बलात्कारको केसमा जेल सजाय भोगिरहेका वाइन्स्टाइनलाई कोरोनाको संक्रमण

बलात्कारको केसमा जेल सजाय भोगिरहेका हलिवुड फिल्म निर्माता हार्वी वाइन्स्टाइनमा कोरोनाको संक्रमण देखिएको छ । हाल उनलाई वेंडी करेक्सनल फ्यासिलिटीमा आइसोलेसनमा राखिएको छ । न्यु योर्क स्टेट, डिपार्टमेन्ट अफ करेक्सनले व्यक्तिगत स्वास्थ्यको रेकर्ड सुरक्षित राख्ने नीतिका कारण थप जानकारी भने दिएको छैन ।

६८ वर्षीय हलिवुड फिल्म निर्माता हार्वी वाइन्स्टाइनलाई केहि दिन अघि अदालतले २३ वर्षको जेल सजाय सुनाएको थियो । उनलाई सन् २००६ मा प्रोडक्सन एसीस्टेन्ट मिरियम हाले माथि गरेको पहिलो डिग्रीको यौन अपराध र सन् २०१३ मा अभिनेत्री जेसिका मान माथिको थर्ड डिग्री वलात्कारको लागि सजाय सुनाइएको हो ।

सन् २०१७ को अक्टोबरमा दर्जन बढी महिलाहरुले वाइन्स्टाइनलाई यौन शोषण, दुर्ब्यबहार र बलात्कारको आरोप लगाएका थिए । हलिउड अभिनेत्रीहरु ग्वेनेथ पाल्ट्रो, उमा थरम्यान र सल्मा हाएकले पनि उनलाई यौन शोषणको आरोप लगाएका थिए ।