सर्ट फिल्म मेकर पौडेलको निधन

नेपाली वृत्तचित्र निर्देशक मिलन पौडेलको निधन भएको छ । गत मंगलबार होली खेल्न साथीहरुको साथमा दिल्लीबाट ऋषिकेश पुगेका मिलन पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुबेका थिए । उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका उनका अर्का साथी तुषार कौशिकको समेत निधन भएको छ । प्रहरी रिपोर्ट पछि खोजी क्रममा दुई विद्यार्थीको शव फेला परेको हो । नदीमा हेलिएका अरु २ जना विद्यार्थी भूमिका र साहिललाई भने एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेको भारतीय संचार माध्यममा उल्लेख छ ।

वृत्तचित्र तथा छोटा फिल्ममा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत थिए । पछिल्लो समय भने उनी दिल्लीमा भड्किएको धार्मिक दंगाको भिडियो खिच्नमा व्यस्त थिए । काठमाडौं विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेका मिलन २ वर्षयता जामियामा स्नातकोत्तर पढ्दै थिए । पछिल्लो समय फिल्म मेकरको रुपमा परिचय बनाउदै गरेका उनको सानै उमेरमा निधन भएको हो ।