वर्षकै प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को टिजर सार्बजनिक

यस वर्षकै सबैभन्दा प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को टिजर सार्बजनिक भएको छ । २ सय बर्ष अगाडीको प्रेमकथा बोकेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

निर्माता तथा निर्देशक सन्तोष सेनले २ वर्षको मिहिनेत पश्चात फिल्म तयार भएको बताए । उनले दर्शकहरुको मनमा नाम लेख्नु नै आफु र आफ्नो टिमको उधेश्य रहेको भन्दै बलिउड, हलिउडका फिल्म सँग दाँजेर नेपाली फिल्म झुर हुन्छ भन्ने प्रचलनलाई त्याग्नु पर्ने बताए । त्यस्तै उनले फिल्मको लागि आफुहरुले तन, मन, धन र पसिना प्रसस्तै खर्चिएको भन्दै दर्शकहरु सँग साथकोलागि अनुरोध गरेका छन् ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।

फिल्म घोषणा संगै यसको ठुलो निर्माण बजेट र २०० वर्ष पुरानो सेटिंगको कारण चर्चामा आएको थियो । फिल्मको केहि अंशको छायांकन काठमाडौँ मै भब्य शेट बनाएर गरिएको थियो भने बाँकी छायांकन उपल्लो मुस्तांगमा गरिएको हो । ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ र ‘मेरी मामु’ पछिको निर्माता सेनको यो पाँचौं फिल्म हो । फिल्म चैत २८ गते रिलिज हुनेछ ।