“स्मृतिमा आमा, स्वरको तरङ्ग !!!” – रामकृष्ण ढकाल

सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले स्व.आमालाई सम्झिँदै आफूसहितको पुरानो तस्बिर फेसबुकमा राखेको बताएका छन् ।

उनले मेरोफिल्मसँग कुरा गर्दै भने, “लकडाउनको समयमा प्राय सबैजना आफ्नो परिवारसँग घरमा समय बिताइरहँदा मेरो फ्यानले यी तस्बिरहरु पठाइदिनु भएको थियो। अरुहरुले पनि आफ्नो पुरानो तस्बिरहरु सेयर गरिरहँदा मैले पनि यो आमासँगको तस्बिर सेयर गरे” ।

गायक ढकालले वि.सं.२०४५ सालतिर घर गएको बेला तस्विर खिचेको बताए । उनले भने, “म यो तस्बिर कहिल्यै बिर्सिन्न । एकदमै यादगार र मार्मिक छ । त्यसकारण मैले यो लकडाउनमा सामाजिक सञ्जालमा हाले । घर परिवार सम्झायो” ।

यता, उनले उक्त तस्बिरलाई सार्वजनिक गर्दै लेखेका छन्, – “मेरी ममतामयी आमा (चन्द्रमाया ढकाल ) ! २०४५ सालमा पहिलो  ‘ढकाल सुमधुर साँझ’ सकेर म घर गएको बेला आमाको साथमा मैले चितवनमा यो फोटो खिचेको थिएँ । उहाँकै आशिर्वादले आज यहाँसम्म आइपुगेको छु । हरेक पल आमाको सम्झनामा हुन्छु म । मेरा हजारौं गीतभन्दा मीठो अनुभव हुन्छ स्मृतिमा, उहाँले मेरो केवल नाम मात्र बोलाएको पनि, स्वरको तरङ्ग !!! ”

उनले थपेका छन्, “आमाको साथमा म बसेको यो पुरानो फोटो पहिलो पटक फेसबुकमा राख्दैछु । वि.सं. २०६४ श्रावण ५ गतेदेखि उहाँको भौतिक साथ नरहे पनि आमाको अपार मातृस्नेह सदा जीवन्त छ ।”

नेपाल स्टार रियालिटी शोको निर्णायकका रुपमा रहेका रामकृष्ण ढकाल अहिले कोरोना भाइरसबाट बच्न सरकारको नियम पालना गरिरहेका छन् ।