नाट्य महोत्सवमा बिहिबार दुई नाटकहरु – ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को चौधौ दिन बिहिबार दुई नाटकहरु देखाइने भएको छ ।  फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘अँधेरी नगरी चौपट राजा’ र साँझ ५ बजे नाटक ‘द फ्लाइट’ देखाइने छ ।

‘अँधेरी नगरी चौपट राजा’ चर्चित भारतीय साहित्यकार भारतेन्दु हरिशंचन्द्रले लेखेको नाटक हो । नाटकलाई सङ्गीत सापकोटा र आशिष घिमिरेले नेपालीमा अनुवाद तथा निर्देशन गरेका हुन् ।

क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनले निर्माण गरेको नाटकमा प्रकु पाण्डे, जीवन भट्टराई, श्रवण राना, संजित प्रताप मल्ल, स्लिम जीवन, आर्जेश  रेग्मी, सागर दाहाल, बारात लिम्बु, दीपेन्द्र शाही, पुष्कर कार्की लगायतको अभिनय रहेको छ । नाटकमा सङ्गीत सापकोटा र मोनिश निरौलाले संगीत दिएका छन् । समसामयीक परिवेशसँग मिल्ने ब्यङग्य र हाँस्यरस मिश्रित नाटकमा विवेकहिन शासकको शासनका कारण नगरबासीले पाउने दुःखको कथा रहेको छ ।

नाटक थापागाउँ स्थित कुञ्ज थिएटर र केहि पछि अनामनगर स्थित मण्डला थिएटरमा पनि मञ्चन भएको थियो । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ मा भने मण्डला थिएटरमा मन्चन भएको नाटकको भिडियो देखाइनेछ ।

त्यसैगरि सोलिस पर्फर्मिंग आर्ट्स र वन वर्ल्ड थिएटरको प्रस्तुतिमा बनेको नाटक ‘द फ्लाइट’ मानब तस्करी विरुद्धको नाटक हो ।

नृत्य शैलीमा रहेको यस नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु लगायत २६ जना कलाकारहरुको अभिनय रहेको छ । अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटकको मन्चन कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा भएको थियो ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि नाट्य महोत्सब शुरु गरिएको थियो । महोत्सव अन्तर्गत चैत्र २७ गते बाट दिउसो १ बजे र साँझ ५ बजे गरि दैनिक दुई नाटक देखाइदैछ ।