‘फिल्म निकै नै प्रभावशाली र आफैँमा पूर्ण माध्यम हो’ : डेविड लिन्च

अनौठो छविका हलिउड फिल्म निर्देशक डेविड लिन्च, सिनेमा र टेलिभिजनको लागि आकर्षक, अनौठा र अमूर्त फिल्म अझ भनुम् दुःस्वप्न खालका फिल्मका लागि चर्चित छन् । २१औँ शताब्दीको महान् फिल्मको उपमा पाएको मुल्होलैंड ड्राइभ का निर्देशक लिन्चको पोल्टामा इरेजर हेड ,ब्लु भेल्भेट, ट्विन पीक जस्ता अतियथार्थपरकको आयाम थप्ने खालका फिल्महरु पर्दछन् । द टल्कस म्यागजिनले डेविड लिन्चसँग लिएको अन्तर्वार्ताको अनुवाद –

डेबिड जि, के तपाईँमा रिसाउने समस्या धेरै भएर तपाईंले ट्रान्सिडेन्टल ध्यान सिक्नु भएको हो ?

हैन । म भित्र रिस धेरै छ भनेर मैले ख्याल गरेँ । धेरै मानिस रिसाहा प्रवृतिका हुन्छन् । त्यसमध्ये म एक हो । मानिसहरु धेरै चिजहरुमा रिस पोख्छन् । मैले मेरो पहिले श्रीमतिमा रिस पोखेँ । मैले ध्यान गर्न सुरु गरेको दुई हप्तामा मेरी अर्धाङ्गिनीले मलाई सोधिन् “तपाईंलाई के भयो ?” मैले प्रतिप्रश्न गरेँ “के भो र ?” अनि उनले जवाफ दिइन् “तपाईं रिसाउन छाड्नुभाछ ।” दुई हप्ता देखि म रिसाएकै रहेनछु । प्राय मानिसले ध्यान सुरु गर्दा, उनीहरुले भन्दा पहिला उनीहरुमा आएको वदलाव अरुको देख्दा रहेछन् ।

त्यसो भए तपाईंले ध्यान गर्न सुरु गर्नुको कारण के थियो ?

सन् १९७३ मा मैले यो सुरु गरेँ । यो ध्यानको प्रमुख कारण बोधित्व थियो । मानिसहरु भन्ने गर्थे, हामीले हाम्रो मष्तिष्क पाँच या दश प्रतिशत मात्र प्रयोग गरिरहेका हुन्छौँ । बाँकी मष्तिष्कको अरु भाग के का लागि ? यो सोचले मलाई हैरान बनाइरहेको थियो । हाम्रो मष्तिस्कको पूरा सदुपयोग हामीले कसरी गर्न सक्छौँ ? धेरै मानिसहरुमा गलत बुझाई थियो कि ध्यान भनेको मर्निङ्ग वाक या घाम ताप्नु जस्तै हो भनेर । तर ध्यान भनेको त अन्तर्मनको यात्रा हो, जिवनको गहिराईसम्मको यात्रा । निरपेक्ष, समग्रता र वास्तविकताको अनुभव हो ध्यान । मानिसको जन्म यसैको लागि भएको हो ।

के तपाईंलार्ई लाग्छ कि तपाई अरु भन्दा राम्रो फिल्मकर्मी हुनुहुन्छ, किनभने तपाईंका फिल्महरु उच्च सचेतनाले सञ्चालित छन् ?

मलाई थाहा छैन । जब तपाईं ध्यान गर्न थाल्नुहुन्छ, तपाईंले आफ्नो विचारहरु गहिरो तहमा समात्न सक्नुहुन्छ । तपाईंमा अन्तरज्ञान बढ्न थाल्दछ, जो कलाकारहरुको लागि निकै नै उपयुक्त उपकरण हो । कामको आनन्द बढ्दछ, अझ भनुम् सबै कुरामा आनन्द बढ्न थाल्छ । मष्तिष्कमा विचारहरु सधैँ बगिरहेका हुन्छन्, अनि तपाईं ती विचारहरु मध्यको उपयुक्त विचारलाई महशुश गर्न सक्नुहुन्छ । यो बढ्दो ज्ञान हो, जुन वास्तवमै सुन्दर छ ।

मुल्होलैंड ड्राइभ (२००१)

के तपाईं अझै पनि कहिलेकाहीँ डिप्रेस्ड या उदास बन्नुहुन्छ ?

मानिसमा नैराश्यता या डिप्रेसनको तरंग हुनु त स्वभाविक नै हो । तर नैराश्यताको ताप ध्यान पछि निकै नै कम हुन्छ । कष्ट र क्लेश हराउन थाल्दछ । मानिसको जन्म भनेको, दुख भोग्नको लागि हैन । हाम्रो स्वभाव आनन्दमय हो । हामी खुशी हुनु पर्छ र यो सम्भव पनि छ । तपाईं जब खुशी हुन थाल्नु हुन्छ, तपाईंको जागृती फराकिलो हुन्छ, सच्चिदानन्द स्वरुप फेला पार्नु हुन्छ । अनि जिवनको वास्तविक आनन्दको भोग गर्नु हुन्छ ।

तपाईंले भनिरहेको कुराले, मानिसको दैनिकी जिवनमा कसरी असर गर्दछ ?

जिवनको घटनाक्रमहरु त उस्तै रहन्छन्, तर जिवनको भोगाईहरु निश्चित रुपमा सुध्रदै जान्छन् । मेरो फिल्म ड्युन निर्माणताकाको मेरो भोगाईले, मलाई समाप्त गर्न सक्थ्यो । सो भोगाई निकै नै भयानक थियो । फिल्म निर्माण गर्दा, म आफ्नो कथा भित्र छिर्दछु । ड्युन निर्माण गर्नेक्रममा मैले चाल पाईसकेको थिएँ, यसको भोगाईले मलाई उजाड्छ भनेर तर ध्यानले मलाई जोगायो । एउटा उखान छ “तिमी जस्तै, संसार त्यस्तै ।” तपाईंले धमिलो हरियो रङ्गको चश्मा लगाउनु भयो भने संसार पनि धमिलो र हरियो देख्नु हुन्छ । या तपाईंले आफ्नो अन्तर्मनमा गोता लगाउन सुरु गर्नु भयो भने, तपाईले रचनात्मक ज्ञान र सच्चिदानन्द चेतनाको असीम सागरमा डुबुल्की मार्नु हुन्छ । अनि तपाईंको आँखाले संसार नियाल्न गुलावी चश्मा धारण गर्दछ । त्यसपछि तपाईंले संसारलाई त्यही तरिकाले हेर्न थाल्नुहुन्छ अनि तपाईं कष्टको भोगाईमा पनि आनन्द लिन थाल्नुहुन्छ ।

तर तपाईंको फिल्महरुले संसारलाई धमिलो चश्माबाट नियालिरहेको जस्तो देखिन्छ ?

यदि फिल्मको शुरुवात, मध्य र अन्त्य सबै शान्तिमय हुन्छ भने, त्यो कस्तो प्रकारको कथा हो ? कथामा विरोधाभास द्वन्दको आवश्यकता पर्दछ । कहीँ कथा हलुका हुनु पर्दछ त कथामा कहीँ उथुलपुथुलताको आवश्यकता पर्दछ । तर यसको मतलब यो हैन कि, फिल्मकर्मीले क्लेश देखाउन दुख भोग्नु पर्छ भन्ने । कथाहरुमा कष्ट हुनुपर्छ, मानिसहरुमा हैन ।

तपाईंको फिल्मको लागि विचार (आइडिया) कसरी आउँदछ ?

म सधैँ भन्ने गर्छु कि विचार (आइडिया) नै माझी हो, जसले नाउ खियाउँदछ । यो एक महान वरदान हो । म त्यो विचारलाई समात्न खोज्छु, जुन विचारसँग म प्रेममा पर्न सकूँ । मैले कुनै किताब या अरुको लेखन नरहेको कथानकमा काम गर्दा, यसरी नै सुरु गर्दछु । फिल्मको सम्पूर्ण आइडिया एकैपटकमा आँउदैनन्, खण्ड खण्ड भएर आँउछन् । त्यही खण्ड जोडिएर कथानक बन्दछ । म कुनै आइडिया आएपछि, त्यसलाई तबसम्म टिपेर राख्दछु, जबसम्म अर्को आइडिया आँउदैन । अनि बिस्तारै विचारहरूको बहुमतले आफूलाई एक कथानकमा फेला पार्दछन् – जुन संगठित विचारहरू हुन् । अनि गएर म त्यो कथालाई छायाँकन गर्दछु, त्यसपछि सम्पादन अनि ध्वनी र संगीतको मिश्रण । यो एक प्रक्रिया हो । विचारले कहिलेकाहीँ निकै नै अमूर्त कथा दिन्छ, जसको फेद – टुप्पो केही नभेटिन सक्छ र कहिलेकाहीँ विचारले निकै नै सरल कथा दिन सक्छ ।

इरेजर हेड (१९७७)

तपाईं कस्तो धारको फिल्म हेर्न रुचाउनुहुन्छ ? तपाईंलाई प्रभाव पारेका कुनै फिल्म छन् ?

मलाई प्राय सबै प्रकारका फिल्म मन पर्छन् । यस्तै धारको भन्ने छैन । मलाई कहिले अमूर्त फिल्मले पनि छुदैँन, कहिले पागल बनाइदिन्छ । फिल्म हजारौँ तत्वहरूको समिश्रण हो । एउटा भनाई छ, “फिल्म सात कलाहरुको संयोजन हो” भन्ने । फिल्म निकै नै प्रभावशाली र आफैँमा पूर्ण माध्यम हो । यसलाई कुनै सिमा भित्र बाँध्नु हुँदैन । फिल्मकर्मी सबैले आफ्नो आवाज खोज्नु पर्छ । तर गोडार्ड, फेलिनी र बर्गम्यान मेरा गुरु थिए । सनसेट बोलेभार्ड, रियर विन्डो, एट एण्ड हाफ , जैक टाटीको माई अंकल वा मोन्सिएर ह्युलोस् होलिडे, क्युब्रिकका सबै फिल्महरू, फेलिनीको सबै फिल्महरू, सम्भवत सबै बर्गम्यानका फिल्महरूले मलाई प्रेरणा दिएका छन् ।

के ती फिल्महरूले अवचेतन रूपमा तपाईंको कामलाई प्रभाव पारेको छ ? उदाहरणको लागि ब्लू भेलवेटमा भोइयूरिजमको अवधारणा रियर विन्डोबाट प्रभावित थियो ।

त्यस्तो हैन । फिल्मको इतिहास एक शताब्दी भन्दा लामो छ । अनि यो असम्भव जस्तै छ कि हामीले कुनै पनि फिल्म बनाउन सकौं जुन पहिला आइसकेको कुनै फिल्मसँग तुलना गर्न सकिँदैन । मेरो लागि ब्लू भेलवेट ब्लू भेलवेट हो र रियर विन्डो रियर विन्डो हो । तपाईं भन्न सक्नुहुन्छ कि सनसेट बुलेभार्ड वा रियर विन्डोले मेरो लागि एउटा विचार बनाईदिएको छ, तर जे होस् म तिनीहरूलाई प्रेम गर्छु वा उनीहरूबाट प्रेरित हुन्छु । जीवन २४/७ फिल्म हो । आइडिया त्यहीँबाट जन्मन्छ । यो भन्न गाह्रो छ कि अरुका फिल्म, मेरा फिल्मका आइडियाका सर्जक हुन् या हैनन् । मानसपटलमा करोडौं विचारहरू पौडिरहेका हुन्छन्, तपाईले मात्र त्यसलाई समात्नु पर्दछ ।

(अनुवादक : श्रीधर निरौला)