“म अनमोल-सुहानाको फ्यान भएँ” – नविना लामा

मेरो लक डाउनको दैनिकी सामान्य छ । दिनको केही समय कार्यकर्ता र जनतासँंग फोनमा कुराकानी गरेर जान्छ । अनि केही समय समाचार पढेर, सुनेर बित्छ । समाचारमा बिबिसी नछुटाई सुन्छु । त्यस बाहेकको फुर्सदको समय सोसल मिडियामा खर्चिरहेकी छु । यसमा पनि युट्युबमा राम्रै समय बित्ने गरेको छ । यहीँ रहँदा नेपाली युवा पुस्ताका कलाकारहरु साक्षात्कार गर्ने मौका पनि पाएकी छु ।

करिब ८-१० वर्ष अगाडि सम्म नेपाली फिल्म क्षेत्रमा रेखा थापा, आर्यन सिग्देल, निरुता सिंह, दिलिप रायमाझीहरुको दबदबा थियो । बिद्यार्थीकालमा आन्दोलनको बीचमा हुन्थें, त्यतिबेला उहाँहरु सँग कहिले काहीँ भेटघाट हुन्थ्यो । कहिले उहाँहरुका बारेमा पत्रपत्रिकाहरुमा पढ्ने गर्थे । तर, अहिले सबै चहल पहल युट्युब तिर सरेको रहेछ ।

पूजा शर्मा, आँचल शर्मा, श्रृष्टि श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्ना फ्यानहरु कसरी सम्हालेर राख्नु भएको रहेछ र उहाँहरु कति धेरै पपुलर हुनुहुँदो रहेछ भन्ने बुझ्ने अवसर पाएँ । यति सानो उमेरमा पनि अनमोल केसीको क्रेज कस्तो ? बाहिर निस्किदा प्रसंशकहरुको कस्तो भिड जम्मा हुने रहेछ ? उहाँले आफ्नो सोसल मिडिया पनि कति राम्ररी ह्यान्डल गरेको पाएँ । उहाँको शालीनता, सरल बोल्ने शैली मलाई एकदमै राम्रो लाग्यो । यति सानै उमेरमा उहाँले हासिल गरेको उपलब्धि लोभलाग्दो लाग्यो । त्यस्तै ‘प्रेम गीत’ का प्रदिप खड्काका पनि आफ्नै किसिमका फ्यानहरु रहेछन् ।

अभिनयको हिसाबमा सौगात मल्ल, दयाहाङ राई, बिपिन कार्की आदिको चर्चा पहिलेदेखि नै सुन्दै देख्दै आएकी हुँ । सौगात र दयाहाङको फिल्म पहिले देखिनै हेरिराख्थें । बिपिन कार्कीले फरक फरक फिल्ममा गरेको भूमिकाको बारेमा पनि खुब सुनेकी छु । केही फिल्म हेरेकी पनि छु ।

त्यस्तै युवा पुस्ताका नयाँ कलाकारहरुको पनि छुट्टै स्थान छ । युवा पुस्ताका पल शाह, पुष्प खड्का र आकाश श्रेष्ठ सम्भावना बोकेका कलाकारहरु हुन् । उहाँहरुले आफ्नो बढ्दो क्रेजलाई सन्तुलनमा राख्नुभएको रहेछ । झरना थापा कि छोरी सुहाना थापाको त म फ्यान नै भएँ । उनको फिल्म भने हेर्न पाएको छैन । ‘ए मेरो हजुर ३’ युट्युबमा कुरिरहेकी छु । अनमोल, सुहाना, साम्राज्ञी, प्रदिप, पुजा, आँचल र श्रृष्टिको फिल्म अबदेखि मिलेसम्म हलमै गएर हेर्ने सोचेकी छु । अझ अनमोल र सुहानाको फिल्म त कुनै पनि हालतमा छुटाउने छैन ।

लकडाउनको बेला ‘बलिदान’, ‘उमा’, ‘लुट’, ‘गोपी’, ‘दासढुंगा’ र हिन्दी फिल्म ’दंगल’ हेरें । सीमित स्रोत साधनमा पनि राम्रै फिल्म बन्न थालेको जस्तो लाग्यो ।

(सांसद नविना लामासँग मेरोफिल्मले गरेको कुराकानीमा आधारित)