कोरोनापछि नर्सिङ पेशामा फर्किइन् यी बलिवुड अभिनेत्री

कोरोना भाइरस महामारीको कारण भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको छ । भारतीय कलाकारहरु घरमै आइसोलेसनमा बसेर अन्यलाई पनि घर बाहिर ननिस्किन आग्रह गरिरहेका छन् । त्यस्तै कोरोना प्रभावितहरुको लागि खडा गरिएको प्रधानमन्त्री केयर फण्डलाई पनि सक्दो सहयोग गरिरहेका छन् । त्यस्तैमा एक भारतीय अभिनेत्री भने नर्सको रुपमा बिरामीहरुको सेवामा उत्रिएकी छिन् ।

अभिनेत्री शिखा मलहोत्राले मुंबईको जोगेश्वरी ईस्ट स्थित हिंदू हृदय सम्राट बालासाहेव ट्रमा हस्पिटलमा स्वयमसेवक नर्सको रुपमा काम गरिरहेकी छिन् । उनि त्यहाँ आइसोलेसन डिपार्टमेन्टमा छिन् । त्यस्तै उनले इन्स्टाग्राम पोष्ट मार्फत मेडिकल डिग्री भएका व्यक्तिहरुलाई घरमा नबसी कोरोना विरुद्धको लडाईमा सहभागी हुन आग्रह पनि गरेकी छिन् ।

 

संजय मिश्रा संग फिल्म ‘कांचली’ मा अभिनय गरेकी शिखाले सन् २०१४ मा नयाँ दिल्ली स्थित वर्धमान महावीर मेडिकल कलेज र सफदरगंज अस्पतालबाट नर्सिंग अध्ययन पुरा गरेकी थिईन् । अध्ययन पुरा गरिसकेपछी उनले अभिनय यात्रा थालेकी थिईन् । उनले शाहरुख खानको फिल्म ‘फ्यान’ मा पनि अभिनय गरेकी छिन् ।