बाँकी ७५ प्रतिशत भगवान पशुपतिनाथको हातमा छोड्ने हो । म घर मै छु, कोरोनाले मलाई फाइदा नै भएको छ, स्क्रिप्टमा काम गर्न पाएको छु ।

छविराज ओझा
(निर्माता)
समाचारमा आएकै छन्, पर्याप्त जानकारी आइरहेको छ, सोहि अनुसार आफु र आफ्नाहरु लाई सुरक्षित राख्ने हो । होली लाग्यो पानी संग खेल्दा चिसो हुन्छ, हुलमूल हुन्छ त्यसकारण यो वर्षाको होली नखेल्ने पो हो कि ? सरकारले जानकारी दिएका सुरक्षाका उपाय अपनाउने र पर्याप्त मात्रामा जानकारीका लागि सुचना डेस्कको व्यवस्था गर्ने ।

 

(कुराकानीमा आधारित)