मृत्युसँग चेस खेल्ने म्याक्स भोन स्वीडो

गत ८ मार्चमा मृत्यु वहन गरेका महान् स्वीडिस अभिनेता तथा रंगकर्मी म्याक्स भोन स्वीडोले द एकर्ससिष्ट, द ग्रेटेष्ट स्टोरी एभर टोल्ड, पेले द कन्क्वेरर  जस्ता फिल्ममा निभाएका चरित्रहरु दर्शकको मनमष्तिस्कमा सधैँ रहिरहन्छन् । तर उनलाई अभिनयको महान् उचाईमा भने स्वीडिस फिल्म निर्देशक इंग्मर बर्गम्यानको फिल्म द सेभेन्थ सिल ले पुर्याएको थियो ।

कैलो कपाल र अग्लो कद भएका भोन स्वीडोले १९५७ को बर्गम्यानको फिल्म द सेभेन्थ सिल मा १४औ शताब्दीको भौतारिएको शूरवीरको चरित्र निभाएर अन्तराष्ट्रिय फिल्म जगतमा आफ्नो दरिलो पाइला राखे । उक्त फिल्ममा एक शूरवीर  ईसाइ धर्मयुद्ध सकेर महामारीबाट ग्रसित आफ्नो देश फर्कँदाखेरी परमेश्वरबाट आफ्नो विश्वास गुमाइसकेको हुन्छ र परमेश्वरलाई प्राथना गर्न असक्षम हुन्छ । एक्कासी उसको सामना मृत्युको दूतसँग हुन्छ । आफ्नो आयु लम्बयाउन उसले मृत्युलाई शतरंजको खेलमा चुनौती दिन्छ । भोन स्वीडोले निभाएको आत्मिक उथलपुथलको व्यक्तित्वको चित्रणले काँचै उमेरमा उनको परिपक्वता प्रदर्शन गर्यो र उनी अभिनित बर्गम्यानका अन्य फिल्महरूले उनको गम्भीरता र मर्यादित व्यक्तित्वको पुष्टि गरिरह्यो ।

भोन स्वीडोले द सेभेन्थ सिल  बर्गम्यानसँग काम गरेको पहिलो फिल्म भएता पनि उनीहरुले मालमा म्युनिसिपल थिएटरमा सँगसँगै धेरै नाटकहरूमा काम गरेका थिए । सन् १९५६ देखी १९५८ सम्म भोन स्वीडोले बर्गम्यानको नाटक ब्रिक इन क्याट अन अ हट रुफ मा ब्रिकको चरित्र, पियर जिन्ट मा पियरको चरित्र, मिस्यानथ्रोप मा एल्सेस्टको चरित्र र अनफ्रस्ट मा फाउस्टको चरित्रमा अभिनय गरे । सोही नाटक कम्पनीमा गुन्नर बर्ज्नस्ट्रान्ड, इंग्रिड थुलिन, बीबी एन्डरसन र गुनेल लिन्डब्लोम पनि अभिनय गर्थे जो भोन स्वीडोसँगै बर्गम्यानको फिल्महरुमा प्राय दोहोरिरहने अनुहार थिए ।

दक्षिणी स्वीडेनको लुन्ड शहरको एक शैक्षिक परिवारमा उनको जन्म भएको थियो । जन्म नाम कार्ल अडोल्फ भोन स्वीडो भएता पनि पछि उनले आफ्नो नाम म्याक्स राखे । उनका बुबा कार्ल विल्हेल्म लुथ विश्वविद्यालयमा एक जातीय विज्ञ र तुलनात्मक लोककथाका प्राध्यापक थिए भने उनकी आमा  मारिया मार्गारेटा एक स्कूल शिक्षका थिइन् । सैन्य सेवा गर्नु भन्दा पहिले उनले क्याथोलिक स्कूल पढेका थिए । सन् १९४८ देखी १९५१ सम्म भोन स्वीडोले स्टकहोल्मको रोयल ड्राम्याटिक थिएटरमा अभिनय सिकेका थिए । त्यहाँ छात्र छँदै उनले अलफ् स्जाबर्गको लघु चलचित्र ओन्ली अ मदर र मिस जुली मा सानो भुमिकामा अभिनय गरे । स्नातक पछि सन् १९५१ मा उनले क्रिस्टिना ओलिनसँग विवाह गरेपछि हेलसिद्गबर्गको म्युनिसिपल थिएटरमा आवद्द भए परिणामस्वरूप उनको बर्गम्यानसँग महत्त्वपूर्ण भेट भयो ।

द सेभेन्थ सिल पछि भोन स्वीडोभले लगातार बर्गम्यानका ६ वटा निराश फिल्म खेले । सहायक भूमिकामा अभिनय गर्दा पनि उनी संतुष्ट नै हुन्थे । बर्गम्यानको सन् १९५७ को फिल्म वाइल्ड स्ट्रबेरी मा उनको छोटो भूमिका छ अझ बर्गम्यानकै अर्को फिल्म ब्रिंक अफ लाइफ मा उनी निकै नै सानो श्रीमानको भूमिकामा देखिन्छन्, जो पाउन लागेको आफ्नो बच्चा पर्खिरहेको हुन्छ । तर सन् १९५८ को बर्गम्यानको फिल्म द म्याजिसियन मा उनी मुख्य भुमिकामा देखिए । १९औँ शताब्दीको मंत्रमुग्द जादुगर भोग्लरको भूमिकामा भोन स्वीडोकले निकै नै प्रशंसनीय रुपमा चरित्र वहन गरे । बर्गम्यानको अर्को फिल्म भर्जिन स्प्रीङ्ग मा कथाको कालखण्ड मध्ययुगीन स्वीडेनमा फर्कियो, जसमा भोन स्वीडोले बलात्कृत छोरीको बदला लिन तल्लिन बाबुको भूमिका निर्वाह गरेका छन् ।

बहुचर्चित शृंखला फिल्म जेम्स बन्डको पहिलो शृखंला डा. नो मा भोन सिडोलाई बोन्डको मुख्य भूमिकामा अभिनय गर्न प्रस्ताव आएपनि उनले स्वीडेन बाहिर काम गर्ने प्रस्ताव अस्वीकार गरिदिएका थिए । यद्यपि दुई दशक पछि उनले अर्को बन्ड फिल्म नेभर से नेभर अगेन मा दुष्ट जिनियस  ब्ल्ओफेल्डको भूमिकामा अभिनय गरे । अन्ततः जर्ज स्टीभन्सले उनलाई २२५ मिनेटको महाकथा द ग्रेटेस्ट स्टोरी एभर टोल्ड (१९६५) मा येशूको चरित्र खेल्नको लागि गरेको विन्ती स्वीकार गरे । भोन सिडोको करिश्माको बाबजुद सो महाकथा निकै खोक्रो येशू क्रिष्टको फिल्ममा परिणत भयो । उनका अरु दुई हलिउड चलचित्रहरू खासै राम्रा भएनन् । सन् १९६५ को फिल्म द रिवार्ड मा उनी मेक्सिकोको मरुभूमिमा फसेको पाईलटको चरित्रमा थिए भने सन् १९६६ को फिल्म हवाई मा एक अहंकारी मिसनरीको भूमिकामा देखिएका थिए । सो फिल्ममा उनका दुई छोराहरु– सात वर्षीय हेन्रिक  र १२ वर्षीय क्लासले छोराकै भूमिकामा अभिनय गरेका थिए ।

धरमरमा परिरहेको भोन स्वीडोको करियरलाई बर्गम्यानको अरु चार फिल्महरुले उकास्यो । सन् १९६८ को आवर अफ दि उल्फ मा उनी दोख भएको एक कलाकारको चरित्रमा देखिए, सन् १९६८ कै अर्को फिल्म सेम मा उनी लाजको वास्तविकता सामना गर्नु पर्ने निर्दोषको भूमिकामा देखिए भने, सन् १९६९ मा द प्यासन अफ आना मा उनी एक हिंस्रक झग्डालु श्रीमानको भूमिकामा देखिए । सन् १९७१ को फिल्म द टच मा उनले रुखो डाक्टरको भूमिकामा अभिनय गरे । द टच बर्गमम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म थियो । सन् १९८८ मा भोन स्वीडोले एक प्रेमरहित विवाहीता नारीको साधारण कथाको फिल्म कटिङ्का निर्देशन गरे । उक्त फिल्म बनाएकोमा उनी खुसी नै थिए, तर सो फिल्म पछि उनले कहिल्यै फिल्म निर्देशन गर्दिन भनेर हात उठाए ।

उनले मूलधार हलिउड फिल्म र चुनौतीपूर्ण गम्भिर फिल्महरुमा पालैपालो काम गर्न थाले । सन् २००२ मा, भोन स्वीडोले आफ्नो करियरको सबैभन्दा ठूलो व्यावसायिक सफलता दिएको फिल्ममा अभिनय गरे । फिल्म थियो स्टीभन स्पिलस्बर्गको साइन्स फिक्सन थ्रिलर फिल्म माइनरिटी रिपोर्ट । मार्टिन स्कोरसिजीको सन् २०१० को मनोवैज्ञानिक थ्रिलर सटर आइल्याण्डमा उनी एक पापी जर्मन डाक्टरका भूमिकामा देखिए भने, सन् २०१५ को स्टार वार्स शृंखला द फोर्स अवेकन्स मा लोन स्यान टेकाको भूमिकामा देखिए । एचबिओ सिरिज गेम अफ थ्रोंस मा थ्रि आइड रेभेनको भूमिकामा देखिएका भोन स्वीडोका अन्तिम फिल्म अभिनय थोमस विन्टरबर्गको २०१८ को फिल्म कर्सक्मा थियो ।

भोन स्वीडो र त्रिस्टीना ओलिनको बीच सन् १९७९ मा पारापाचुके भयो र उनले १९९७ मा पूनः फ्रेन्च डकुमेन्ट्रि फिल्म निर्देशक क्याथरिन ब्रेलेटसँग विवाह गरे र उनीहरू पेरिसमा बसोबास गर्न थाले । भोन स्वीडोले सन् २००२ मा फ्रान्सेली नागरिकता लिए ।

आफ्नो फिल्मका पात्रहरुमा भोन स्वीडो सधैँ पाका देखिन्थे, जसले गर्दा यो भान हुन्थ्यो कि उनी सधैं बाँचिरहनेछन् । उनले फिल्ममा त मृत्युसँग लुकामारी खेले– सेभन्थ सिल मा मृत्युको सामना गरे, त्यसपछि द एकर्ससिष्ट मा राक्षसको सामना गरे र अन्तमा स्टार वार्स मा काइलो रेनको सामना गरे । तर वास्तविक जिवनमा त्यो संम्भव थिएन । अन्ततः ९० वर्षको उमेरमा म्याक्स भोन स्वीडोको पेरिस स्थित आफ्नो निवासमा मृत्यु भयो । मृत्युले उनलाई अँगाले पनि द सेभेन्थ सिल मा उनले मृत्युसँग समुन्द्रको तटमा बसेर चेस खेलेको इमेज हाम्रो मानसपटल सँधै रहिरहन्छ ।

(द गार्जियन पत्रिकामा रोनल्ड बेर्गनले लेखेको लेखको अनुवादित एबम् संपादित अंश, अनुवादक : श्रीधर निरौला)