फेसबुक लाइभमा मंगलबार नाटक ‘लाटीको छोरो’ देखाइदै

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को बार्हौ दिन मंगलबार नाटक ‘लाटीको छोरो’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । सफर पोखरेल, जिया लामा र अनिश न्यौपानेले निर्माण गरेको नाटकमा श्याम शाहको कथा र सुलक्षण भारतीको निर्देशन रहेको छ ।

एक बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटीमाथि समाजले कसरि असमान व्यवहारहरु गर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । मण्डला थिएटरमा नाटकको नियमित मन्चन भएको थियो । यसै नाटकमार्फत ३६ वर्षपछि कलाकार टीका पहारीले नेपाली रंगमञ्चमा पुनरागमन गरेका थिए । नाटकमा टीका पहारीको साथ साथै केनिपा सिंह, पशुपति राई, संदेश लामिछाने, कुन्दन चौधरी, रियर राई, प्रकाश दाहाल, रोशन सुबेदी, राजन काफ्ले, सुदिप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्बिन खड्का, अर्चना पन्थी र सपना चौधरीले पनि अभिनय गरेका थिए । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall मा हेर्न सकिनेछ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेपछी पहिले एक हप्ता मात्र भनिएको महोत्सवको अवधि पनि लम्ब्याईएको थियो ।