जेमिना श्रेष्ठ मिस नेपाल ओसियाना : मिस नेपालमा प्रवेश पक्का

मिस नेपाल ओसियाना २०१९ को उपाधि जेमिना श्रेष्ठले जितेकी छन् । शनिबार साँझ अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल प्रतिष्प्रर्धामा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै जेमिनाले उक्त उपाधि जितेकी हुन् । योसँगै जेमिनाको बाटो अब मिस नेपाल २०२०को टप २० मा प्रवेशका लागि खुल्ला भएको छ ।

अन्तिम राउण्डमा निर्णायक मण्डलले सोधेको ‘युवाहरुमा अहिले देखिएको एउटा समस्या के हो र यसलाई तपाईले कसरी समाधान गर्नुहुन्छ’  प्रश्नको जवाफमा ‘अहिलेको युवापुस्तामा डिप्रेसन जस्ता मानसिक स्वास्थ्यको समस्या विकराल छ । यसलाई सुधार गर्ने हो भने यसप्रति मानिसको धारणा परिवर्तन गर्नुपर्छ।’ भन्ने जवाफ दिएर उपाधि हात पारेकी हुन् ।

यस्तै मिस नेपाल ओसियानाको फष्ट रनरअप अंसिका शर्माले जितिन् भने सेकेण्ड रनरअपको टाज रेश्मी गुरुङले उचालिन् । २३ वर्षकी शर्मा अष्ट्रेलियामा सेल्स एनालिष्ट हुन् भने २२ वर्षकी गुरुङ नर्स । शर्माले पब्लिक च्वाइस र गुरुङले मिस क्याटवाकको टाइटल समेत जितेकी छन् । २३ वर्षीया जेमिना अस्ट्रेलियामा सुपरभाइजरको काम गर्छिन् । विजेता जेमिनालाई सन् २०१९को मिस नेपाल ओसियाना तथा मिस नेपाल अनुष्का श्रेष्ठले ताज लगाइदिएकी थिइन् । गत वर्ष मिस नेपाल ओसियानाका विजेताले सिंधै टप२० मा प्रवेश पाएपछि मिस नेपाल नै बन्न सफल भएकी थिइन् ।