अमेरिकन आइडलमा दिवेस पोखरेललाई बब मार्लीको संज्ञा

भनिन्छ कला र गलालाई भिसा लाग्दैन र यसको कुनै सीमा हुँदैन। यही कुरालाई सार्थकता बनाइदिएका छन् एक नेपाली युवा दिवेस पोखरेलले अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा। उनले आफ्नो दमदार प्रस्तुती दिएर दर्शकको मन मात्रै जितेका छैनन् निर्णायकको मन पनि जितेका छन्।
अमेरिकन आइडलको आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेका छन्। जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको बताएका छन्। उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै जना उत्साहित र हिराजस्तै उत्तम भएको उल्लेख गरेका छन् ।
उनी आफूले गाउने मात्र नभइ साँगसँगै गीतका शब्दहरु पनि सहजै लेख्न सक्ने बताएका छन्। आफैले लेख्ने र गाउने दिवेस फटाफट दोस्रो प्रस्तुतिका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई निर्णायक र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेका छन्।
उनले सुरुमै नेपाली अभिवादन ‘नमस्ते’ गरेका छन्। पछाडिबाट नेपाली महिला दर्शकले उत्साहित भावमा नमस्ते भन्दा त्यहा बसेका निर्णायकहरु पछाडि फर्किएर हेरेका छन्।त्यसपछि सुरुमा जस्तै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत दमदार रुपमा गाएपछि निर्णायकहरु आश्चर्यमा पर्छन् र उभिएर उनलाई ताली बजाउँदै साथ दिन्छन्।उनले निर्णायकहरु खुसी भएको देखेर झन झन सशक्त तरिकाले गीत गाउन थाल्छन्। गीत सकिएपछि दर्शकदीर्घाबाट फेरि गाउन भन्दै आग्रह आउँछ।
जसकारण उनले थप केहीबेर गाउँछन्। स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन्। यता, निर्णायक मण्डलहरुले दिबेसको प्रस्तुतीले विश्वचर्चित गायक बब मार्लीको झल्को दिलाएको भन्दै मुक्त कण्ठले उको प्रशंसा गरेका छन्।उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरु थप उत्साहित भएका छन्।
अमेरिकन आइडलको १८औँ सिजनमा लोकप्रिय गायिका केटी पेरी, लुक ब्रायन र लियोनल रिचेले शुभकामना दिएका छन्। दिवेसको प्रस्तुतिलाई गायिका केटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्दै हौसला दिएकी छिन्।अर्का जज लुक ब्रायनले दिवेशलाई प्रतिभाशाली कलाकार भनेर तारिफ गरेका थिए।दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँचवर्षदेखि बस्दै आएका छन्।