“मृत्युको भयबाट फर्केपछि जीवन बुझ्दैछु” – मनिषा कोइराला

नब्बेको दशककी हिट हिरोइन हुन् मनिषा कोइराला । यही समयमा उनले हिन्दी फिल्म उद्योगमा दर्जनौंं कालजयी सिनेमा दिइन् । उमेरले ५० टेक्न लागेकी मनिषाले आजभोलि बलिउड छाडेकी छैनन् तर पहिला जस्तो सिनेमामा बाक्लै देखिन्नन् । पचास वर्ष टेकिरहँदा उनले जीवनका सबै रंग देखेकी छिन् । बलिउडको फेमदेखि क्यान्सरसँगको लडाइँले उनलाई जीवनका सबै रंगसँग परिचित गराएको छ ।

उनको व्यक्तिगत जीवन सधैं विवादास्पद रह्यो । कतिसम्म भने उनको बारेमा केही लेख्नु पर्यो भने भारतीय मिडियाले ‘कन्ट्रोभर्सी चाइल्ड’ बाट पहिलो लाइन लेख्न सुरु गथ्र्यो । तर, व्यक्तिगत जीवनलाई उनको अभिनयले जितेको थियो । निर्दोष र जीवन्त अभिनय गर्ने हिरोइनको खोजीमा ९० को दशकमा उनको नाम एक नम्बरमा आउँथ्यो । त्यसैले पनि कलाकारितामा उनको उचाइ निकै माथि छ । नेपाली कलाकारले पनि उनीबाट धेरै कुरा सिक्न सक्छन् । अहिलेसम्मको उनको जीवन भोगाइबाट बलिउडको रंगिन दुनियाँ महसुस गर्न सक्छन् । जीवनको लामो यात्रामा उनले गरेको अभिनय यात्रा र उनको आफ्नै जिन्दगी पनि हामीलाई प्रेरणाको श्रोत बन्न सक्छ । अहिले रजतपटमा उनलाई साहसी महिलाको रुपमा पनि लिन थालिएको छ । किनकि उनले पाठेघरको क्यान्सरलाई जितेकी थिइन् । मृत्युलाई नजिकबाट भोगेकी थिइन् जसलाई अंग्रेजीमा ‘नियर डेथ एक्सपेरियन्स’ भनिन्छ ।

बलिउड प्रवेश
मनिषाले सन १९९१ मा चलचित्र ‘सौदागर’ बाट फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । ‘सौदागर’ उतिबेलाको सबैभन्दा ठूलो फिल्म थियो । लिजेन्ड मानिने दिलिप कुमार र राजकुमारले पहिलो पटक एकसाथ पर्दा सेयर गरेका थिए भने निर्देशक सुभाष घई उतिबेलाका नम्बर एक कमर्सियल निर्देशक मानिन्थे । तर, त्यत्रा दिग्गज कलाकारको भिडमा पनि मनिषाले आफ्नो दमदार उपस्थिति दर्ज गराइन् ।

यो उपस्थितिलाई अझ बलियो बनाएको थियो उक्त चलचित्रमा समावेस ‘इलु इलु’ गीतले । यो गीत यति हिट भएको थियो कि उनलाई नामले हैन मानिसले ‘इलु इलु गर्ल’ नामले चिन्थे । उनले बलिउड छिर्नुअघि सन् १९८९ मा नेपाली चलचित्र ‘फेरि भेटौला’ मा अभिनय गरेकी थिइन् । त्यसयता बलिउड गएकी उनी आजसम्म जमिरहेकी छिन् । बलिउड जानुअघि उनले भरत नाट्यम र मणिपुरी नृत्यमा लामो अभ्यास गरेकी थिइन् ।

कोईराला खानदान
काडमाडौंमा जन्मिएका मनिषा कोईराला नेपालका प्रथम जननर्वाचित प्रधानमन्त्री विपि कोइरालाको नातिनि हुन् । कांग्रेस नेता प्रकाश कोइराला र आमा सुष्मा कोइरालाका एक्ली छोरी हुन् । उनका एक भाइ छन् । उनले बसन्त कन्या महाविद्यालय भिकेएममा १० कक्षा पढेर वाराणसी भारत गइन् । डाक्टर बन्ने सपना बोकेकी उनलाई एकदिन मोडलिङमा अफर आयो । काम गर्दैजाँदा विस्तारै उनमा फिल्म खेल्ने मोह बढ्दै गयो । बताइए अनुसार मनिषालाई घरका मान्छेले एक हप्ताको समय दिएका थिए । यहि समयमा उनलाई चर्चित निर्माताले अफर गरेका थिए । यसरी उनले कोइराला परिवारबाट बलिउडमा पाइला चालेकी थिइन् ।

रुपकी रानी
‘सौदागर’ पछि उनले थुप्रै गरिन् । उनको अभिनयसँगै सुन्दरताको पनि चर्चा हुन्थ्यो । उनी रुपकी रानी थिइन् । प्रशंसकको कमी थिएन । उनले हिन्दी सिनेमा ‘१९४२ अ लव स्टोरी’, ‘गुप्त’, ‘खामोशी’, ‘दिल से’, ‘मन’, ‘लज्जा’ आदिमा अभूतपूर्व काम गरेकी थिइन् ।

‘१९४२ अ लव स्टोरी’ बाट उनले सर्वश्रेष्ठ अभिनेत्रीको फिल्म फेयर अवार्ड पाएकी थिइन् भने ‘बम्बे’ र ‘खामोशी’ जस्तो चलचित्रबाट सर्वश्रेष्ट अभिनेत्रीको फिल्म फेयर क्रिटिक्स पुरस्कार पाएकी थिइन् । उनले आफ्नो करिअरमा शाहरुख खान, आमिर खान, सलमान खानसँगै सबै ठूला एक्टरसँग काम गरिन् । तर, उनको दुर्भाग्य, शाहरुख, आमिर र सलमानसँग खेलेका उनका सबै सिनेमाले चर्चा पाए तर ति फिल्म हिटको सूचीमा अटाएनन् । सलमानसँगको ‘खामोसी’, शाहरुखसँगको ‘दिल से’ र आमिरसँगका ‘अकेले हम अकेले तुम’ र ‘मन’ उस समयका चर्चित फिल्म थिए तर सबै बक्स अफिसमा फ्लप ।

नटिकेको सम्बन्ध
अभिनयमा मनिषा जति सफल भइन् व्यक्तिगत सम्बन्धका मामलामा उति नै असफल । जीवनभर उनको नाम विभिन्न पुरुषसँग जोडिरह्यो तर कुनै पनि मानिससँग उनको सम्बन्ध दीगो भएन । हुँदाहुँदा उनको विवाहले पनि त्यही नियति समात्यो । सम्राट दाहालसँग विवाह गरेकी उनको यो सम्बन्ध दुई वर्ष मुस्किलले टिकेको थियो । केही अन्तर्वार्तामा उनले आफ्नै कारणले ती सम्बन्ध तोडिएको स्वीकार गरेकी थिइन् “ति सबै सम्बध मैले आफूलेनै तोडेकी हुँ । यसमा कसैलाई दोष दिन चाहन्न् ।” खुला स्वभावकी मनिषाको नाम एकचोटि जो हिरोसँग काम गर्यो उसैसँग जोडिने गथ्र्यो । यो सिलसिला सुरु भएको थियो पहिलो फिल्मबाटै । उनको नाम विवेक मुश्रान, नाना पाटेकर, राजिव मुलचन्दानी, डिजे हुुसेन, सेसिल एनथोनी, आर्यन वैद्य, प्रशान्त चौधरी, क्रिस्पीन कोनरोये, तारिक प्रेमजी, अक्षय, सन्दीप चौठा , क्रिष्टोफर डोरीजसँग नाम जोडिएका थिए ।

राजिव मुलचन्दानीलाई लिएर त मनिषा र ऐश्वर्याको झगडा नै परेको हल्ला थियो । ऐश्वर्यालाई डेट गरिरहेका राजिव उनलाई छाडेर मनिषातिर सल्किएका थिए । यही कुरालाई लिएर मनिषा र ऐश्वर्याबिच खुब मिडियाबाजी चलेको थियो । मनिषाले क्रिस्पिन कोनरोयेसँग इन्गेजमेन्ट नै गरेकी थिइन् जुन दुई महिनामै तोडिएको थियो । ‘अग्नीसाक्षी’ फिल्म गर्दाताका भने मनिषा नानापाटेकरको प्रेममा चुर्लम्म थिइन् । नाना मनिषाको पछि लाग्दै नेपालसम्म पनि आएका थिए ।

मदिराप्रेमी
जगजाहेर छ मनिषा मदिरा प्रेमी थिइन् । क्रमश सम्बन्ध टुट्दै जाँदा उनी विक्षिप्त बनेकी थिइन् । त्यसैले पनि पछिल्ला दिनमा उनको सहारा मदिरा थियो । तर, यसको मात्रा कति थियो, उसबेलाका बलिउउडका चर्चित म्यागजिनले प्रकाशित गरेको समाचारले बताउँथे । ।

कति पार्टीमा त उनले धेर मदिरा पिएर आफ्नै शरिरमा उल्टी गरेकी थिइन् । बलिउडका मदिरा प्रेमी नायिकाहरुमा उनको नाम टप फाइवमा पर्छ ।

पाठेघरको क्यान्सर
तर, बिन्दास जीवन शैलीको परिणाम कहिले न कहिले त निस्कनु नै थियो । यो निस्कियो पाठघरको क्यान्सरको रुपमा । सन् २०१२ नोभेम्बर २५ मा उनको शरिरमा चौथो स्टेजको क्यान्सर देखियो । चौथो स्टेजको क्यान्सर मतलब निको नहुने रोग । यो समयमा उनी विक्षिप्त भइन् । अप्रेसन भयो । किमोथेरापी गरियो । उनको कपाल र परेला झरे । सुन्दरताकी खानी उनी तर्साउने जस्तो देखिन थालिन् । त्यो दर्दनाक समयको वर्णन उनले अघिल्लो साल निस्किएको पुस्तकमा पनि गरेकी छिन् । दुई वर्षको कठोर संघर्षपछि अन्तत जीवन र मृत्युको खेलमा नतिजा उनको भागमा पर्यो । सन २०१४ मा उनले क्यान्सरबाट मुक्ति पाइन् ।

एक्लो जित
मनिषा टपकी हिरोइन थिइन् । तर, रोगले उनलाई जिरो बनाएर भुईमा पछारिदियो । तर उनी कति पनि विचलित भइनन् । सुखमा रमाइलो गर्ने जति पनि भेटिन्छन् तर दुःखमा मानिस एक्लै लड्नु पर्छ । मनिषा एक्लै लडिन् । आँटले आफूलाई सम्हालिन् अर्थात मृत्युलाई जित्न सकिन् । फेरी पहिलेकै ठाउंँमा आफूलाई उठाउन सकिन् । तर, जीवनपछिको उनको प्रेम अभिनय थियो ।

रोगलाई जितेपछि मनिषा फेरि अभिनयमा सक्रिय भइन् । ‘सञ्जु’ मा नर्गिसको भूमिका गरिन् । नेटफ्लिक्सका लागि बनाएको ‘लस्ट स्टोरिज’ मा काम गरिन् । ‘डियर माया’ खेलिन् र भर्खरै पनि नेटफ्लिक्समा उनको नयाँ चलचित्र आएको छ ।

सामाजिक कार्य
अहिले भने उनी सामाजिक कार्यमा जुटेकी छिन् । समय र परिस्थितिले उनको दैनिकी फेरिएको छ । हिजोको मदिराप्रेमी मनिषाको जीवनशैली अर्कै भएको छ । बाँंकी जिन्दगी कसरी जिउने चिन्तनमा बित्ने गरेको छ । हिजो आफ्नो लागि बाँच्नखोज्ने उनी अहिले समाज र राष्ट्रको जीवनको लागि काम गर्न थालेकी छिन् । मनिषाको सामाजिक काम बालबालिका र महिला स्वास्थ्यमा काम गर्ने युएनपिएफको सद्भावना दूतको रुपमा चलिरहेको छ भने उनले विभिन्न फोरमबाट महिला हिंसाका साथै महिला बेचविखनको क्षेत्रमा पनि काम गरिरहेकी छिन् । योसँगै आफूले सबैभन्दा बढी बुझेको क्यान्सरको बारेमा जनचेतना फैलाउने काम त छँदैछ । क्यान्सर लाग्नु अघि उनले जेजति काम गरिन् त्यसमा उनलाई खासै महत्व छैन बरु अहिले जीवन बुझ्न थालेको बताउँंछिन् । उनी भन्छिन् “वास्तवमा जीवन के हो मृत्युको भयबाट फर्केपछि अहिले बुझ्दैछु । मर्नु त छंदैछ ।”