विश्‍वभर कोभिड-१९ आतंक: अमेरिकामा बढ्दो, भारत र नेपालमा लकडाउन

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८ लाख २७ हजार ९१९ रहेको छ । यसैगरी अहिलेसम्म एक लाख ९३ हजार ९८९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो चौबीस घन्टामा नेपालमा ७३ जनाको कोरोना भाइरसको परीक्षण भएको र हालसम्म १ हजार १ सय ३३ जनामा कोरोना भाइरसको परीक्षण भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार हालसम्म देशभरिमा ९९ जना आइसोलेसनमा रहेको उनले बताए। नेपालमा हालसम्म पाँच जना मात्र कोरोना संक्रमित भेटिएका छन् । पाँच जनामध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ । लकडाउनले नेपालीको जनजीवन कष्टकर बन्दै गइहेको छ। मजदुरहरु खान पाएका छैनन् भने गन्तव्यमा जाने यात्रुहरु अलपत्र अवस्थामा रहेका छन् ।

यस्तै, भारतमा २९ राज्यमा २ हजार ५६ जना पुगेको छ भने ५६जनाले ज्यान गुमाइसकेको छ । यस्तै १६९ मानिस निको भएर घर फर्किसकेका छन् भने बुधबार मात्रै ४३७ जनामा कोरोना भाइरसको सक्रमण भेटिएको छ ।

यता, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिनमा एक हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा बुधबार एक हजार ४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ ।

यस्तै नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन २६ हजार ४३६ मा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख १४ हजार ९६६ रहेको छ । दुई लाख भन्दा बढी मानिसमा संक्रमण भएको अमेरिका एक मात्र देश हो ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य हो न्यूयोर्क, त्यहाँ पछिल्लो २४ घण्टामा पाँच सय पाँच जनाको मृत्यु भयो भने सात हजार ९१८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै न्यूजर्सी राज्यमा पछिल्लो २४ घण्टामा तीन हजार ५५९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।