फिल्मकर्मीले नै बिर्सिएको २८ चैत

आज प्रदर्शनमा आउने भनिएका ३ फिल्म प्रदर्शनमा आउन सकेनन् । कोभिड १९ अर्थात कोरोना भाइरसको कारण विश्वनै समस्याबाट गुज्रिरहेको छ । यसैको असर नेपालमा १८दिनबाट लकडाउन चलेको छ । आज चैत्र २८, वर्ष अन्त्यको समय र नया वर्षको पुर्व सन्ध्या ।फिल्मकर्मीको लागि एक प्रकारको महान उत्सव नै थियो, करिव एक महिना पहिलेसम्म । यहीबीच सुरु भएको खुट्टा तानातानलाई गौण मानौ आजलाई।

आज परिस्थिति सामान्य थियो भने प्रतिक्षा गरिएका र ठूलो बजेटका भनिएका ३ फिल्म प्रदर्शन हुदै हुन्थ्यो । तर अवस्था सोचे जस्तो भएन । ‘प्रेम गीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ तीनै फिल्म प्रदर्शनका लागि सामान्य स्थितिको प्रतिक्षामा छन् । हलहलमा भाग दौड चलिरहेको, रिपोर्टरको प्रश्न र क्यामेरा तेर्सिएको हुने समयमा सबै घरमा नै छन् र सुरक्षित रहन आग्रह गर्दै छन् । दर्शक टिकटको लाइनमा तछाडमछाडको दृश्यको ठाउमा दिक्दार बनेर सामाजिक संजालको भित्ता तान्दै छन् । यस्तै छ अहिलेको परिस्थिति ।

यतिसम्म भयो कि ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले त आजको दिन नै बिर्सिएछन् । ‘प्रेम गीत ३’ का निर्माता निर्देशक सन्तोष सेनले पनि दिउसो मात्रै सम्झिएछन् आजको दिन । उनले एक पोष्ट सार्वजनिक गर्दै कोरोनाको समस्या साम्य भएसँगै प्रदर्शन मिति र नयाँ सामाग्री दर्शक माझ प्रस्तुत गर्ने उल्लेख गरेका छन् । ‘माइलक अधिकारी’ टिमलाई समेत आजको दिन सम्झना रहेको देखिदैन । लकडाउनको कारण घर बसाइले आफ्नै फिल्म प्रदर्शनको मिति समेत बिर्सिएका छन् फिल्मकर्मीले । पैसा भन्दा ठुलो जीवन भन्ने यसले समेत स्पस्ट पारेको छ । तसर्थ सुरक्षित बसौ, कोरोना बिरुद्धको लडाईमा साथ दिउँ ।