‘उपहारको पद बहिस्कार गरौँ’ नायिका रेखा थापा

११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलाहरु सचेत र सक्षम मान्छे भएर बाँच्न सक्नुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नायिका थापाले यस विषयमा बिचार ब्यक्त गरेकी हुन् ।

उनी भन्छिन्, ‘महिला हाम्रो पहिचान हो । यही पहिचानका आधारमा विभेद खेप्नुपर्ने ? हेपिनुपर्ने ? थिचिनु पर्ने ? कुनै कारण छैन । संसददेखि सडकसम्म महिलाहरुलाई उपहारको वस्तुका रुपमा लिनुको कारण के हो ? स्वयं हामी महिलाहरु आफू सक्षम बन्न सकेनौं कि ? यसमा हाम्रो ध्यान जान जरुरी छ। अपवाद बाहेक संसददेखि सडकसम्म हामी महिलालाई दर्शकको रुपमा उपस्थिति गराइन्छ । संसदको लागो गलायो, लिपिस्टिक लगायो। संसदमा गयो, तालि बजायो, बस्यो । यसरी महिला मुक्ति हुन्छ? हामी जहाँ छौँ त्यहाँ प्रभावकारी भूमिका खेल्नुपर्छ । व्यक्तिगत रुपमा मैले यो कुरा भनिरहेकी छैन । बजारका महंगा होटलहरुमा महिला मुक्तिका बारेमा चर्को स्वरले बोल्दैमा ति गाउँवस्तिका मानिसहरुको जीवनको वास्तविकता सम्बोधन हुँदैन, भइरहेको छैन। कारण त्यहि हो हामी उपहारको पदको आस गरिरहेका छौं । हामीभित्र डर छ। त्यो डरलाई हटाउन सक्नुपर्छ। नेपालमा पुरुषभन्दा महिला बढी छौं । हामीले नै मतदान गरेर पुरुषलाई जिताउनु पर्छ। अनि हामीले नै कोटा रोज्नुपर्ने ? यो चलन कहिलेसम्म ? यो सब के का लागि ? यदि हामीलाई साच्चै महिला मुक्ति चाहिएको हो भने, यदि हामी महिला अधिकारका लागि लडिरहेको दाबी गर्छौ भने आगामी चुनावमा मतदान वहिष्कार गरेर हेरौं । मातृ सत्ताको आवश्कता हो भने प्रत्यक्ष निर्वाचित महिला राष्ट्रपति वा प्रधानमन्त्री जे सुकै भए पनि चुनाव लडेर संसदमा पुगौं । दया गरेर दिइने पद चाहिदैन भन्न सकौं। हामीले यो कुरा भन्न  सक्ने कि नसक्ने ? ‘

उनले अन्तमा भनिन्, ‘हामी पुरुषसँग बराबरी हुन चाहन्छौ भने यस्ता नारी दिवस नमनाऔं । हामी आफूलाई परिमार्जित गर्न सकौं । लडेर भिडेर चुनौतीको सामना गरेर पुरुषसँग प्रतिष्पर्धा गरौं । मेरो भन्नु यत्ति हो कि संसददेखि सडकसम्म छोरीलाई छोरी बन्नको लागि तालिम दिईन्छ । यो एक कुप्रथा हो, यसको अन्त्य गरौं । तालिम बन्द गरौं । खास पीडित महिला गाउँमा छन् । उनीहरुलाई न त राज्यले छोएको छ । न त कानूनले सम्बोधन गरेको छ।’