कोरोना प्रभाब : ‘मुलान’, ‘अ क्वायट प्लेस -२’ लगायतको रिलिज स्थगित

कोरोना भाइरसको कारण ‘मुलान’ र ‘अ क्वायट प्लेस -२’ को रिलिज हालको लागि स्थगित गरिएको छ । भाइरसको कारण मानिसहरु हल सम्म जाने बाताबरण नभएको र यसले फिल्मलाइ अर्थिक रुपमा पनि क्षति हुने भएकोले रिलिज स्थगित गरिएको हो ।

डिज्ने को फिल्म ‘मुलान’ ले आफ्नो बाबुलाई बचाउन युद्धमा होमिएकी एक युवतीको कथा भन्छ । फिल्मकी मुख्य नायिका चिनिया हुन् र सबै कलाकारहरु पनि एशियाकै छन् । यहि कारणले फिल्मले चिनमा राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको थियो । तर चिननै भाइरसको केन्द्रबिन्दु भएपछि डिज्ने को सबै योजना चौपट भएको छ । ‘मुलान’ को युरोपियन रेड कार्पेट पनि भाइरसकै कारण स्थगित भएको थियो । २०० मिलियन डलर भन्दा बढी बजेटको यो फिल्मकी निर्देशक निकी कारो हुन् । फिल्म मार्च २६ मा रिलिज हुनेवाला थियो । फिल्मको नयाँ रिलिज मिति निश्चित गरिएको छैन ।

डिज्नेले धेरै अघि देखि पोस्टप्रोडक्सनमा अड्किएको आफ्नो सुपरहिरो फिल्म ‘न्यु म्युटेन्टस्’ र स्कट कुपर निर्देशित हरर फिल्म ‘एन्टलर्स’ को रिलिज पनि अनिश्चित भएको बताएको छ ।

त्यसैगरी प्यारामाउन्ट पिक्चर्सले मार्च १८ मा रिलिज गर्ने भनेको फिल्म ‘अ क्वायट प्लेस -२’ को रिलिज स्थगित गरेको छ । प्यारामाउन्टकै रोमान्टिक कमेडी फिल्म ‘द लभबर्ड्स’ को रिलिज पनि स्थगित गरिएको छ । फिल्म अप्रिल ३ मा रिलिज हुदैथियो । अब दुवै फिल्म कहिले रिलिज हुन्छ भन्ने निश्चित छैन ।

युनिभर्सल स्टुडियोको फिल्म ‘फास्ट एण्ड फ्युरीयस -९’ को रिलिज त झन एक वर्ष धकेलिएको छ । आउँदो मे २२ मा रिलिज मिति तोकिएको फिल्म अब भने सन् २०२१ को अप्रिल २ मा रिलिज हुनेभएको छ ।

‘रिभरडेल’ सीरिज को चौथो सिजन, ‘ग्रेज एनाटमी’ को १६ औ सिजन, नेटफ्लिक्स को ‘रसियन डल’, ‘द प्रोम’, ‘ग्रेस एण्ड फ्र्यांकी’ लगायतको प्रोडक्सनको काम पनि स्थगित भएको छ ।