कोरोनाबाट बच्‍न इटालीमा घरको बार्दलीबाट एकअर्कालाई गीत सुन्दै-सुनाउँदै

विश्वभर फैलिइरहेको माहामारी कोरोनाका भाइरसका कारण ‘सेल्फ क्वारेन्टाइनमा बसेका इटलीका बासिन्दाहरुले झ्यालबाट गीत गाएर एकअर्कालाई साथ दिइरहेका छन् ।

इटालीको दक्षिणी शहर सलेर्नो, नेपल्स, सिसिलियनदेखि राजधानीसम्मका नागरिकहरु आ-आफ्नो अपार्टमेन्टबाट विभिन्न सांगीतिक बाजाहरु बजाउँदै गीतसंगीत मार्फत एकले अर्कोलाई गीत संगीत सुन्ने र सुनाउने गरिरहेको भिडियो भाइरल भइरहेको छ ।

यस्तै स्पेन र स्वीडेनका नागरिकहरुले पनि आपत्तकालिन अवस्थामा बस्दा अप्ठेरो नहोस,बसाइ सहज बनोस भनेर छिमेकीहरुसँग मिलेर बस्ने उपाय अपनाइरहेको पाइएको छ ।

त्यस्तै रोममा मनोरञ्जनका निम्ति पुराना गीतहरु गाउन जेष्ठ नागरिकहरु समेत सक्रिय रुपमा सहभागी भइरहेका छन् । यता, फ्लोरेन्समा भने ओपेरा गायक मोरिजिओ मार्चिनीले आफ्नै घरैबाट लोकप्रिय गीतहरु गाउँदै सबैको मन जितिरहेका छन् ।

त्यस्तै स्कटिस गायक लिविस केपेल्डीले क्वारेन्टाइनमा रहेका गायकहरुले आफ्नो गीत सुनाएकामा विशेष धन्यवाद व्यक्त गर्दै सबैलाई सुरक्षित बस्न कामना गरेका गरेका छन् ।

इटलीकी गायिका एन्ड्रिया सेनिओले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा इटलीका घरघरमा मानिसहरु आफ्नो गीत गाएर रमाइलो गरिरहेको भिडियो पोस्ट गरेकी थिइन् ।

यसरी विभिन्न चर्चित सेलिब्रेटीहरु समेत अहिले क्वारेन्टाइनमा रहेको हुँदा उनीहरुले आसपासका वासिन्दालाई मनोरञ्जन दिलाउन आफ्नो तर्फबाट छुट्टै प्रस्तुती दिइरहेका छन् ।

फ्लोरेन्सको वाटर कम्पनीमा काम गर्ने मेटेओ कोलोम्बीले सामाजिक संजालमा यो नयाँ ट्रेन्डिङ गतिविधिबारे पोस्ट गर्दै सबैलाई आफ्नो घरबाट यसमा सहभागी हुन आग्रह समेत गरेका हुन् ।