कोरोनाको कारण ठप्प फिल्म उद्योग, थन्किए उपकरणहरु

“१५ गते देखि प्रोजेक्ट शुरु गर्ने योजना थियो तर विश्वनै कोरोनाको त्रासमा छ । सरकारले सम्ययमता अपनाउने भनेको छ । त्यसैले यसको रिजल्ट नआउँदा सम्म शुटिंग गर्दैनौ होला ।”

यो थियो अभिनेता तथा निर्देशक रमेश बुढाथोकिको भनाइ आफ्नो आगामी फिल्म ‘सुदुर’ लाई लिएर । कोरोनाको कारण अहिले स्थगित भएको फिल्ममा विजय बराल, प्रबिण खतिवडा र वर्षा सिवाकोटी मुख्य भूमिकामा अभिनय गर्दै छन् ।

यो त मात्र एउटा उदाहरण हो । अहिले नेपाली फिल्मको काम लगभग ठप्पै छ भने पनि हुन्छ । क्यामेरा, लाइट तथा उपकरणहरु थन्किएका छन्, प्राबिधिकहरुको हातमा खासै काम छैन, फिल्महरुले पूर्वनिर्धारित रिलिज मिति सारिरहेका छन्, हलहरु रित्ता हुदैछन् ।

चलचित्र निर्माता संघका अध्यक्ष तथा रेड स्टुडियोका संचालक अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी भन्छन् – “क्यामेराहरु शुटिंगमा गएको छैन, यो वर्ष अघिल्लो वर्षको तुलनामा फिल्महरु पनि कम नै बनेको छ । एक हिसाबले यसलाई सकारात्मक रुपले पनि लिन सकिन्छ, किनकि यसले फिल्मकर्मीहरुको ध्यान गुणस्तर तर्फ गएको हो कि भन्ने संकेत पनि गर्दछ । प्रार्थना गरौ यो सब चाँडो सकियोस् ।” उनका अनुसार इटाली र युरोपका केहि देशमा बैंकहरुले फिल्मको लागि दिएको ऋणको भाका सारिदिएका छन् । नेपाल सरकारले पनि फिल्मकर्मी हरुलाई राहत मिल्ने किसिमको केहि योजनाहरु ल्याउनुपर्नेमा जोड दिदै आफुहरु सरकार समक्ष डेलिगेसनमा जान लागेको बताए । उनले आफुहरुले अहिले हलमा आइरहेका दर्शकहरु बाट आउने पैसा बाट चाँही सरकारले कर नलियोस भन्ने प्रस्ताब गर्न लागेको बताए ।

त्यसैगरि अर्को इक्विपमेन्ट हाउस क्लासिक सिने युनिभर्सका दिनेश महराले अहिले आफ्नो सामग्रीहरु प्रयोग गरेर फिल्म ‘२ नम्बरी’ मात्र शुटिंग भैरहेको बताए । उनले भने – “शनिबार बाट एउटा फिल्म जाने कुरा थियो तर भएँ ।” उनले म्युजिक भिडियोहरुमा भने क्यामेरा र अन्य उपकरणहरु गैरहेको बताए ।

अश्लेशाका विश्व गौचनले ४ मध्ये ३ क्यामेरा फिल्मको लागि गएको बताए । उनकै क्यामेराहरु प्रयोग गरेर अहिले झरना थापाको निर्देशनमा ‘ए मेरो हजुर -४’ र ‘परदेशी -२’ को शुटिंग भैरहेको छ । त्यस्तै एउटा फिल्म युनिट एउटा गाउँमा गएको तर कोरोनाको कारण गाउलेहरुले शुटिंग गर्न नदिएपछि युनिट फर्किएको उनले बताए । उक्त युनिट अर्को हप्ता अर्कै गाउँ जाने भएको जानकारी गौचनले दिए । उनको डेस्कमा भने खगेन्द्र लामिछाने निर्देशित ‘पानि फोटो’ र निकेश खड्का निर्देशित ‘चपली हाइट -३’ को पोष्टप्रोडक्सनको काम भैरहेको छ ।

सिनेइक्विपमेन्ट का वसन्त निरौला पनि अहिलेको अवस्थाले निराश छन् । उनि भन्छन् – “सुदुर को लागि भनेर राखेका थियौ, सर्यो । यो वर्षको शुरुवातमै शुटिंग कम थियो, अहिले कोरोनाले झन् कम बनाएको छ । सम्पूर्ण फिल्म उद्योगनै नैराश्यतामा छ, ठुलो लगानीमा खुलेका हाउसहरु नाजुक छन् ।”

सिनेजोन का रजत बुढाथोकिले आफ्नो क्यामेराहरु थन्किएको बताए । उनि भन्छन्- “सरकारले सभा समारोह नगर भनेको छ, पुरै तनाव छ ।” उनका अनुसार ‘प्रेमगीत -३’ को केहि बाँकी दृश्यहरु शुटिंग हुदैछ र युनिट सोमबार फर्किदै छ । त्यस्तै २२-२३ जना लाइटम्यान हरु खाली नै बसिरहेका छन् । उनि थप्छन – ” ‘लक्का जवान’ को शुटिंग भर्खरै सकियो, ‘लप्पन छप्पन-२’ को थोरै बाँकी छ कि !, केहि म्युजिक भिडियोहरुमा भने गैरहेको छ, २०२० त पुरै शुन्य छ ।”

अहिले महामारीको रुप लिईसकेको कोरोना भाइरस निर्मुल नभए सम्म नेपाली फिल्म उद्योग पनि तंग्रिने छाँट देखिदैन । रिलिज मितिलाई लिएर यसको दिर्घकालिन असर पनि निश्चित नै छ । यतिबेला भने धैर्य गरेर सहि समय पर्खिनुनै फिल्मकर्मी हरुको लागि उत्तम हुन्छ ।