“यस्तो परिवेशमा घर परिवार, साथीभाइ, देश मिस भइरहेको छ” – सुरेश दर्पण पोखरेल

Mero Film

लामो समय नेपालको चलचित्र क्षेत्रमा काम गरेका सुरेश दर्पण पोखरेल केहि वर्ष देखि अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएका छन् । पत्रकार तथा निर्देशक पोखरेल चलचित्र बिकास बोर्डका  पूर्व सदस्य पनि हुन् । हाल विश्वभर महामारी बनेको कोरोना भाइरसको सेरोफेरोमा पोखरेलसँग मेरोफिल्म ले गरेको छोटो कुराकानी :

हिजो आज कसरी दिन बितिरहेको छ ?
करीब १५ दिन भयो घरमा नै छु । अमेरिकामा नेसनल इमरजेन्सी एवम् म बसेको मेरिल्यान्ड राज्यमा अत्यावश्यक बाहेकका सबै ब्यापार ब्यवसाय बन्द गरिएपछी मेरो बार (पोर्टसाइड ट्याभर्न) पनि बन्द छ, रेस्टुरेन्ट (हिमालयन स्पाइस) मा भने पिकअप र क्यारी आउट चलिरहेको छ, मैले अनलाईनबाटै म्यानेज गर्दैछु । घरमा बस्दा अमेरिकाको अत्यन्तै ब्यस्त जिवन शैलीका कारण हेर्न छुटेका अंग्रेजी, हिन्दी, नेपाली फिल्महरु हेर्दै छु ।

कोरोनाले कस्तो असर गरेको छ ?
विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको केन्द्रविन्दु यतिखेर अमेरिका बनिरहेको छ । त्यसैले अमेरिकाभरि एकप्रकारको सन्त्रास कायम नै छ । साथै म बसेको मेरील्याण्ड राज्यमा विस्तारै यसको प्रकोप बढिरहेको देखिन्छ । अहिले सम्म करिब १७ सय जनामा कोरोना भाइरस देखिएको छ भने अमेरिका भरि करिब १ लाख ८८ हजार संक्रमित पुष्टि भइसकेका छन् । तसर्थ घरमै बसेर आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने अभियानमा हामी लागेका छौं ।

के मिस भएको छ ?
पक्कै पनि जीवनमा कहिल्यै नभोगेको समय आइपरेकाले र यस्तो परिवेशमा परदेशमा रहनु पर्दा आफ्नो घर परिवार ,साथीभाइ, देश निक्कै मिस भइरहेको छ ।

नेपालमा रहेकाहरुलाई के भन्न चाहनुहुन्छ ?
त्यसो त नेपालमा भन्दा यतिबेला यो प्रकोपले अमेरिका बढी आक्रान्त भैरहेको छ । त्यसैले पनि होला धेरै साथीभाइ शुभचिन्तकहरूले समाचारमा सुनेकै आधारमा पनि अमेरिकामा रहनुभएका परिवारजन र साथीभाइहरूको चासो राखी रहनु भएको छ । तर हामी यहाँ अधिकांश नेपालीहरु सुरक्षित नै छाैं । आफ्नो घरमा आफ्नो व्यवस्था गरेर बसिरहेका छौं । यहाँ भाइरसको संक्रमण भैहाल्यो भनेपनि तत्काल उपचारका लागि संयन्त्रहरु तयार छन् । त्यसैले चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन तर नेपालमा भने यसप्रकारका भाइरस जाँच गर्ने र त्यससम्बन्धी उपचार गर्ने स्वास्थ्य संयन्त्र निकै कमजोर रहेका कारण चिन्ता लागिरहन्छ । तसर्थ म यसै सन्देशमार्फत नेपालमा रहनुभएका सम्पूर्ण आफन्त र साथीभाइ शुभचिन्तकहरुलाई यो विषम परिस्थितिमा सरकारले निर्देशन गरे बमोजिम नै आफ्नो घरमा बसेर सामाजिक दुरी कायम गरेर यो अदृश्य शत्रुलाई परास्त गर्नका लागि सबैले आफ्नो तर्फबाट योगदान दिऔ भन्ने आग्रह गर्दछु ।


Leave a Reply

Your email address will not be published.