बलिउड गायिका कनिका कपूरलाई कोरोनाको पुष्टि

बलिउड गायिका कनिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनी पाँच दिनअघि (मार्च–१५) मा लण्डनबाट लखनऊ आएकी थिइन्।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी समेत दिएकी थिइन् । पार्टीमा करिब पाँच सयजना सहभागी थिए ।

कानिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ ।

पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ ।

लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ ।