अदालतको आदेश पछि लोकदोहोरी गायक प्रकाश कटुवाल थुनामा

कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिईएको हो । उक्त आदेशपछि कटुवाललाई जिल्ला कारागार चलान गरिएको छ । कटुवाललाई तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

पोखरा जाने क्रममा फागुन २ गते गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि वान्ता गरिन्, त्यसपछि त्यहि निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन भयो । सोही दिन साँझ घरमा बसिरहेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जनाले एक्कासी रडले आक्रमण गरेका थिए ।आक्रमण बाट घाइते भएका गुरुङलाइ काठमाडौँमा उपचार गरेर घर लगिसकिएको छ ।

कटुवालका ‘ढाडे बिरालो’, ‘फुल फुल्यो केशरी’, ‘छेकेन जामाले’ लगायतका गीतहरु चर्चित छन् ।