‘आमा’ मा नारी बिद्रोह

- दिक्षा कट्टेल

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ महिलाको कथामा बनेको फिल्म हो । अस्पतालको बिषय जस्तो लागे पनि यस फिल्मले चार महिलाको छुट्टाछुटै ब्यथा बोलेको छ । फिल्मको अन्त्य सम्म आई पुग्दा ‘महिला मन’ एक भएको छ । फिल्मले नेपाल जस्तो देशमा देखिने महिला प्रतिको विभेदका लागि परिवार र समाज मात्रै नभएर अस्पताल जस्तो संबेदनशील क्षेत्रमा समेत विभेद देखाईएको छ ।

फिल्ममा श्रीमती, आमा र सन्तान वीच देखिने बैचारिक असमानता समेत देखाइएको छ । फिल्मको सुरुवाती चरणमा नै जव बिरामी अस्पताल भर्ना गरेर शल्यक्रियाको समय आउछ, जिम्मेवार व्यक्तिको रुपमा छोरी ‘आरती’ ले जिम्मा लिन खोज्दा श्रीमती मनले जितेर ल्याप्चे लगाइन्छ । यसो गर्दैगर्दा छोरी, त्यो पनि विवाहित भएकै कारणले जिम्मेवारी दिन नखोजेको देखिन्छ । सर्वविधित नै छ, त्यो स्थितिमा ‘छोरो’ सन्तान त्यहाँ भएको भए आमा आफैले सम्पूर्ण जिम्मा छोरालाई लगाउने थिइन् । त्यति मात्रै होइन, अस्पतालमा पैसा तिर्न सुरुबाट नै आमा आफै अघि सर्छिन् । ‘अर्काको घर पठाएकी छोरी’ को भावनाले हुन सक्छ ज्वाईं अगाडी हुदा हुदै समेत आमाले थैलीबाट पैसा निकालेकी । त्यही स्थितिमा ज्वाईं जस्तै गरेर ‘त्यो त खै’ भनेर, बुहारी कदापि पन्छिन पाउदिनन् । अन्त तीर, जब पैसाको कमि हुन्छ, तब छोरीको हातबाट पैसा लिदै गर्दा आमाको शिर ग्लानीले झुकेको छ । तिमीहरु घर गएर सुत, औसधि लिन म जान्छु, म छु त तिमीहरु आफ्नो काम गर, हुदै लास रुङन समेत त्यहि बुढी बस्नुको पछाडीको एकै कारण छोरा र छोरीमा गरिने विभेद नै हो । पराया धन, अर्काको सम्पति जस्ता शब्दलाई आमा र ज्वाईको व्यवहारले पुस्टि गरेको छ ।

फिल्म हेर्दै गर्दा, आमाको चासो छोराछोरी भन्दा पनि श्रीमान प्रति धेरै नै छ । हुन त बिरामी श्रीमान बोकेर शहर आएकी उनको पहिलो जिम्मेवारी श्रीमान नै हुन् । तर यस भित्र पनि, आफ्नो जागिर समेत छोडेर सेवामा तल्लिन छोरीको भन्दा पनि उनलाई फर्केर नआउने पक्का भैसकेको छोराको चासो बढी छ । बिरामी बाबुको त झन् कुरै छोडौ जीवनको अन्तिम कालमा आँखा अगाडी उभिएर हालचाल सोध्दै गरेकी छोरीलाई बेवास्था गर्दै, उनका आँखा ढोकामा अडिएका छन् । दागबत्ती दिने छोरोको प्रतिक्षामा जीवन बचाउन साथ दिने छोरी भन्दा, बैतर्नी तार्ने छोरो प्रतिको मोह धेरै नै छ । यो सब देखिरहदा छोरीको अनुहारमा आएको परिवर्तनले शब्द प्रयोग नै नगरी गज्जबले बुझाएका छन्, निर्देशकले । त्यसमा कलाकारको हैसियतले सुरक्षाको भूमिकाको शब्दमा बयान गर्न सकिदैन ।

नेपाली समाजमा विवाह हुनासाथ सन्तानको अपेक्षा गरिन्छ । आपसी सहमतिमा नै सन्तान ढिलो भएको भए त बाहिरी पक्षलाई जोडीले बेवास्था गर्दै आफ्नो तरिकाले अगाडी बढ्थे होला । तर, आरतीको जोडीको केसमा भने त्यस्तो पनि छैन । उनीहरुले सन्तान अपेक्षा गरेर पटक पटक ‘टेस्टट्युव बेबी’ प्रयास गरेका छन् । तर अफसोस सफल हुन सकेको छैन । आमा बन्न नपाउनुको पिडा एक ठाउमा छ । श्रीमान, परिवार र समाजको विभेद झन् मन नै कुडाउने छ । बुढी सासुले पटक पटक गर्ने प्रहार, बुहारीलाई मात्रै नभएर नातीलाई समेत हुने गरेको छ । श्रीमानको नजानिँदो प्रहारले भने उनलाई धेरै नै कम्जोर बनाउछ । अस्पतालमा गर्भवती महिलालाई उनले हर्दा उक्त जोडीले गरिएको व्यवहार मन कुड्याउने छ । तर यो नै हाम्रो समाजको वास्तविकता हो । आरतीको व्यवहारमा देखिएको रूखोपन वास्तवमा रुखो होइन । यो त बस, आफु भित्र भएको पीडा लुकाएर सामान्य देखिने प्रयास मात्रै हो । सबै मिलेर कम्जोर बनाउदै छन् । त्यसो भन्दैमा हिम्मत हारेर आत्महत्या रोज्न पनि त सकिदैन । फेरी सबै पीडा मन भित्र राखेर बाच्न पनि गारो । यो स्थितिमा देखाउने भनेको ‘रिस’ नै त हो ।

अन्तर जातीय र धर्म समेत फरक बनाएर गरिएको सरिता गिरीको विवाह, र त्यो पछीको सम्बन्धलाई भने मेकरले बेवारिसे बनाएर छोडेका छन् । तर यो सम्बन्धले समेत नेपाली महिलाको स्थिति चित्रण गरेको छ । ‘साबै छन्, तर कोहि पनि छैनन्’ को गहिरो अर्थ छ । दुवै परिवारको साथ नहुनुको पीडा भन्दा ठुलो पीडा त गरिवीले जन्माएको छ । गर्भावस्थामा छोडेर हिडेका श्रीमान, कलिलो बच्चा बिरामी पर्दा श्रीमतीलाई साथ दिन समेत आउन सकेका छैनन् । सन्तान जन्माउनुको खुसि त छ, तर हातमा नै पर्न नपाइ भेन्टिलेटरमा राखिएको बच्चा हेरेर धित मरुन्जेल रुने काध सम्म छैन । उनको यो स्थितिमा आफ्नै छोरीको निसन्तानपन प्रति असन्तुस्ट आमाको मन पग्लिनु अलिक अनौठो लाग्छ । तर ‘आमाको मन न हो पग्लिन्छ नि’ भनेर भन्न सकिन्छ । पटुका, खजुर, पैसा र सानो तिनो साथ महिला प्रकृति पनि हो, सहजै नजिकिने र दुख देख्न नसक्ने ।

बुढी सासु ‘लक्ष्मी भुषाल’ हालको नेपाली समाजको वास्तविकता हुन् । सन्तान विदेशमा भएको कारण अधबैसे जोडी नेपाल भन्दा विदेशमा नै बस्ने गर्छन् । ‘थाङने भिषा’ मा विदेश गएका आरतीका सासु ससुराको अनुपस्थितिमा बुढीसासुको जिम्मेवारी उनीहरु माथि नै छ । लक्ष्मीको अभिनयमा कुनै पनि बनावटी पन छैन । उमेर घर्किदै जादा बिना कारण निहु खोज्ने, उल्टो कुरा गर्ने मानवीय स्वभाव नै हो । फेरी गाउँमा छरछिमेक खेत बारीमा रमाउने उनी, काठमाण्डौको एउटा कोठामा सिमित हुन बाध्य छिन् । अनुभव सेयर गर्नुपर्ने उमेरमा उनी एक्लै बस्न बाध्य छिन् । पुरानो चलन न हो, उनी आरति माथि बुहार्तन थोपर्न खोज्छिन् । तर मोडर्न कामकाजी महिला भएको कारण उनको यो व्यवहारको प्रतिउत्तरमा आरतिको रिस देखिन्छ ।

फिल्ममा पुरुष पात्रलाई भने कमजोर देखाईएको छ । तर बिना कुनै संलग्नता उनीहरुलाई परिस्थितले ठुला देखाइ रहेको छ । दृश्यमा नदेखाएर पनि आरतीको अमेरिका भासिएको दाजु, ससुरा, सरिताको श्रीमानको उपस्थिति देखाइएको छ । फिल्ममा यस्ता धेरै दृश्य छन्, जहाँ बोलिएको छैन तर हेरेर बुझ्न सकिन्छ । फिल्म हेर्न कै लागि हो भन्ने भान हुन्छ, ‘आमा’ हेर्दै गर्दा ।

बाबुले ढोकामा हेरेको दृश्य, आरतिले जागिर छोड्ने समय श्रीमानलाइ नासोध्दा गरिने व्यवहार, मेरो परिवारको बिषयमा नबोल भन्नु, खाना बनाउन पर्यो भनेर झर्किएको व्यवहार देखि भाडा नसकिउन्जेल सम्म नमाझेको दृश्य, छोराको लागि भनेर खर्चिएको जागिरको पैसा र ऋण लिदा राखिएको घर जग्गा, पटक पटक छोरोलाई गरिएको फोन र अस्पतालमा भन्ने गरिएको ‘छोरा चै छैन’ ले पितृसतात्मक सोचको झल्को दिन्छ । मिथिलाले धेरै पटक श्रीमानको खुट्टा छोएकी छन् । यसले समेत नेपाली समाजमा अझै पनि महिलाको स्थान तल रहेको देखाउछ भने उनले अन्तिममा मुसारेको दारीले श्रीमान प्रतिको प्रेम र अन्तिम छुवाई देखाउछ ।

पहिले सन्तान बन्छु, अनि आमा भन्दै गर्दा नातीको बिरुद्धमा गएर बुढीसासुले गरको व्यवहार, आमाले अन्जान महिलालाई दिएको पटुका र खान्न भनेर झर्किदै पीडा लुकाउन नासकेर अँगालोमा बाधिएर रोएको दृश्यले महिलालाई महिलाले नै बुज्छ भन्ने देखाउन खोजिएको छ ।

सन्तानको लागि जम्मा गरेको सम्पति बाबुको लास निकाल्न प्रयोग गरेकी आरतिको यो कदमसंगै अस्पतालमा रहदा विभेदलाइ बेवास्था गर्दै निभाएका भूमिका र अन्तमा रजस्वला भएकै अवस्थामा कपाल खौरिएर कृया बसेर गरेको सामाजिक संरचनाको बिरोध सम्मान गर्न लायक छ । महिलाबादी हुँ भनेर वकालत नै नगरी उनले समाजलाई च्यालेन्ज गरेकी छन् । त्यस्तै नवजात शिशुको नाम मात्रैले पनि परिवर्तन बोल्छ, ‘अब्राहम थापा खान’ ।

अस्पतालको आन्दोलन, धर्मको नाममा ब्यापार, ठुलाबाको कतार बस्ने छोरोको सहयोग, नेपालीको विदेश मोह, अस्पतालमा मृत व्यक्तिलाई राखेर खर्च बढाउदै गरेको स्थिति हालको नेपाल वास्तविकता नै हो । हिडेर गएको छोरोको अमेरिका मोहमा धेरै नेपाली फसेका छन् । तर समाजमा अझै पनि जुनियर डाक्टर र ठुलाबाको छोरो जस्ता व्यक्तिको समेत अभाव नै चै छैन है, भनेर देखाईएको छ ।

तनावग्रस्त अस्पताल, विवाह गरेकै कारण पुरा समय माइतमा दिन खोज्दा आउने अप्ठ्यारा, सन्तान नभएकै कारण गरिने व्यवहार, पाइपले घेरिएको नवजात शिशु, आमाले फुकालेको तिलहरी, लाशमाथि मुसाको रजाई र अन्तमा कपाल खौरिदै गरेको दृश्यले जो कोहिलाई भावुक बनाउछ ।

समग्रमा फिल्म चार नेपाली महिलाको फरक स्थितिको चित्रण हो । घुमाउरो तरिकाले समकालीन नेपाली समाज माथि झापड हानेको छ ।

 

२०७६ फागुन २५ गते १२:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *