कोरोनाको कारण ‘नीरफूल’ रिलिज स्थगित

विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण चैत ७ गते रिलिज हुने भनिएको फिल्म ‘नीरफूल’ को रिलिज स्थगित गरिएको छ । निर्माण टिमले एक मंगलबार विज्ञप्ति मार्फत उक्त जानकारी दिएको हो ।

विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला आफुहरुले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको लेखिएको छ । विज्ञप्तिमा भनिएको छ -‘विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ साथै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने बताइएको छ ।

संचारकर्मी तथा कवि फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’ को हालै ट्रेलर रिलिज गरिएको थियो । महाभुकम्पमा विछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्म सेलो प्रोडक्सनले फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल संगको सहकार्यमा निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ गरेका हुन् । फिल्मलाइ गोविन्द शाही र मनोज राठीले वितरण गर्ने छन् ।