डान्सिङ विद नेपाल स्टारको घोषणा, प्रतियोगीमा ऋषि धमलादेखि मिस नेपालसम्‍म

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सो को प्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राती सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

हिमालय टेलिभिजनको स्वामित्व नयाँ व्यबस्थापनले लिएपछि घोषणा गरिएका फ्रेन्चाइज रियालिटी शोहरु एकपछि अर्को गर्दै दर्शकमाझ लोकप्रिय हुँदै गइरहेका छन् ।

‘द भोइस अफ नेपाल सिजन-२’ हरेक सूचकांकमा नम्बर एक रियालिटी शो बन्न सफल भएको छ भने हिमालय रोडिज सिजन-३ नेपाली युवा पुस्ताको पहिलो रोजाइको सोका रूपमा प्रसारण भइरहेको छ ।

भारतमा बिगत १० बर्षदेखि सोही डान्सिङ विथ द स्टार्स शो ‘झलक दिखलाजा’ नामले संचालन भइरहेको छ। सन् २०१७ मा नेपाली चेली तेरिया मगरले झलक दिखलाजाको नवौं सिजनको टाइटटल विनर भएपछि यो शो नेपालमा अत्याधिक लोकप्रिय हुँदै आएको छ ।

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ ।

बिश्वभर चलेको फर्म्याट अनुसार डान्सिङ विथ द स्टार्स मा १२ जना बिभिन्न क्षेत्रका स्टार कन्टेस्टेन्ट हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् ।

हरेक विधामा लोकप्रियता हाँसिल गरेका उत्कृष्ट १२ जना कलाकार र नृत्य बिधामा पोख्त १२ जना कोरियोग्राफरहरुको पेयरिङ हुने भएकोले यस कार्यक्रमले देश र बिदेशमा रहेका आमदर्शक माझ उच्च मनोरन्जन प्रदान गर्नुका साथै हरेक बिधाका दर्शकलाई यसले बाध्न सक्ने बिश्वास हिमालय टेलिभिजनले लिएको छ ।

‘डान्सिङ विथ द स्टार्स’ नेपालमा ल्याउनु आफैमा चुनौतीपुर्ण थियो यध्यपि बिश्वभर अत्याधिक मन पराइएको शो नेपालमा ल्याउदा लाखौँ दर्शकहरुलाई नेपाली कन्टेन्ट र नेपाली टेलिभिजन हेर्न प्रेरित गर्ने उदेश्यले यो चुनौती आत्मसाथ गरेका हौ’ हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले भन्नुभयो ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख(करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमका निर्णायकहरु रेनाशा वान्तावा राई र गौरी मल्ल रहेका छन् भने १२ जना सेलिब्रेटी कन्टेस्टेन्ट रहेका छन् । जसमा पहिलो नेपाल आइडल बुद्ध लामा, फरक क्षमता भएकी तथा श्रृष्टि केसी, टिकटक आर्टिस्ट दीपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथली कलाकार पूजा ठाकुर, बाल कलाकार देवांशी वैद्यवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, कलाकार अनुप विक्रम शाही, कलाकार ज्योति मगर, मोडेल सुमी मोक्तान र फुटबलर अनिल गुरुङले दमदार प्रस्तुति दिनेछन् ।