“धमिलो देख्‍न थालें, आँखाको ज्‍योति गुम्छ की जस्तो लाग्‍न थाल्यो” – अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले तस्बिर धमिलो देख्न थालेको साथैआँखाको ज्योति गुम्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन् । उनले शुक्रबार आफ्नो ब्लगमा लेखेका छन्, “मेरा आँखाले तस्बिर धमिलो देख्न थाले । कैयौँ पटक त दुई–दुई चिज पनि देखिन्छ । पछिल्लो केही दिनदेखि मेरो आँखाको ज्योति गुम्ने हो कि भन्ने लाग्न थालेको छ ।”

ब्लगमा उनले आफ्नी आमालाई सम्झिँदै लेखेका छन्, “आज मलाई मेरा ति दिन याद आइरहेका छन्, जब मेरो आँखामा चोट लाग्थ्यो, मेरी आमा आफ्नो साडीको सप्काे फुकेर मेरो आँखामा राख्नुहुन्थ्यो । र तुरुन्तै ठिक हुन्थ्यो । अब म पनि यसको अनुशरण गरिरहेको छु । मैले तातो पानीमा तौलियालाई भिजाएर आफ्नो आँखामा राख्ने गरेको छु ।”

उनले डाक्टरले आफ्नो आँखाको ज्योति गुम्न नदिने विश्वास दिलाएको पनि उल्लेख गरेका छन् । “मैले डाक्टरसँग कुरा गरेँ । उनले दिएको निर्देशनको लगातार पालना गरिरहेको छु । डाक्टरले दिएको आइ ड्रप हरेक घण्टा आँखामा हाल्छु” । बच्चन अगाडी भन्छन्, “म कम्प्युटरको स्क्रीनको अगाडी धेरै समय बिताउँछु । डाक्टरले यो त्यसैको नतिजा भएको बताए । अँ आमाको पुरानो टेक्निक बहुत काम गर्छ । अब म देख्न सक्छु ।’