“करोडौँ” का धनी संगीतकार – अर्जुन पोखरेल

नेपाली संगीतिक आकाशमा पछिल्लो समय निक्कै चर्चित नाम हो संगितकार अर्जुन पोखरेल ।  संगीतलाई नजिकबाट नियालेका उनले यो क्षेत्रमा आउन निक्कै मेहनत गर्नु परेको छ, र त अहिले उनका दर्जनबढी गीत संगीतहरु करोड क्लबमा समावेश भएका छन् । उनि दर्शकको मन र मुटुमा बस्न सफल भएका छन् ।

नेपाली फिल्म ‘प्रेम गीत’ को तीनवटै गीतमा अर्जुनले संगीत गरेका छन् ।  ती तीनै गीतहरु – ‘म यस्तो गीत गाउँछु’, ‘मैले सोचेको जस्तै’ र ‘म त अलपत्रै पर्छु’ अहिले युट्युबमा करोडभन्दी बढी मानिसहरुले हेरिसकेका छन् ।

तपाइले गरेको संगीत र गीत करोड क्लबमा पुग्नुको कारण के हो भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन्, “खासमा संगीतले मानिसको मन र मुटु छुनुपर्छ ।  मैले गरेका संगीतहरु समयको माग अनुसारको दिएको छु जस्तो लाग्छ । उमेर समूहको माग र चाहना अनुसार दिएकाले नै होला, युवाहरु प्रेमप्रति आकर्षण भएर सुने र हेरे की ।’

उनले गीत र म्युजिक कम्पोजले गीतको मापन गर्ने भन्दै मेरोफिल्मसँग भन्छन्, “करोड बढी मानिसहरुले हेर्नुमा उनीहरुको बिट र मेलोडि अनुसार मेरो गीतले तानेको हुनुपर्छ” ।

उनी उदाहरण दिँदै भन्छन् ‘ कुटुमा कुटु’ बोलको गीतले बालबालिकाको मनमस्तिक र जिब्रोमा यसरी बस्यो की नाँच्न मिल्ने लोक फ्लेबरमा जहाँ जहिले पनि फिट हुन थाल्यो । स्कुलको कार्यक्रमदेखि घरमा बस्दा बोर भएमा रमाइलो गर्ने माध्यम बन्यो । उक्त गीतको संगीतले सबैको बिट बुझ्यो र मनमा तरङ्ग उत्पन्न गर्यो । त्यसकारण करोड क्लबमा पुग्यो जस्तो लाग्छ मलाई” ।

यसका साथै उनको ‘ऐश्वर्य’ मा ‘तिमी रोएको पल’ गीतले करोडमा कब्जा जमाएको छ भने फिल्म मालाको ‘परिचय पाउ’ बोलको गीतबारे भन्छन्, ‘”एउटा आधुनिक स्लो मोशनको गीतले कसैको कहानी बोल्छ भने अर्कोले नाँचु नाँचु लाग्ने बनाइदिन्छ र सभासमारोहमा घन्किने बिटमा छ” ।

यतिमात्रै होइन अर्जुनले प्रमोद खरेलको आवाज र शीतल कादम्बिनीको शब्दलाई अर्जुन दृष्टिले हेरे र डान्सिङ र स्टेज पफर्मेन्सका लागि संगीत भरे, जसले स्टेजका लागि फिट बनाइदियो ।  उनी भन्छन्, “बजारले अहिलेको माग अनुसारको गीत चाहन्छ, त्यसकारण मैले पनि शब्द अनुसारको भाव र मेलोडी निकाले र स्टेजको लागि संगीत भरे” ।

शब्द, संगीतलाई एउटा माला जस्तै उन्न सिपालु उनी भन्छन्, “संगीतको नेचर विश्वभरी एउटै हो । मात्र हामीले त्यसको बिट र मेलोडी पहिचान गर्न सक्नुपर्छ र त्यसको गहिराइमा गएर आफ्नोपन दिन सक्नुपर्छ । आम मानिसको मन जित्न सकिन्छ” । विश्वभरको संगीत पनि सोही नेचरमा चल्दै आएको उनी बताउँछन् । उनी भन्छन्, “समय अनुसार संगीत परिवर्तन हुँदैआएको छ । यो समयकै खेल हो । तर बिट संसारभर एउटै हो” । गीत र संगीतबारे मानिसहरु भ्रममा बाँचिरहेको उनको बुझाइ छ।

उनी भन्छन्, “मानिसहरुमा बाँचुन्जेली गाली गर्ने र मरेपछि उनको मूल्यांकन गर्ने बानी छ । यसले प्राय सबै क्षेत्रमा प्रभाव पारिरहेको छ, पार्छ । संगीतमा पनि त्यस्तै बुझाइ छ मानिसको अहिले पनि” ।

यसका साथै उनले नेपाली सांगीतिक क्षेत्रमा करोड नपुगेका तर दुई दर्जन बढी हिट गीतहरु दिइसकेका छन् ।  करोड भ्यूज नपुगे पनि उनी त्यसलाई भने आफ्नो असफलता मान्दैनन् । उनी यसबारे भन्छन्, “कुनै पनि गीत करोड पुगेमा हिट मानिने र नपुगेमा कमजोर  त्यो हुँदैन । म अहिले पनि सुन्छु ‘तिमीले मलाई’ गीतलाई असाध्यै राम्रो मान्छु” ।

संगीत मानिसहरुको स्वभाव र उमेर अनुसार फरक फरक मन पर्ने उनको बुझाइ छ । उनी भन्छन्, “कसैलाई आधुनिक मन पर्ला, कसैलाई पप जनरा, तर संगीत त संगीत हो नि । अब ‘काले काले केटाले’ बोलको गीतलाई युवा पुस्ताले मन पाए । तर त्यो एल्बमको गीत थियो । हिट भयो युवाको चाहनाले” ।

अहिलेका कुनै कुनै गीतहरु पनि पहिलेका भन्दा निक्कै राम्रा र उत्कृष्ट बनेको दाबी गर्दै उनी भन्छन्, “तर दुर्भाग्य समकालिनहरुले त्यसलाई मापन नगरिदिने र पुरानै गीतलाई सदाबहार भनिदिने गरेका छन् ।  कारण उनीहरु आफ्ना समकालिनहरुको नराम्रै भए पनि सदाबहार ठान्छन् । अहिले हामी पछिका पुस्ताहरुले पनि पछि हाम्रो पालाको गीत-संगीतलाई सदाबहार राम्रो भन्ने कुरा ध्रुव सत्य हो । उदारहण ‘तिमी लाइटर म भाको चुरोट’ लोक दोहोरी फर्म्याटमा छ । तर समाजको घटनालाई चित्रण गरेको छ” ।

संगीतबारे उनी भन्छन्, “संगीत जीवन जिउने कला हो । यो पानी र सूर्य जस्तै सँधै चम्किरहन्छ विभिन्न आकारमा ।  मेरो लागि संगीत सागर हो, यसमा अथाह चिज छ, मात्र खोज्न जान्नु पर्छ” ।

यी हुन  करोड क्लबमा पुगेका गीतहरु


१. तिम्रो घरको वरिपरी (म यस्तो गीत गाउँछु -२)

यस गीतमा सोनाम थोप्देंन र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको शब्द रचना अर्जुन पोखरेलले नै गरेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पुजा शर्मा र पल शाह मुख्य भूमिकामा छन् ।

२. भन्छु आज (म यस्तो गीत गाउँछु)

सुगम पोखरेल र अन्जु पन्तको स्वरमा सजिएको यो गीतको शब्दहरु सुदर्शन थापाले लेखेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पुजा शर्मा र पल शाह मुख्य भूमिकामा छन् ।

३. किन आजकल (म यस्तो गीत गाउँछु)

यस गीतमा अर्जुन पोखरेलकै स्वर रहेको छ भने शब्द रचना अम्बिका शर्माको रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पुजा शर्मा र पल शाह मुख्य भूमिकामा छन् ।

४. तिमि रोएको पल (ऐश्वर्य)

रमेश उप्रेती, दिपिका प्रसाई र केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘ऐश्वर्य’ को यस गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलकै शब्द रहेको छ ।

५. परिचय पाउँ (मेला)

फिल्मले खासै चर्चा नपाए पनि यो गीत भने हिट भएको थियो । गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर तथा दिग्गज  धौरालीको शब्द रहेको छ ।

६. जब जब तिम्रो साथ (जोनी जेन्टलम्यान)

यस गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ ।

७. पछी उमेर ढल्किन्छ (छक्का पन्जा -२)

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको यस गीतलाई अर्जुन पोखरेल र दिपक राज गिरिले लेखेका हुन् ।

८. ओइ झुमा झुम्कावाली 

प्रमोद खरेलले गाएको यो गीतमा शब्द रचना शितल कादम्बिनीको रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की, अमिर शेख लगायतको अभिनय रहेको छ ।

९. रहर छ सँगै (क्याप्टेन)

अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को यो गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । त्यस्तै शब्द रचना दिग्गज धौरालीको रहेको छ ।

१०. म यस्तो गीत गाउँछु (प्रेम गीत)

यस गीतमा सुगम पोखरेल र अन्जु पोखरेलको स्वर तथा अर्जुन पोखरेलकै शब्द रहेको छ ।

११. मैले सोचेको जस्तै (प्रेम गीत)

सन्तोष लामा र स्वेच्छा ठकुरीले गाएको यो गीत डा. कृष्णहरि बरालले लेखेका हुन् ।

१२. म त अलपत्रै पर्छु (प्रेम गीत)

अन्जु पन्त र स्वरूप राज आचार्यले गाएको यो गीतको शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् ।