नाट्य महोत्सवमा सोमबार गुरुकुलको नाटक ‘एल्म मुनिको तिर्खा’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को एघारौं दिन सोमबार नाटक ‘एल्म मुनिको तिर्खा’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । आरोहण-गुरुकुलको प्रस्तुतिमा डेवोरा मेरोलाले निर्देशन गरेको नाटक ‘एल्म मुनिको तिर्खा’ सन् १९२४ को युजिन ओनिलको नाटक ‘डिजायर अन्डर द एल्म्स’ मा आधारित रहेको छ ।

नौ बर्ष अघि पुरानो बानेश्वर स्थित गुरुकुलमा नाटकको नियमित मन्चन भएको थियो । नाटकमा प्रविण खतिवडा, राजकुमार पुडासैनी, सरस्वति चौधरी, कमलमणि नेपाल, बिपिन कार्की, अरुणा कार्की लगायतको अभिनय रहेको छ । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall मा हेर्न सकिनेछ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेपछी पहिले एक हप्ता मात्र भनिएको महोत्सवको अवधि पनि लम्ब्याईएको छ ।

(तस्विर : प्रकाश तिमिल्सिना, नेपालफोटोब्यांकडटकम)