“डरबाट मुक्ति पाउन गाह्रो छ” – बोन जोन हो

बोन जोन हो साउथ कोरियन फिल्म निर्देशक हुन् । यस पटकको अस्कर अवार्डमा पहिलो पटक विदेशी भाषी फिल्म प्यारासाइट ले उत्कृष्ट फिल्म विधा सहित अरु तिन विधामा अस्कर हात पार्यो । उक्त फिल्मका निर्देशक बोन जोन हो सँग फेब्रेवरी महिनामा टक्स  म्यागजिनले लिएको अन्तर्वार्ताको अनुवाद –

बोन जी तपाइँका फिल्महरू डार्क ह्युमरका लागि निकै नै रुचाइन्छ र समय समयमा फिल्मको बाहिरी आवरणमा कुटिलता पनि हुन्छ । के तपाईं आफूलाई निराशावादीको रूपमा वर्णन गर्नुहुन्छ ?

मलाई लाग्दैन कि म हरेक बिन्दुमा निराशावादी छु । तर म हाम्रो अगाडि उभिएको यथार्थप्रती इमानदार हुन चाहन्छु । प्यारासाइट बनाँउदा, मेरो सोच यो थियो कि – हामी मानवजातिले यति ठूलो विकास प्राप्त गर्यौ जस्तै मोबाइल उपकरणहरू जुन हामी अगाडि देख्न सक्छौँ । तर यदि हामी विगत ३० बर्षको बारेमा सोच्दछौं भने, के धनी र गरिब बीचको खाडल पुरिएको छ त ? वास्तवमा छैन । मेरो आफ्नै छोरो छ, तर मलाई लाग्छ उसको पुस्तामा पनि सबै चीजहरू सुधार हुने छैँन । जुन कुरा सोच्दैखेरी डर लाग्छ । त्यसैले म त्यो डर र उदासीको साथ इमानदार हुन र वास्तवमै भन्ने हो भने त्यही प्रस्तुत गर्न चाहन्थें ।

त्यो डरले आजका दिनमा मात्र तपाईंलाई धेरै सताएको हो कि, पहिल्यैबाट यसको बारे सोच्नुहुन्थ्यो ?

फिल्मको कथाको आइडिया त मैले सन् २०१३ बाट नै सोच्न थालेको हो , जुन् ६ वर्ष भैसक्यो । तर त्यतीखेर पनि गरिब र धनी बिचको आर्थिक ध्रुवीकरणको भिन्नता त्यति फरक थिएन । म स्नोपियर्स को पोस्ट प्रोडक्शनमा काम गर्दै थिएँ, जुन फिल्म वर्ग भिन्नता र वर्ग संघर्षको बारेमा पनि हो, जहाँ धनी र गरिबहरू ट्रेनको फरक फरक डिब्बामा बस्ने हुन्छन् । यसबाट यो भन्न मिल्छ कि म मा वर्ग भिन्नताको विचारको पकड पहिल्यैबाट थियो ।  तर प्यारासाइट मा, म आफ्नो छरछिमेकको र आफ्नो दैनिक परिवेशको कथा भन्न चहान्थेँ ।

तपाईं फिल्म र टेलिभिजनमा देखिने कोरियाली परिवारहरूको स्टिरियोटिपिकल छवि चित्रण गर्न चहान्नुहुन्न थियो ।

हो । प्राय कोरियाली टिभी कार्यक्रम र टेलिसिरियलहरुमा  परम्परागत खलनायकहरू यति स्पष्ट रूपमा लोभी हुन्छन् कि उनीहरू आफू मुनि भएका मानिसहरूलाई हिंस्रक र क्रुरताका साथ व्यवहार गर्छन् र तिनीहरूलाई कुचल्छन् । सन् १९९५ मा जब मैले पहिलो पटक मैथियु कससोभित्जको फिल्म ला हेन हेरेको थिएँ, पेरिसजस्तो विलासिताको सहरमा बान्लीउ जस्तो गरिब ठाँउको अस्तित्व देखेर म छक्क परेको थिएँ । सन बेकरको फिल्म फ्लोरिडा प्रोजेक्ट पनि अर्को उदाहरण हो । कोरिया निकै नै सम्पन्न र अधिक विकसित देश हो तर जब कुनै देश यति धनी हुन्छ, अपेक्षाकृत रुपमा त्यहाँ धनी र गरिब बिचको अन्तर बढ्छ ।

दुर्भाग्यवस, यो वर्ग संघर्ष विश्वको लगभग सबै ठाउँमा अपरिहार्य देखिन्छ ।

निश्चित रुपमा वर्गसंघर्ष सबै देशमा विद्धमान छ । त्यहाँ विभिन्न वर्गहरू बीच समझदारी, सहानुभूति र वार्तालाप हुन सक्छ, तर मलाई लाग्छ कि सो ठाउँमा प्यारेसाइट फिल्ममा जस्तै घटना घटित हुन सक्छ । धनी र गरिब बिचको खाडलबारे हामी सबै सचेत छौं र यो ज्यादै दुख र भयावह कुरा हो । अझ भनुम् दुख भन्दा नि धेरै यो भयावह कुरा छ, जुन मैले अघि नै उल्लेख गरेको डर हो जुन भविष्यमा  हाम्रो सन्तानको पुस्तामा पनि समाधान हुँदैन । यो यस्तो चीज हो जुन हामी सबैले महसुस गर्छौं तर यसबाट छुटकारा पाउन धेरै गार्हो नै छ ।

तपाईंले कसरी तपाईंको फिल्ममा डर र भावना यथार्थपरक रुपमा देखिएको छ भनेर पक्का गर्नु हुन्छ ? के यो अभिनेताहरूको भावनाहरूमा मात्र निहित छ ?

जब म निर्देशकको रूपमा अभिनेताहरूसँग कुरा गर्छु, म हरेक परिस्थितिलाई सरल बनाउन प्रयत्न गर्छु, ताकि मेरा कलाकारहरुले सो परिस्थिती भावनात्मक हिसाबले लिन सकुन् । “यदि तपाईंले स्क्रिप्टको विश्लेषण गर्नुभयो भने, यो ठाँउमा चाहीँ राजनीतिक टिप्पणी पाउनुहुन्छ” जस्ता कुरा चाहीँ म कलाकारहरुसँग गर्दिनँ । यसको बारेमा छलफल गर्न आवश्यक छ भन्ने लाग्दैन मलाई । म कस्तो कुराहरु भन्छु  भने “के तपाईलाई यो पात्र देखेर माया लाग्दैँन ?” यस्तै कुराहरुबाट उनीहरुलाई आफ्नो भूमिका निभाउन मद्दत गर्दछ । तर मेरो विचारमा फिल्मको सफलताको लागि चरित्र वा कास्टिङ्ग जस्तै लोकेसन पनि निकै नै महत्वपूर्ण छ ।

अर्थात् ?

जब मैले छायांकनको लागि उत्कृष्ट स्थान फेला पार्छु या यसको बारेमा सोच्छु, आफ्नो फिल्मको लागि महान् अभिनेता भेटेझैँ उत्साहीत हुन्छु । उदाहरणका लागि, मेरो अघिल्लो फिल्म ओक्जा मा कथा कोरियाको पहाडी गाँउबाट सुरू भएर अमेरिकाको न्यूयोर्कको वाल स्ट्रिटमा अन्त्य हुन्छ । भिन्न महादेश पार गर्ने यात्रा लामो थियो । तर प्यारासाइट एउटा रंगमञ्चिय नाटक पनि बन्न सक्थ्यो । कथाको ९० प्रतिसत दृश्य दुईवटा घरमा सिमित छ । निश्चित रुपमा सो चुनौँती मैले पहिला कहिल्यै सामना गरेको थिईनँ । भर्टिकल लोकेसनको भावना यस फिल्मको लागि धेरै महत्त्वपूर्ण थियो, जबकि स्नोपियर्स का लागि, होराइजेन्टल लोकेशन निकै नै महत्त्वपूर्ण थियो ।

तपाईंले अनलाइन स्ट्रिमिंग भिडियो प्याल्टफर्म नेटफ्ल्क्सिको लागि बनाएको फिल्म ओक्जा को प्रदर्शन पछि तपाइँ फेरि थिएट्रिकल फिल्म निर्माणको लागि फर्कदा खुसी हुनुहुन्छ ?

जब हामीले ओक्जा बनायौं, सो फिल्मको छायाँकार र मैले यो सल्लाह गर्यौं कि, हामीले कसरी मोबाइलमा फिल्म हेर्ने मान्छेलाई आफ्नो स्मार्टफोनमा फिल्म हेर्नबाट निरुत्साहीत पार्ने भनेर । हामी चाहान्थ्यौँ, उनीहरूले यस्तो महसुस गरुन् कि उनीहरूसँग हलमा फिल्म हेर्न जानु बाहेक अरू कुनै विकल्प नहोस् भन्ने या कम्तिमा यो फिल्म हेर्न ठूला पर्दामा प्रोजेक्टर प्रयोग गरुन् । हामीले फिल्म खिच्दा धेरै एक्सट्रिम लङ्ग सटहरु खिच्यौँ ताकि मोबाइलमा फिल्म हेर्दा पात्रहरु निकै सानो देखिउन र दर्शकहरुसँग सो फिल्म ठुलो पर्दामा हेर्ने भन्दा अर्को विकल्प नहोस् भनेर । त्यसअर्थमा, मलाई अन्लाइन स्ट्रिमिंग नराम्रो हैन जस्तो लाग्छ । नेटफ्लिक्ससँग काम गर्ने मेरो चाहना अझै छ ।

फिल्मको क्यानभासको हिसाबमा तपाईंलाई आफ्नो धरातल र्किएझैँ लागेको छ पनि ? दुबै ओक्जा र स्नोपियर्स ठूलो बजेटको फिल्म हो, जबकि तपाईले इन्डिपेन्डेन्ट फिल्महरू बनाउँदा सफल क्यारियरको आनन्द लिनुभयो ।

मेरा विगतका फिल्म मदर, मेमोरिज अफ मर्डर हरुझैँ म पून: सानो क्यानभास र सानो लगानिको फिल्ममा फर्किएकोझैँ लाग्छ । सानो फिल्ममा फर्केर आउँदा मलाई धेरै नै शान्ती महशुस भयो र मैले फिल्मको डिटेलिङमा अझ बढी ध्यान दिन सक्ने महसुस गरें । स्नोपियर्सओक्जा फिल्म निर्माण बजेट ठुलो थियो । ठुलो बजेटको फिल्ममा निश्चय पनि मैले निर्देशकको रूपमा अन्य चीजहरू आफ्नो शक्ति खर्च गर्नुपर्ने थियो । उदाहरण को लागि, ठुलो सुंगुरको सटहरु मात्र ३२० वटा थिए । उक्त सटहरुको भिजुवल इफेक्टमा मैले धेरैनै आफ्नो उर्जा खर्च गर्नु पर्यो । तर प्यारासाइट को निर्माण क्रममा मेरो हरेक ऊर्जा फिल्मको पात्रहरु र डिटेलिङमा प्रयोग गर्न पाएकाले म खुशी छु ।

तपाईंको फिल्मको कुन विवरणले तपाईंलाई विशेष रुपमा गर्ववान्वित महशुस बनायो ?

म धेरै नै नाजुक र विस्तृत फिल्म निर्माण गर्न चाहन्थेँ, जुन हेर्दा दर्शकले फिल्म भित्रको एक एक पात्र सुँघ्न सक्ने भान होस् । म आफूलाई जनरा (विधा) निर्देशक मान्दछु । मलाई लाग्छ कि जनरा फिल्महरूमा राजनितीको छिटा पर्ने सम्भावना धेरै हुन्छ र साइ–फाई विधाको चलचित्रमा त त्यो परम्परा छँदै छ । दुबै स्नोपियर्सरओक्जा साइ–फाई फिल्मका रंगहरू थिए  र तिनीहरू निकै नै राजनीतिक फिल्महरू थिए । प्यारासाइट को कथाको मूलत आधार … यो गरिब र धनीहरूका कथा हो त्यसैले भन्न सकिन्छ कि यो फिल्म शुरूवातमा नै राजनीति छ । तर म चाहन्थें कि यो फिल्म केवल राजनीतिक टिप्पणीको रूपमा अन्त नहोस् ।

हिजोआज जनरा फिल्महरु निकै नै लोकप्रिय छन् । किन होला ?

हो र ? म समालोचक नभई  जनरा फिल्म निर्माण गर्ने निर्देशक भएको कारणले  यो सुन्न पाउँदा खुसी लागेको छ । म जनरा फिल्मको ठुलो प्रशंसक हुँ । म आफु भने प्राय जनरा फिल्मको शैलीलाई मोड्न र तोड्न रुचाउने भएता पनि जनराको सीमाना भित्रै काम गर्छु । जनरा फिल्मले एउटा छुट्टै विशेष खालको सिनेम्याटिक उत्साह दर्शकलाई प्रदान गर्छ । जनरा फिल्मको मलाई मन पर्ने विशेषता नै यही हो ।

 

(अनुवादक : श्रीधर निरौला)