अन्जु पन्त करेसाबारीमा, रामकृष्ण ढकाल जीम गर्दै, संगीता राणा भजन गाउँदै

पेशाले उनी नेपालकै सुमधुर स्वरकी धनी हुन्। उनी जुन गीतमा आवाज भर्छिन्, त्यो गीत हिट मात्रै हुँदैन प्राय: मानिसको मन,मष्तष्किले अब्बल सावित गर्छ अनि दिल-दिमागमा बस्न सफल हुन्छ, हृदयले गुनगुनाउँछ। तर सरकारले लकडाउनको घोषणा गरेपछि भने रेकर्डिङ स्टुडियोमा देखिने गायिका अन्जु पन्त बिहीबार बिहान करेसाबारीमा धनिया टिपिरहेकी छिन्।

सेतो ज्याकेट र निलो पाइन्ट लगाएकी उनी हातमा सेतो पञ्जा लगाएर बारीमा धनियाँ टिपिरहेकी छिन् एक सूरले। उनलाई धनियाँ टिप्न एकदमै मन पर्छ। गायिका भए पनि उनी यतिबेला कृषि पहिलो स्थानमा राख्दै बारीमा लहँलहाउँदो साग, हरियो धनिया, फलफूललाई नजिकबाट नियालिरहेकी छिन्।

खासमा उनलाई बारीमा काम गर्न असाध्यै मनपर्छ। कपनको घरमा हुँदा उनी त्यसको सागबारेको प्रसँग सुनाउँदै भनिन्,’ म खाना खाने टेबल अगाडि करेलाको लहराँ थियो। विस्तारै करेला बढ्दै थियो। मैलै आफ्नै आँखा अगाडि करेला बढिरहेको देखेपछि निक्कै खुसी भएकी थिएँ।’ उनले मेरो फिल्मसँग कुरा गर्दै भनिन्, ‘सरकारले घोषणा गरेको ‘लकडाउन’ले मलाई त घर परिवारसँग रम्न अवसर दिएको जस्तो भयो भन्ने अनुभूति भइरहेको छ।’

कृषि र घरपरिवारबिना मानिसको जीवन सम्भव छैन भन्ने उनको बुझाइ छ। त्यसैले उनी भन्छिन्, ‘अहिले फुर्सद पाएकी छु।’आफ्नो दैनिकीलाई घरपरिवारमाझ बिताउन पाउँदा उनी निक्कै हर्षित भएकी छु। बारीमा मक्कै गोड्नु छ। पछि त फेरि उही हो, ७ बजे बिहान हिँडेदेखि बेलुका घर आउँदा ७ बज्छ।’ छोरी र आमा अनि म मिलेर करेसाबारीको काममा लागिरहेका छौ।’

उनी ‘लकडाउन’को समयमा बिहानै उठ्ने, व्यायाम गर्ने, तातोपानी, चिया पिएपछि केही क्षण प्रार्थना गर्छिन् र रियाज गर्छिन्।यसका साथै घरमा आमालाई सघाउने काम गरिहरेकी छिन्। उनलाई चिकेन बनाउन निक्कै मन पर्छ। उनी भन्छिन्, ‘ म भान्सामा पनि सघाउँछु। चिकेन बनाउन खुब मन पर्छ। छोइला पनि बनाउँछु। मिठो मिठो पकवान पनि बनाउँछु।’

फुर्सदको समयमा आजभोलि उनी गिटार र तबला बजाउन सिकिरहेकी छिन्। खासमा गिटार सिक्न साह्रै मन छ उनलाई। उनी भन्छिन्,’ मेरो लक्ष्य अब बाजामा गिटार सिक्ने लक्ष्य हो। पहिला समय थिएन। तर अब समय भएकाले म रियाजसँग गिटार सिक्दैछु।सेक्सोफोन पनि बजाउन मन छ।’

संगीतलाई साधना मानेर हिडेकी अन्जुलाई किताब पढ्न पनि उतिक्कै मनपर्छ। उनी यही बेलामा किताब पनि पढिरहेकी छिन्, तर ऐतिहासिक घटनाबारेको कथाहरुको संग्रह। उनले भनिन्,’ म दिउँसोतिर ऐतिहासिक किताबका कथाहरु पढिरहेकी छु। मलाई पहिलेका पुराना घटनाहरुको कथाहरु समेटिएको पुस्तक खुब मनपर्थ्यो। अहिले समय मिलेकाले अध्ययन पनि चलिरहेको छ। ‘

कोरोनाको संक्रमण नेपालमा देखिएपछि उनले सबै नागरिकलाई धैर्यता र साहासले काम लिनु पर्नेमा जोड दिन्छिन्।उनी भन्छिन्,’ हामी मानव जाति सर्वश्रेष्ठ भएकाले धैर्यता र सतर्कताले काम गरौ। घरबाट बाहिर ननिस्कौ।’ घरमा बसेर पनि जथाभावी मोबाइलमा गेम खेल्ने र आँखा बिगार्ने काम नगर्न उनको सुझाव छ।

बीचमै कार्यक्रम रोकेर क्वारेन्टाइनमा बसे-संगीतकार शम्भुजीत बास्कोटा


यस्तै मेलोडि किङ शम्भुजीत बाँस्कोटा भने सरकारको नियम पालना गर्दै घरमै बसिरहेका छन्। उनी एकदुइवटा नयाँ गीत तयारी गर्दै थिए। तर लकडाउनको घोषणा सरकारले गरिसकेपछि बीचमै रोके र सेल्फ क्वारेन्टाइनमा घरभित्र बस्न थाले।

उनी भन्छन्, ‘हामी नेपालीहरु ख्याल ठट्टा गरिरहेका छौ भाइरससँग। यो ख्याल ठट्टा गर्ने समय होइन। कृपया सतर्क हुनुस्। यसले विश्वयुद्ध भन्दा पनि माहामारीको रुप लिइरहेको छ। सारा संसारले भोगिरहेको छ कोरोनालाई त्यसकारण सजकता अपनाऔं। आफू पनि बचौ अरुलाई नि बचाऔं।’

शम्भुजीतले आफ्नो एकल साँझ पनि स्थगित गरेका छन् कोरोनाकै कारण। यति मात्रै होइन उनले देशव्यापी टुरमा जाने योजना बनाएका थिए। त्यो पनि कोरोनाको प्रकोप फैलिएपछि तत्कालका लागि स्थगित गरेका छन्।

उनले भने, ‘ मैले शम्भुजीतसँग एक साँझ स्थगित गरे। सातै प्रदेशमा कार्यक्रम थियो, रोके। अप्रिल महिनामा अमेरिकाको जर्जिया, बाल्टिमोर, माया, क्यालिफोर्निया लगायत ठाउँहरुमा सांगीतिक कार्यक्रम थियो।सबै तत्कालका लागि रोकेर घरमा बस्नु परेको छ।’

जीवनलाई पहिलो स्वस्थता चाहिने भएकाले ‘हेल्थ इज वेल्थ’मा उनको बढी जोड छ। उनी भन्छन्, ‘ हामी पहिला आफू बाँचे पो अरुलाई बचाउने त। आफै कोरोनाले ग्रस्त भइयो भने त अरुलाई पनि सार्न के बेर? सेल्फ क्वारेनटाइनमा बसौं। जीवनलाई बचाऔं’। शहरका मानिसहरु क्वारेन्टाइनमा बसे पनि गाउँका मानिसहरु उल्टै सबैजना एकै ठाउँमा भेला भइरहेकाले तत्काल सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नु पर्ने उनको सुझाव छ।

जीम गर्छु बिहान-बिहान- गायक रामकृष्ण ढकाल


यस्तै गायक रामकृष्ण ढकाललाई बिहान-बिहानै जीम गर्न मनपर्छ। उनी लकडाउनको बेलामा बिहान जिम गर्ने र रियाज गर्ने गरेका छन्। उनी भन्छन,’ अहिले सरकारको लक डाउनमा मपरिवारसँगै बसिरहेको छु। नियमित बिहान व्यायाम त छदैछ। जिम पनि गर्ने गरेको छु। नेपाल स्टारको निर्णयाक मण्डलमा काम गरिरहेको थिए। बिचमा लक डाउनभयो। खासगरी पियानो राउण्डको सुटिङहरु सरेको छ।’

कोरोना भाइरसको हल्ला अगावै रामकृष्ण अस्ट्रेलियाको टुर सकेर आए।त्यसपछिको अमेरिका र देशभरीको कार्यक्रम नै सार्नु पर्यो। उनी भन्छन्, ‘ कोरोनाको हल्लाअघि नै म अस्ट्रेलियाको टूर सकेर फर्किए। तर जब लडक डाउन भयो अनि क्यानडा र अमेरिकाको टुर स्थगित गर्नु पर्यो।’

गाउने र रियाज गर्ने उनको दैनिकी बाहेक उनी घरको भान्सामा पनि सघाउने गरेका छन्। उनी भन्छन्, ‘ मलाई खसीको मासु पकाउन खुब मन पर्छ। म श्रीमतीलाई मासु बनाउन सघाउँछु। छोरीलाई स्कुलको होमवर्क गर्न र व्यायाम गर्न सिकाउँछु। म्युजिक सिकाउँछु, व्यायाम पनि सिकाउँछु।’

रामनवमीको लागि भजन तयारी गर्दैछु- संगीता राणाप्रधान


यता, त्रिभुवन विश्वविद्यालय संगीत विभागकी प्रमुख एवं गायिका संगीता रानाप्रधान कुलेश्वरमा अपार्टमेन्टमा बस्दै आएकी छिन्। उनी अहिले राम नवमीको लागि भजन अभ्यास गरिरहेकी छिन्।

उनी भन्छिन्, ‘रामनवमीको लागि भजन तयार गर्दैछु। कोरोनाले मलाई त सुर्वण अवसर दिए जस्तो लाग्छ। काम गर्न पाएकी छु। तर देश भक्तिको गीत रेकर्डिङमा थियो।लकडाउनले रोकिएको छ।’ 

बिहान- मर्निङ वाक आफ्नो अपार्टमेन्ट अगाडि गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्,’बिहान मर्निङवाकपछि भजन, गीतसंगीत रियाज गर्दै आएकी छु।’

यस्तै संगीतकार जुगल डंगोलले कोरोना भाइरसको कारण दुई हप्ताको लागि रेकर्डिङको मिति सार्नु परेको बताए।उनले भने, ‘रेकर्डिङको लागि मिति तय भएको पनि दुई हप्ताको लागि सार्नु पर्यो।’

उनी अहिले घरमै बसेर इथ्नो म्युजिकको किताबबारे अध्ययन गरिरहेका छन्। यसका साथै हार्मोनियममा नयाँ गीतको कम्पोजिशन पनि गरिरहेका छन्। उनी भन्छन्, ‘लकडाउनले असर गरे पनि मलाई भने खोजमुलक अनुसन्धान र नयाँ गीतको संगीत कम्पोज गर्न सजिलो भएको छ।घरमै बसेर सेनिटाइजर लगाउँदै संगीत सुन्दै काम गरिहरेको छु।’

यस्तै गायिका केन्जुमा सुब्बा भने लकडाउनको समयमा घर सफा गर्ने, फूलहरु गोड्नमा व्यस्त छिन्। उनले भनिन्, ‘भर्खरै नयाँ घर बनाएकाले काम धेरै गर्नु पर्नेछ।म फूलहरु मिलाउँदैछु।’ उनलाई मासु पकाउन खुब मनपर्छ।’

यस्तै संगीतकार आलोक श्री पनि यतिबेला घरमै बसेर गार्डेनमा फूलहरु गोडमेल गरिहरेका छन्। उनलाई बँगैचामा काम गर्न निक्कै मन पर्छ। नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल स्टारका निर्णायक उनी भन्छन्, ‘ कोरोनाको कारण नेपाल स्टारको पियानो राउण्डको पनि सुटिङ पनि सर्छकी क्या हो।’

गायक रामकृष्ण ढकाल, उदित र दीपा झा, आदित्य झाको नयाँ गीतको तयारी गरिरहेका उनी अचानक कोरोनाले बीचैमा रोक्नु परेको बताए। उनले भने, ‘नयाँ एल्बमको तयारी गरिरहेका थियौं। कोरोनाको संक्रमणले नयाँ गीतको रेकर्डिङ नै रोकियो।’

अहिले उनी घरमा आफ्ना पुराना संगीतहरु पुन: दोहोर्याएर सुनिरहेका छन्। बाहिर घुम्ने कार्यक्रम पनि तत्काल स्थगित गर्नु परेपछि उनी घरमै विरुवा रोपिरहेका छन्। गोर्खामा उनको फार्मिङ हाउस भएकाले कोरोनाका कारण त्यहाँ पनि जान सकेका छनन्।

यस्तै संगीतकार आनन्द राईले भने कोरोना फैलिदाँ चेतना मूलक गीत बनाएका छन्। उनी भन्छन्, ‘कोरोना त माहामारी पो रहेछ। त्यसकारण मैले त यसैबारेमा गीत पो बनाएको छु।’

आफूले नियमित योगा र व्यायाम गर्ने गरेकोले स्वस्थ भएको भन्दै अरुलाई पनि नियमित रुपमा योगा अभ्यास गरे कोरोनाको डर कम हुने संगीतकार राईको भनाइ छ।