नाट्य महोत्सवको अन्तिम दिन – कर्णालीको ‘गर्भ छिटा’ र गुरुकुलको ‘तारा बाजी लै लै’

लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ शुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को अन्तिम दिन चैत्र २९ गते शनिबार दुई नाटकहरु देखाइने भएको छ । फेसबुक लाइभ मार्फत दिउँसो १ बजे ‘गर्भ छिटा’ र साँझ ५ बजे नाटक ‘तारा बाजी लै लै’ देखाइने भएको हो । नाटकहरु थिएटर मलको आधिकारिक फेसबुक पेज www.fb.com/theatremall बाट हेर्न सकिनेछ ।

कर्णाली आर्ट सेन्टरको प्रस्तुतिमा हिरा बिजुली नेपाली द्वारा लिखित तथा निर्देशित नाटक ‘गर्भ छिटा’ ले परम्पराले निम्त्याएको समाजिक विकृति, महिला र दलितहरुमाथिको विभेद र दमनको कथा भन्छ । यस नाटकमा विष्णुमाया परियार, गोविन्द सुनार, गणेशबहादुर खड्का, राज मल्ल, हिरा बिजुली नेपाली, जसुल्ली नेपाली, सुशिला रावल, अर्जुन परियार, दीपन्द्र नेपाली, भिमबहादुर बिक, हेमराज बिक, रामु बिक, जन्मलक्ष्मी हमाल, उजेली खड्का, खामु बिक, औसिमा परियार लगायतको अभिनय रहेको छ ।

त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको प्रस्तुति नाटक ‘तारा बाजी लै लै’ प्रदर्शन हुदैछ । यस नाटकको निर्देशन मोर्टन क्रोगले गरेका हुन् । नाटकमा सौगात मल्ल, प्रविण खतिवडा, भोलाराज सापकोटा, अरुणा कार्की, सरिता गिरि, कर्म, कलममणि नेपाल, राजन खतिवडा, सुरेश चन्द, राम हरि ढकाल, राजकुमार पुडासैनी, मणिराम पोखरेल, समुना केसी, सरस्वति चौधरी, प्रमिला कटवाल, पशुपति राई लगायतका गुरुकुलका थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि नाट्य महोत्सब शुरु गरिएको थियो । आजको नाटकहरु संगै महोत्सव पनि सकिएको छ ।