‘बागी ३’का निर्देशक अहमदले मागे कंगनासँग माफी

बलिउड फिल्म ‘बागी ३’का निर्देशक अहमद खानले अभिनेत्री कंगना रनोटसँग माफी मागेका छन्।उनले कंगनाले निर्माण गरेको ‘मणिकर्णीकाः द क्वीन अफ झाँसी’ फ्लप भएको र उनको आगामी फिल्म ‘धाकड’ बन्द भएको भनेको अन्तर्वार्तामा प्रकाशित भएपछि उनले माफी माग्नुपरेको हो।अहमदले माफी मागेको कुरा कंगनाकी बहिनी रंगोली चन्देलले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेकी हुन्।
अहमदको भनाइका बारेमा लगालग ट्वीटहरू गरेकी रंगोलीले ‘मणिकर्णीका’ सिनेमाको लगानी र कमाइ समेत सार्वजनिक गरेकी छन्।‘बाघी ३’ निर्देशक अहमद खानले महिलाप्रधान सिनेमामाथि टिप्पणी गर्ने क्रममा कंगना निर्मित, निर्देशित तथा अभिनित ‘मणिकर्णीका’को उदाहरण दिएका थिए।
नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा खानले ‘मणिकर्णिका’लाई हिट गराउन कंगनाले भरसक कोशिस गरेको भए पनि फिल्मबाट निर्माताहरूले ठूलो घाटा बेहोर्नुपरेको बताएका थिए।उनको यसै भनाइमाथि प्रतिक्रिया जनाउँदै रंगोलीले अहमदको आलोचना गर्दै फिल्मको व्यापारिक र लगानीको आँकडाबारेमा स्पष्ट पारेकी छन्। रंगोलीले आफ्नो ट्वीटमा अहमदले आफ्नी दिदी कंगनासँग फोनमा कुरा गर्दै माफी मागेको बताएकी हुन्।