‘प्रेमगीत – ३’ टिमले बाड्यो ११ हजार मास्क

फिल्म ‘प्रेमगीत–३’ टिमले ११ हजार मास्क वितरण गरेको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार ‘प्रेमगीत–३’ टिमले आइतबार कोटेश्वर, लगनखेल र गोंगबुलगाएतका क्षेत्रमा ११ हजार मास्क नि:शुल्क वितरण गरेको हो ।

 

सेनले यस्तो कठिन परिस्थितिमा आफू र ‘प्रेमगीत – ३’ का सम्पूर्ण टिम जुनसुकै अवस्थामा सरकारलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताए । उनले कोरोनाको संक्रमण नफैलियोस् भन्ने कुरामा सचेत रहन र सजग बन्न र अरुहरुलाई पनि सजग बनाइराख्न आग्रह गरे । समय–समयमा साबुन पानीले हात मिचीमिची हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, सकेसम्म भिड़भाड़मा नजान र शंका लागेको खण्डमा नजिकको स्वास्थ्य केन्द्रमा जान पनि उनले सुझाए ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको फिल्मको कथा तथा पटकथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, जीवन बराल, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, प्रेम पुरी, सुजल बस्नेत लगायतको अभिनय रहेको छ । चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माता रहेको फिल्मका गीतहरुमा कल्याण सिंह र एलिश कार्कीको संगीत साथै प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीको स्वर रहेको छ । चैत्र २८ गते रिलिज हुने भनिएको फिल्मको रिलिज कोरोनाको कारण हाललाई स्थगित गरिएको छ ।