पहिलो चुम्बन (भाग – ७)

उसको र मेरो दुरि धेरै लम्बियो । भाउजूबाट खबर पाएँ कि अब उ काठमाडौ जाँदैछ भनेर । एक्कासि किन जाने भयो उ त्यति टाढा ? अनेक सवाल तेर्सिए मनमा तर जवाफ केही थिएन मसँग । उसँग भेटेर बोल्न नचाहेको नि होइन मैले, तर उ हरेक पल मलाई ईग्नोर मात्र गरिरहन्थ्यो ।

भाउजुले सबै कुरा सुनाउनु हुन्थ्यो मलाई उसको बारेमा । दशैमा घर जाँदा उसले आफ्नो परिवार सँग मेरो बारेमा कुरा गरेको रै’छ । धेरै बिरोध भयो रे, उसले म आमा हुने कुरा नि बताए पछि कुरा अलिकति मिलेको थियो रे ! उसको परिवार मलाई भेट्न आउने कुरा पनि रै’छ तर मेरो त्यो कदमले सबै कुरा बिग्रियो । मैले एबोर्सन गरेको खबर उसको परिवारले थाहा पाए पछि मलाई उसको घरमा बुहारीको रुपमा स्वीकार नगर्ने कुरा भएछ । भाउजुले सबै सुनाउनु भयो । मैले नि झल्यास्स सम्झिए उसले मलाई भनेको कुरा । मैले एबोर्सन गर्नु भन्दा अघिल्लो दिन दारेले फोनमा भनेको थियो मलाई ‘एउटा खुसीको खबर छ आएर सुनाउछु’ । मैले होला केही भनेर वास्ता गरिन । सायद त्यो खुसीको खबर त्यहि थियो होला – उसको परिवारले मलाई र हाम्रो बच्चालाई स्वीकारेको कुरा ।

म उसँग हरेक कुराको लागि माफी माग्न तयार थिएँ । उ सँग फेरि पहिले जसरि नै जिउन चाहन्थें । बस उसको दुखेको मनमा मेरो मायाको मलमले लगाएर निको पार्न चाहान्थे । तर उसले सुन्न, बुझ्न चाहेन वा चाहेर’नि नचाहे झै गर्यो । आमा सँग कुरा हुदा रुन्थें म । आमाले सम्झाउथिन् । गल्ती त मेरै हो, थाहा थियो मलाई पनि ।

तिहारको रमझम सुरु भएको थियो । सबै तिर झिलिमिली सुरु भएको थियो । आमाले घर आईज भन्नू हुदा नि म घर जान्थिनँ । सौतनी बाउको छोरालाई टीका लाउने चाहना कहिल्यै भएन मेरो । म पल्लो घरको दाईलाई टीका लाउथे । दाईको’नि दिदी बहिनि कोहि थिएनन् । आत्मीय र प्यारो पनि थियो त्यो परिवार ।

दारे कहिले काहीँ बाटोमा देखिन्थ्यो । पुरै अन्जान भएका थियौ । म उसलाई हेरेर अघाउदिन थिएँ, तर उ म तिर एक नजर नि हेर्थेन । छतमा कहिले काहीँ भेट हुँदा उ आफ्नो काम सकेर म तिर नहेरी जान्थ्यो । हाम्रो नाता कति अनौठो भैसकेको थियो ।

तिहार सकिए लगत्तै मेरो अफिस सुरु हुन्थ्यो । तिहार सधै मेरो बुटवलमै बित्थ्यो । भाउजूबाट खबर पाएँ, उ तिहारमा घर जादैछ भनेर । अनि उतैबाट काठमाडौ पनि जान्छ रे भनेको सुन्दा आकाश आफू माथी खसेझै भयो मलाई । तिहारको लागि उ मलाई खबरै नगरी घर गएछ । यता मैले’नि जसोतसो तिहार मनाएँ ।

तिहार पछि उहीँ दिनचर्या सुरु भो मेरो । केही थपियो त मात्र उसको बाटो हेर्ने काम । त्यतिकै मा एकदिन भाउजू बाट खबर पाएँ उसको काठमाडौ बसाई क्यान्सिल भयो भनेर । मन त चंगा झै उड्न थाल्यो । कुनै ठूलो उपहार परेर उफ्रे झै उफ्रिदै रमाएँ । मनमनै सोचें मेरो गल्तिले उ रिसाएको हो । मेरो छुच्चो दारे बाहुनलाई म आफैले फकाउछु र फेरि आफ्नै बनाउछु । उसलाई मैले छोटो लुगा लाएको मन पर्थेन, धेरै बेर बाहिर बसेको मन पर्थेन, धेरै लिपस्टिक लाएको मन पर्थेन…अब त्यहि त्यहि गर्न थालें म उसलाई जलाउन । फेसबुकमा पनि धेरै फोटो नहाल भन्थ्यो फोटोको बर्षात गराउन थालें । कमेन्टमा कोहि सँग मस्किनी होइन भन्थ्यो, म सबै सँग मस्किए झै रिप्लाई गर्न थालें । पहिले उसले नलगा भनेर थन्काएका छोटो कपडा सबै निकालेर धोएर ठिक पारें । अफिस जाँदा ड्रेसमा बाँकी अरु बेला बिना काम पनि म उसको कोठाको बाटो हिड्न थालें । उ प्राय जसो बरन्डा मै हुन्थ्यो । बाटोमा आउने जाने सबै देखिन्थ्यो । म उसलाई जलाउन त्यहि बाटो हिड्थे । कहिले काहीँ अफिसबाट सिधै कुनै पार्कमा गएर अबेर सम्म बस्थें र कोठामा ढिलो आउथें । त्यो पनि उसले थाहा पाउथ्यो । म ९ बजे फर्किदा पनि उ माथि बरन्डा मै हुन्थ्यो । आजकल म नि उसको वास्ता नगरे झै गर्थें । फेसबुकमा नि त्यहि थियो हाल ।

शनिवार लुगा धोएर छतमा सुकाएकी थिएँ, दिन भरी’नि म एक्लै फुलबारी गएर एउटा बेन्चमा बसेर बिताएँ । बेलुका ८:३०  बजे तिर आफ्नो रुम पुगें । उ बाहिरै थियो । परैबाट उसलाई देखेकी भएर वास्ता नगरेझै गरें । रुममा गएँ, खाना पकाउन अल्छी लाग्यो । चाउचाउ ल्याएकी थिएँ, त्यहि खाएँ । राती लुगा उठाउन माथी गएँ । लुगा थिएनन् त्यहाँ । भाउजूलाई बोलाएर सोधें । भाउजुहरु’नि तल बस्ने, म नि तलै बस्ने, म तलको बरन्डाबाट कुरा गर्थें भाउजू सँग । अलि बेस्सरी बोल्दा माथी दारेले मज्जाले सुन्थ्यो । भाउजुलाई लुगाको बारेमा सोधें । भाउजुले मलाई दुईवटा टिसर्ट, एउटा पाईन्ट र मेरो ब्रा पेन्टी मात्र दिनु भो । बाँकीको चार वटा छोटो टिसर्ट, ३ वटा हाल्फ़ पाइन्ट र एउटा वान पिस गाएब थिए । भाउजुलाई सोध्दा थाहा छैन भन्नू भो । कोठामा आएर सोचिरहें कता गए ती लुगा भनेर । कोठामा भएका अरु लुगा पनी खोजें कतै भेटिन । अचम्म परें । अनि बल्ल याद आयो । दारेसँग भएको मेरो कोठाको साँचो त अझै उहीँसँग छ नि । अरे वाह ! मेरो दारे ! माया त अझै कहाँ मरेको छ र । मनमनै सोचेर मख्ख परें । खुसीको सिमा रहेन । मोबाइलमा गित घन्काएर एक्लै नाचें । किनकी अब म पक्का भैसकेकी थिएँ कि मेरा सबै कपडा उसले लगेको छ । मेरो माया, मेरो दारे अझै सम्म मेरै रैछ, यति थाहा भो । अर्को दिन उ माथी हुँदा मैले आफ्नै घरबेटीलाई सुनाएँझै गरि लुगा चोरी भो भनेर सुनाएँ । दारे उता पट्टि दारा देखाएर हाँस्दै थियो । मनमा बल्ल शान्ति भयो । दारे बाँदरलाई गएर मज्जाले अँगालेर गाला टोक्दिम जस्तो हुँदै थियो मलाई चै । मेरो बानी थियो जहिले दारेको गाला टोक्ने । उसलाई मन पर्थ्यो मेरो टोकाई पनि । तर अलिकति गाह्रो थियो अहिले ।

एकदिन थाहा पाएँ त्यो घरको अर्को कोठामा दुईवटा केटिहरु नि बस्न आएका छन् भनेर । रिस उठ्यो । भाउजुलाई रिस पोखें, भाउजूले बाबा आमाले राखेको भनिन् । बिस्तारै बिस्तारै त्यो दुईवटा केटि मध्ये एउटि मेरो दारेको अलि बढी नै नजिक आए झै लाग्न थाल्यो । मेरो रिसको सिमा थिएन, त्यो केटिलाई देख्दा गएर जगल्ट्याम जस्तो हुन्थ्यो । नाम नि अनामिका रे ! जति बेला’नि संगै देख्थें । मनले ठाउँ छोडिसकेको थियो । रिसले एक्लै मुर्मुरिन्थें म । दारे नि खुब मस्की मस्की बोल्थ्यो । देख्न सक्दिन थिएँ म । रिसाउदै कोठामा आउथें । दिनहरु चल्दै थिए । त्यतिकैमा एकदिन यति नराम्रो खबर पाएँ की म चिच्याएर थुचुक्कै बसेछु । आकाश मेरै टाउको माथी बजारिए झै होस नै हरायो मेरो । खबर थियो – मेरो …..

बाँकी अर्को भागमा …